• २३ पुस २०८१, मङ्गलबार

प्रदेश खारेजको बहस जायज छैन : अध्यक्ष पोखरेल

blog

नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समितिको पाँचौ स्थापना दिवसको कार्यक्रम उद्घाटन गर्नुहुँदै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल ।

काठमाडौं, वैशाख २२ गते। नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले प्रदेश खारेज गर्ने बहस जायज नभएको बताउनुभएको छ। प्रदेश खारेजीको पक्षमा कोही आए प्रदेश संरचना जोगाउन नेपाल पत्रकार महासंघ अघि सर्नुपर्ने उहाँको भनाइ छ। 

नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समितिको पाँचौ स्थापना दिवसको अवसरमा प्रदेश कार्यालय अनामनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले प्रदेश स्थापना भएको चार पाँच वर्षमा नै खारेज गर्ने वा हटाउने विषय ठिक नभएको बताउनुभएको हो।

‘‘हामीले भर्खर मात्र प्रदेश संरचनाको अभ्यास गर्दै आएको छौं, यति छिट्टै खारेज गर्ने वा हटाउने भन्ने कुरै हुँदैन, कोही प्रदेश हटाउनुपर्छ भनेर आउँछ भने प्रदेश संरचना जोगाउन पत्रकार महासंघ अघि सर्नुपर्छ’’,  उहाँले भन्नुभयो।

प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले प्रदेश संरचनालाई अझै चलायनमान बनाएर लैजानुपर्ने बताउनुभयो।  उहाँले महासंघको सदस्यता शुद्धिकरणमा आफ्नो संगठनको पूर्ण समर्थन रहने प्रतिवद्धता व्यक्त गर्नुभयो। 

बागमती प्रदेश सरकार, सञ्चार रजिष्ट्रार रेवती सापकोटाले पत्रकारको सीप तथा क्षमता अभिवृद्धिका लागि प्रदेश सरकार योजनाबद्ध ढंगले अघि बढिरहेको बताउनुभएको छ। 

लोकतान्त्रिक छापामाध्यम समाजका अध्यक्ष दामोदर दवाडीले महासंघले सरकारले मिडियासँग सम्बद्ध ऐन कानुन निर्माणमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभयो।

उपत्यका प्रदेशका अध्यक्ष श्रीजन झाले उपत्यका प्रदेश अन्तर्गतका पत्रकारको सीप तथा क्षमता विकासका लागि प्रदेश सरकार र केन्द्रीय समितिले भूमिका खेल्नु आवश्यक भएको बताउनुभयो। 

नेपाल पत्रकार महासंघको संघीय संरचना अनुसार प्रदेश समितिको मिति २०७५ साल वैशाख २२ गते पहिलो निर्वाचन भएको दिनलाई उपत्यका प्रदेश समितिले आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आएको छ। २२ वैशाख २०७५ मा उपत्यका प्रदेशको काठमाडौंमा भएको निर्वाचनले एनके दाहालको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति चयन गरेको थियो।

मिति २०७७ चैत २५ गते उपत्यका प्रदेश समितिको दोस्रो निर्वाचन सम्पनन भयो। उक्त निर्वाचनले उपत्यका प्रदेश समितिमा श्रीजन झाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेसँगै प्रदेश चलायमान अवस्थामा रहेको छ।

शुभकामना कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदी, ललितपुर शाखाका अध्यक्ष सागर न्यौपाने, भक्तपुर शाखाका अध्यक्ष जगत प्रजापति लगायत सञ्चारकर्मीको उपस्थिति  थियो। सोही कार्यक्रममा उपत्यका प्रदेशले प्रकाशित गरेको भित्तेपात्रो सार्वजनिक भएको छ।