तौलिहवा समाचारदाता
तौलिहवा, वैशाख २२ गते । लुम्बिनी गुरुयोजनाको काम पूरा भएपछि बुद्धसँग जोडिएको समग्र स्थल कपिलवस्तुको विकास हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताउनुभएको छ। २५६७औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवसको अवसरमा कपिलवस्तुको तिलौराकोट, गोटिहवा र कुदानको अवलोकन गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको छ।
मन्त्री किरातीले सञ्चारकर्मीसँग कुरा गर्दै लुम्बिनी गुरुयोजनाको काम अन्तिम चरणमा पुगेको र सो गुरुयोजना पूरा भएपछि कपिलवस्तु, रुपन्देही र नवलपरासीमा बुद्धसँग सम्बन्धित सम्पूर्ण क्षेत्रको विकास हुने बताउनुभएको हो।
लुम्बिनी क्षेत्रको गुरुयोजना निर्माणको काम छिटो सम्पन्न गर्न लुम्बिनी विकास कोषलाई मन्त्री किरातीले निर्देशनसमेत दिनुभएको छ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बौद्ध सभा हलमा पानी चुहिएको समाचार बाहिर आएपछि आफूले ठेकेदार कम्पनीलाई हल बनाउन निर्देशन दिएको र ठेकेदार कम्पनीले मर्मतसम्भार गरिरहेको उहाँले दाबी गर्नुभयो।
ऐतिहासिक एवं पुरातात्त्विक क्षेत्रमा मूल्य मान्यता र ऐनविपरीत कुनै पनि कार्य गर्न नदिने उहाँको भनाइ छ। बुद्धले २९ वर्ष बिताएको ठाउँ तिलौराकोट, क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवा र कुदान गौतम बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलो पटक गृहनगर कपिलवस्तु आउँदा आफ्ना मातापिता तथा परिवारलाई भेट गरेको स्थान हो।