बेनी समाचारदाता
म्याग्दी (बेनी), वैशाख २२ गते । म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका–१, गुर्जाकी ७५ वर्षीया रनशोभा छन्त्यालले वर्षौंदेखि भेडाको ऊनबाट हापदुलालगायतका कपडा तयार पार्दै आउनुभएको छ । पुख्र्यौली सीपलाई उहाँले निरन्तरता दिँदै आउनुभएको हो । एउटा हापदुला तयार पार्न चार दिन लाग्ने छन्त्यालले बताउनुभयो ।
भेडाको ऊनबाट बनाइने हापदुला गुर्जालीले जाडो छेक्ने कपडाका रूपमा प्रयोग गर्दछन् । गुर्जा, चुरेन र पुथालगायतका एक दर्जन हिमालको काखमा अवस्थित गुर्जा समुद्री सतहदेखि करिब २६ सय मिटर उचाइमा रहेको छ । यहाँ बाह्रै महिना चिसो मौसम हुन्छ । गुर्जामा आठवटा भेडा गोठमा करिब १५ सय भेडा छन् । भेडाको ऊन सङ्कलन गरेर गुर्जालीले पुर्खौंदेखि कपडा बनाउने गर्दछन् । पुर्खाको पालामा अहिलेका जस्ता ओढ्ने, बिछ्याउने सिरक, डसना नहुने भएकाले भेडाको ऊनबाट बनेका कपडा प्रयोग गर्ने गरेको छन्त्यालले बताउनुभयो । आफूले सिकेको उक्त सीप पुस्तान्तरण नहुँदा लोप हुने चिन्ता छन्त्यालले व्यक्त गर्नुभयो ।