• १६ वैशाख २०८१, आइतबार

सत्ता गठबन्धनको बैठकमा बजेटको सिद्धान्त र प्राथमिकताको विषयमा छलफल

blog

सत्ता गठबन्धनको बैठकमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेता। तस्बिरः प्रदीपराज वन्त

काठमाडौं, वैशाख २० गते। सत्ता गठबन्धनका शीर्ष दलको बैठक सम्पन्न भएको छ। बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा बजेटका सिद्धान्त र प्राथमिकताको विषयमा छलफल भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिनुभयो। 

राष्ट्रपतिले वैशाख २४ गतेका लागि बजेट अधिवेशन आह्वान गर्नु भएलगत्तै बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा सत्ता गठबन्धनले बजेटका सिद्धान्त र प्राथमिकतालाई एकरुपता कसरी दिने भन्ने विषयमा छलफल भएको उहाँको भनाइ छ। 

बैठकपछि नेता लेखकले भन्नुभयो, ‘‘आज सरकारमा संलग्न दलका मुख्य नेताबीच छलफल भएको छ। राष्ट्रपतिबाट वैशाख २४ गते संघीय संसदको अधिवेशन बोलाइसकेको अवस्थामा बजेटका सिद्धान्त र प्राथमिकतामा गठबन्धन दलले कसरी एकरुपता ल्याउने भन्ने विषयमा छलफल भएको हो।’’

सरकारमा रहेका राजनीतिक दलका धारणा मिल्ने गरी बजेटका सिद्धान्त र प्राथमिकताको तयारी गरेर अगाडि बढ्ने सहमति भएको उहाँले बताउनुभयो। देशको आर्थिक प्रतिकुलतालाई बजेटमा कसरी अनुकुलतामा परिणात गर्ने भन्ने विषयमा छलफल उहाँले प्रष्ट पानुभयो। 

नेता लेखकले भन्नुभयो, ‘‘आर्थिक प्रतिकुलतालाई बजेटमा कसरी अनुकुलतामा परिणत गर्ने भन्ने विषयमा छलफल भएको छ। संसद् अधिवेशनमा बजेट, बजेट पूर्वको छलफल र पूर्व तयारीका विषय आउने भएकाले त्यसको तयारीको विषयमा छलफल भएको हो।’’ 

उहाँले मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिने विषयमा प्रधानमन्त्रीले पहल गरिरहनु भएकोसमेत बताउनुभयो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत सत्ता गठबन्धन दलका शीर्ष नेता सहभागी हुनुहुन्थ्यो। गठबन्धनको अर्को बैठक शुक्रबार फेरि बस्नेछ।