• १५ जेठ २०८१, मङ्गलबार

जयपृथ्वीबहादुर सिंह उत्कृष्ट सेवा पुरस्कार घोषणा

blog

काठमाडौँ, वैशाख २० गते । गोरखापत्र संस्थान कर्मचारी सङ्घ, २०५२ ले संस्थानमा कार्यरत पत्रकार एवं कर्मचारी गरी छ जनालाई जयपृथ्वीबहादुर सिंह उत्कृष्ट सेवा पुरस्कार प्रदान गर्ने भएको छ। सङ्घको मङ्गलबार बसेको बैठकले पुरस्कार छनोट उपसमितिको सिफारिसका आधारमा छ जनालाई  पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। 

सङ्घले २०५८ सालदेखि गोरखापत्र प्रकाशनमा महत्त्वपूर्ण योगदान पु-याउनुभएका जयपृथ्वीबहादुर सिंहको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेर हरेक वर्ष गोरखापत्रको वार्षिकोत्सवमा प्रदान गर्दै आएको छ।  

पुरस्कृत हुनेमा २०७७ का लागि ज्योत्सना कुँवर र मैया कर्माचार्य हुनुहुन्छ। संस्थानको छैटौँ तहमा कार्यरत कुँवर वि.सं. २०५२ मा संस्थानको सेवामा प्रवेश गर्नुभएको थियो। त्यस्तै कर्माचार्य पाँचौँ स्तरको कार्यालय सहयोगीका रूपमा कार्यरत हुनुहुन्छ। उहाँ २०५५ सालमा संस्थानको सेवामा प्रवेश गर्नुभएको थियो। 

त्यस्तै २०७८ सालको पुरस्कार गोरखापत्र दैनिकमा तह ९ मा कार्यरत कार्यकारी सम्पादक तुलसीहरि कोइरालालाई प्रदान गरिने भएको छ। उहाँ २०५५ सालमा तह ६ को सहायक सम्पादक पदमा सेवा प्रवेश गर्नुभएको हो। सोही वर्षको पुरस्कार तह ५ का वरिष्ठ सहायक पदमा कार्यरत विजुला शाहलाई प्रदान गरिने भएको छ। उहाँ २०५४ मा संस्थानको सेवामा प्रवेश गर्नुभएको थियो। 

सङ्घले २०७९ का लागि तह ६ को अधिकृत तहमा कार्यरत ज्योति खड्कालाई पुरस्कृत गर्ने भएको छ। उहाँ २०५५ सालमा सेवा प्रवेश गर्नुभएको थियो। सोही सालका लागि तह ३ मा कार्यरत कार्यालय सहयोगीका रूपमा कार्यरत बलराम यादवलाई पुरस्कृत गरिएको छ। उहाँ २०६४ सालमा संस्थानको कार्यालय सहयोगी पदमा स्थायी सेवामा प्रवेश गर्नुभएको हो। 

कोभिड–१९ का  कारण २०७७ सालदेखि पुरस्कार रोकिएकाले यस वर्ष एकै पटक छ जनालाई पुरस्कृत गर्न लागिएको सङ्घका अध्यक्ष सचु सेन शाहले जानकारी दिनुभयो। सङ्घले हरेक वर्ष दुई जनालाई पुरस्कार वितरण गर्दै आएको छ।