काठमाडौं, वैशाख १८ गते। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमालेसँग सत्ता सहकार्यको कुनै पनि सम्भावना नरहेको बताउनुभएको छ।
सडक शिलान्यासका लागि इनरुवा पुग्नुभएका कार्कीले कांग्रेस र एमाले मिल्ने आकलनसहितका टिप्पणी सुनिने गरेको भए पनि त्यसमा सत्यता भने नरहेको बताउनुभएको हो। उहाँले नेकपा (एमाले) अबको ५ वर्ष प्रमुख प्रतिपक्षमा रहने बताउनुभयो। उहाँले प्रदेश र केन्द्रमा गठबन्धनकै सरकार निर्माण हुने बताउनुभयो। उहाँले केन्द्रमा नेतृत्व परिवर्तन भएझैँ प्रदेशमा पनि नेतृत्व परिवर्तन हुने बताउनुभयो।
उहाँले भन्नुभयो, ‘‘एमाले प्रमुख प्रतिपक्षमा पाँच वर्ष रहने छ। एमाले र नेपाली कांग्रेस मिलेर सरकार बन्दैन भन्ने कुरा यहीँबाट उद्घोष गर्न चाहन्छु। यो सरकार यही गठबन्धन पाँच वर्ष रहने छ। केन्द्रमा पनि रहने छ र प्रदेशमासमेत रहने छ। जसरी केन्द्रमा नेतृत्व परिवर्तन भयो त्यस्तै गरेर प्रदेश सरकारको नेतृत्व परिवर्तन हुनेछ।’’
नेता कार्कीले असारको बजेट अगावै कोशी प्रदेशमासमेत सरकारको नेतृत्व परिवर्तन हुने बताउनुभयो।