गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १७ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीनिकट किसान महासंघलाई जनताका बीचमा व्यापक रुपमा विस्तार गर्न निर्देशन दिनुभएको छ । अखिल नेपाल किसान महासंघको स्थापना दिवसको अवसरमा आज केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उहाँले सो निर्देशन दिनुभएको हो । कृषि क्षेत्र पेशा, व्यवसायसँगै संगठनको नेतृत्व अगाडि बढ्नुपर्ने उहाँको सुझाव छ ।
उहाँले भन्नुभयो, “किसान संगठनलाई महिलाका बीचमा व्यापक रुपमा लग्नुस्, संगठनलाई दिगो बनाउनुस् । पुरुषसँग महिला दिदीबहिनीलाई सक्षम बनाउनेगरी कामकाज गर्नुहोस् ।”
व्यवसाय, विचार र संगठनको अगुवाइ गर्नेगरी किसान महासंघलाई स्थापित गर्न आवश्यक रहेको भन्नुहुँदै अध्यक्ष ओलीले जनताका बीचमा महासंघको सदस्यता वृद्धि गर्न पनि आग्रह गर्नुभयो । स्थापना दिवसको अवसरमा उहाँले पुष्पलाल श्रेष्ठले विभिन्न धारमा विभक्त विचारलाई तेस्रो महाधिवेशनपछि एकता र सहिष्णुताको बाटोमा ल्याउन प्रयास गर्नुभएको उहाँले स्मरण गर्नुभयो ।
“२०४७ कात्तिक २५ गते खुलामञ्चमा संविधानका बारेमा २७ बुँदे असहमतिसहित राखेको कुरामा मदन भण्डारीको नै सबैभन्दा बढी महत्वपूर्ण भूमिका थियो । मदन भण्डारीले गर्नुभएको पहिलो सार्वज्निक सम्बोधन पनि त्यही हो, सम्बोधन सुनिसकेपछि पार्टीको महासचिव भण्डारी बाहेक अरु कोही हुन सक्दैन भनेर अरुले अडकल गरेका थिए” उहाँले भन्नुभयो ।
तर, मोहनविक्रम र निर्मल लामाहरुको फाटोबादले संगठन अल्मलिन पुगेको उहाँले स्मरण गर्नुभयो । त्यही फाटोवादको असर अनेमसंघ, विद्यार्थीलगायत जनवर्गीय संगठनमा पछिसम्म देखापरेको उहाँले चर्चा गर्नुभयो । अहिले राजावादी र केही सत्तासीन दलका कार्यकर्ताले अराजक गतिविधि गरेको उहाँले आरोप लगाउनुभयो ।