काठमाडौं, वैशाख १७ गते। प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालको महाधिवेशन आगामी जेठ १९ र २० गते राजधानी काठमाडौंमा हुने भएको छ।
प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि सूची निर्वाचन समितिलाई हस्तान्तरण कार्यक्रममा आइतबार सो जानकारी दिइएको हो।
गत जेठमा तय भएको महाधिवेशन विवादका कारण स्थगन भएको थियो । सो विवाद समाधान गर्न सदस्यताबारे छानबिन गर्न समिति गठन गरिएको थियो। सो समितिले केन्द्रीय समितिलाई दिएको प्रतिवेदनका आधारमा महाधिवेशन प्रतिनिधि सूची निर्वाचन समितिलाई बुझाइएको हो।
अब हुने महाधिवेशनका लागि केन्द्रीय समिति र समितिले मनोनयन गर्ने १० राष्ट्रिय प्रतिनिधिबाहेक १३७६ प्रतिनिधि चयन भएका छन् । संघका अध्यक्ष जगत तिमिल्सिनाले सहमतिमा नेतृत्व चयन गर्ने वातावरण बनाउन आफू तयार रहेको जनाउँदै त्यसमा सहजीकरण गर्न संघका प्रतिनिधिहरुलाई अनुरोध गर्नुभयो ।