काठमाडौं, वैशाख १७ गते। आइतबार दिउँसो वीर अस्पतालको पुरानो घरको पर्खाल भत्किँदा चार जना घाइते भएका छन्।
वीर अस्पतालको मुख्य भवन पछाडिको पुरानो भवनको छतको पर्खाल भत्केर बिरामी आफन्त कुरेर बसेको ठाउँमा खसेको हो। पर्खाललाई नछोपेको र घामपानीले असर गरेर कमजोर बनेको पर्खाल आज परेको पानीले भत्काएको हुनसक्ने अस्पतालले बताएको छ।
छतको पर्खाल खसेर बिरामी आफन्त कुरेर बसेका अंशु चौधरी, धर्मेश्वर पन्थी, श्यामा देवी र रीना झा चौधरी घाइते हुनुभएको छ।
घाइते सबैको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था सामान्य रहेको वीर अस्पताल प्रशासनले बताएको छ।