काठमाडौं, वैशाख १७ गते। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजको सम्बन्धमा थप अनुसन्धान र कारबाही अघि बढाइने बताउनुभएको छ। आइतबार जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना गर्दै उहाँले मिटरब्याजीको हकमा सरकार सदैव कठोर भएर प्रस्तुत हुने बताउनुभएको हो।
मधेसमा मिटरब्याजीको जालो फैलिएको दाबी गर्दै मन्त्री श्रेष्ठले राजनीतिक पहुँचको आधारमा कुनै पनि मिटरब्याजीले उन्मुक्ति नपाउने जिकिर गर्नुभयो। मन्त्री श्रेष्ठले मिटरब्याजीको पक्षमा रहेका जो कोही राजनीतिक पार्टीका व्यक्ति र पहुँचवाला व्यक्तिलाई सरकारले कारबाही गर्ने चेतावनी दिनुभयो। उहाँले मिटरब्याजीलाई संरक्षण गर्ने राजनीतिक दलका कार्यकर्तालाई समेत कानुनी दायरामा ल्याइने चेतावनी दिनुभयो।
उहाँले भन्नुभयो, ‘‘सामन्तवादको केही भद्दा अवशेष अझैसम्म बाँकी रहेका छन्। यो हाम्रो लागि लज्जा र दुःखको विषय हो। यो मिटरब्याजी विषय लज्जाको विषय हो। किसान पीडित भएका छन्। गरिब किसानले न्याय पाएनन् भने राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुन सक्दैन। अहिलेको ऐनका व्यवस्थाबाट ठगीको सन्दर्भलाई अघि सारेर केही कारबाही त गर्न सकिन्छ तर त्यो पर्याप्त छैन। मिटरब्याजी सम्बन्धी कानुनमै कारबाहीको प्रकरणलाई नै कानुनमा राखेर मन्त्रिपरिषद्ले त्यो प्रक्रिया अघि बढाइसकेको छ। हामी पीडितलाई जसरी पनि न्याय दिनेछौँ र पिडकलाई कारबाही गर्नेछौँ।’’
मन्त्री श्रेष्ठले मिटरब्याजी सामन्तवादको भद्दा अवशेषका रूपमा अझै जीवित रहेको बताउनुभयो।