• ११ मंसिर २०८१, मङ्गलबार

सच्चिन सन्देश

blog

आजभोलि पुराना राजनीतिक दलका कुनै पनि नेताको घरमा भात पाक्न छाडेको छ । भुजा ज्युनार हुने नेताको सङ्ख्या बग्रेल्ती बढेको छ । हिजोसम्म साइकलमा सँंगै हिँडेको नेतालाई सवारी होइबक्सियो भन्नुपर्ने बाध्यता उत्पन्न गराइएको छ । छ महिना मात्रै मन्त्री भएको नेता छ भने पनि कार्यकर्ताले उसलाई राजासरह मान्नुपर्ने र नेताले उसलाई रैतीका रूपमा देख्ने प्रवृत्ति सर्वत्र बढेको छ । राजनीतिक दल र दलका नेता जनताका सेवकका रूपमा उपस्थित हुनुपर्नेमा उल्टो दिशामा अघि बढेको अनुभव आम रूपमै गरिँदै आइएको छ । 

यस्तै प्रसङ्गलाई लिएर राजनीतिक दल र नेता सच्चिने कि सक्किने भन्ने आवाज आमरूपमा उठेको छ । नेपाली राजनीतिक वृत्तमा हालै चर्चामा आएको पदावली हो– सच्चिने कि सक्किने । वैशाख १० गतेको उपनिर्वाचनपछि विशेषगरी ठूला भनिएका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सन्दर्भलाई लिएर कसैले चिन्ता व्यक्त गर्ने गरेका छन् भने कसैले व्यङ्ग्यका रूपमा यसलाई उपयोग गर्ने गरेको पाइन्छ । तीन निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनमा कुनै पनि क्षेत्रमा यी तीन दलको दरिलो उपस्थिति हुन नसक्नुले ठूला भनिएका दलप्रति व्यापक चासो बढेको हो ।

एउटै निर्वाचन सुदूरभविष्यको मानक हुन सक्दैन । एउटै सङ्केतलाई लिएर यो सदाका लागि यस्तै हो भनी अनुमान गर्नु पनि भूल हुन्छ । जनताले एक पटक प्रकट गरेको विश्वास सदाका लागि हो भन्ने बुझ्न हुँदैन र एक पटक गुमेको विश्वास सधैँका लागि हरायो भन्ने ठान्न पनि हुँदैन । आज माथि परेको भोलि तल पर्न सक्छ र आज रसातलमा पुगे पनि मेहनत गरियो भने भोलि माथि आउन सकिन्छ भन्ने आत्मबल हुनै पर्दछ । मात्र यति हो कि आकाश धुम्मिएको देखेपछि घरबाट बाहिर निस्कँदा छाता बोकेर हिँड्ने कि त्यसलाई बेवास्ता गर्दै घाम लागिहाल्छ भन्ने भ्रम बोकेर अघि बढ्ने भन्ने मात्रै हो ।

पुराना राजनीतिक दलका अगाडि खतराको घण्टी बजेकै हो । घण्टी निर्वाचन चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको चितवन र तनहुुँमा भएको शानदार विजयले दललाई सोचमग्न बनाएकै छ । केही अघिदेखि जनतामा बढ्दै गएको वितृष्णालाई सामयिक सम्बोधन गर्न नसक्दा फेरिएको जनताको मनले नयाँ राजनीतिक दल खोजेको हो कि भन्ने सङ्केत उपनिर्वाचनको परिणामले दिएको छ । यस्ता कुरालाई मनन गरेर आगामी दिनका लागि नयाँ बाटो तय गर्ने राजनीतिक दल सच्चिने बाटोमा हिँड्न खोजेको ठहरिन्छ भने विगतकै कार्यशैलीलाई परित्याग गर्न नसकेर खाटमा सिरानी हाली सुत्ने पार्टी सक्किने बाटोतर्फ उन्मुख भएको मानिन्छ । कुन बाटो रोज्ने भन्नेचाहिँ दलका नेतृत्व र नेताकै जिम्मामा रहन्छ ।

जनताका अधिकारका लागि लडेका दल कालान्तरसम्म सक्रिय भइरहनु पर्दछ भन्ने जनताले ठानेको पाइन्छ । त्यसैले अब ठूला दल सच्चिनै पर्दछ, नसच्चिएमा देश र जनताले सोचेकोजस्तो भविष्य शीघ्र हात पार्न सम्भव छैन भनेर चिन्ता व्यक्त गर्ने गरिएको देखिएको छ । आक्रोशमा नयाँ दल र नयाँ उम्मेदवार चयन गरे पनि भर्खरै उदाएका राजनीतिक दलमा आमनागरिक पूर्ण विश्वस्त हुन सकेको देखिँदैन तर सच्चिने भनेको के हो भन्ने प्रश्नचाहिँ व्यापक रूपमा उठेको छ । 

जनताले आफूसंँगै हिँड्ने नेता खोजिरहेको हुन्छ । आमनागरिकका समस्यालाई आत्मसात् गरेर मेरै समस्या हो भन्ने ठान्ने नेता र त्यो नेताको राजनीतिक दल बिनास्वार्थ जनताको सेवामा निरन्तर केन्द्रित रहेको जनता हेर्न चाहन्छन् । देश र जनतालाई पहिलो प्राथमिकतामा राखेर त्यसपछि दल अनि परिवार भन्ने नेतृत्वको खाँचो सर्वत्र महसुस गरिएको छ । देशको सार्वभौमिकता र नागरिकको अधिकार रक्षार्थ खटिने दलको अपेक्षा सधैँ र सबैलाई हुने गर्दछ । यसमा खरो उत्रिने प्रयास दलले अब गर्नै पर्दछ । यस्ता विषयमा दलका नेताका कर्मबाट शङ्का उत्पन्न हुने काम हुनै नहुने हो ।

विडम्बना, पछिल्ला अवधिमा आएर नेतामा अर्कै प्रकारको अहं पलाउँदै गएको पाइन्छ । आमनागरिक अर्कै वर्गका हुन् र नेता भनेका बेग्लै महत्ता बोकेका व्यक्ति हुन् भन्ने सोच नेतामा पलाउँदै जान थालेपछि पुराना दलका नेताबाट जनता टाढिँदै गएको प्रस्टै देखिन्छ । चुनावअघिसम्म एउटै खाटमा सुतेर एउटै थालमा भात खाएको मान्छे सांसद या मन्त्री भएको दिनदेखि सँगैको पुरानो मित्रलाई तल्लो दर्जाको देख्न थाल्ने प्रवृत्तिको विकास भएकोबारेमा एक दशक अघिदेखि नै व्यापक आलोचना हुँदै आएको थियो तर यसलाई सुधार्नु पर्दछ भन्ने मानसिकता कसैमा पलाएको देखिएन । यही उपनिर्वाचनको परिणामपछि पनि सुधार होला भन्ने सङ्केत कुनै नेताबाट प्राप्त हुन सकेको देखिँदैन ।

कतै राजनीतिक नियुक्ति दिनु प¥यो भने आफ्नै परिवारभित्रको मान्छे खोज्ने, यदि त्यस्तो भेटिएन भने चाकडी बजाउन आउनेको समूहबाट छान्ने तर योग्यता भएकालाई बाहिरै राख्ने परम्परा त संस्कारकै रूपमा विकसित भइसकेको छ । जसरी पनि सत्तामै रहनुपर्ने र आफूले सत्ता नपाउने अवस्था आएमा देश र जनताका लागि जतिसुकै हानि हुने खालको भए पनि त्यस्तो कदम चाल्न पछि नपर्ने नेता र दल पनि विगतमा देखिए । त्यसैले अबका दिनमा सत्तालाई साधन मात्रै बनाएर देश र जनताको समृद्धि र समुन्नतिलाई साध्य बनाउने प्रयत्न दलले गर्ने प्रयास गरे भने त्यसैलाई नै पुराना दल सच्चिएको जनताले ठान्नेछन् ।

पहिले पहिलेका नेता सङ्गठन विस्तारका क्रममा जिल्ला–जिल्लामा गइरहन्थे । नेताका घरमा जनता होइन, जनताका घरमा नेता पुग्ने प्रचलन थियो । जसले गर्दा नेता र जनताका बीचमा कुनै खाडल रहेको अनुभूति हुँदैनथ्यो । नेता गाउँ–गाउँमा पुग्थे र आफ्नो राजनीतिक दलको अवस्था बुझ्नुका साथै जनताका पीरमर्का सङ्कलन गर्दथे । समाज र समाजका सदस्यका वास्तविक अवस्थिति बुझेका नेताले समाजको यथार्थ चित्रण गर्न सक्दथे अनि जनताका समस्या समाधानहेतु आवश्यक उपायको दिग्दर्शन दिन सक्दथे ।

अहिलेका नेता मुलुकको राजधानी या प्रदेशको राजधानीमा बस्न अत्यधिक रुचाउँछन् । गाउँको सामान्य नेता पनि जिल्ला सदरमुकाममै अत्यधिक समय बिताउँँछन् । जनताले कुनै समस्या राख्नु प¥यो भने नेता खोज्दाखोज्दै हैरान हुन्छन् । नेता खुसी बनाउन बोक्नुपर्ने कोसेलीपातकोे त चर्चा गर्नै परेन । जनताले नेता भेट्न आउँदा मात्रै होइन, नेताकै दलका समकक्षी अरू नेता या कार्यकर्ता सरकारी पदमा रहेको नेताको दैलामा पुगे भने पदासीन नेताको आसन र अरूका कुर्सीमा आकाश–जमिनको भिन्नता देखिन्छ ।

कुनै पनि नेताकहाँ भेट्न पुगेका मान्छेमध्येमा सबैभन्दा पहिला ठेकेदार र व्यापारीले प्राथमिकता पाउने गरेको सबैले अनुभूति गरेकै हो । नेतालाई नेता बनाउनुमा तिनीको कुनै योगदान नभए तापनि तिनीहरू नेताका प्रिय देखिने गरेका छन् भने रगत–पसिना बगाएर कुर्सीमा पु¥याउने कार्यकर्ता र सर्वसाधारण कैयौँ पटक नेतासित भेट्न नै नपाएर फर्कन बाध्य भएका छन् । सर्वसाधारण मतदाता अर्को चुनाव नआउँदासम्म नेताको गणनामै नपर्नुले आमजनतामा निराशा उत्पन्न गराएको कुरालाई अब दल र नेताले भुल्ने चेष्टा गरे भने वि.सं. २०८४ मा फेरि चुनाव आउँछ भन्ने सङ्केत जनताले पर्याप्त मात्रामा दिएका छन् ।

सङ्गठन गर्न जिल्ला गएका नेता आजभोलि जहाज चढेर सदरमुकामसम्म मात्रै पुग्दछन् । सुविधासम्पन्न होटलमा बास बस्दछन् र त्यहाँ जो जो आउँछन्, तिनलाई मात्रै भेटेर राजधानी फर्कने गर्दछन् । केन्द्रीय नेताले स्थानीय नेतासम्मको अनुहार हेर्ने गर्दछन्, जनताको अनुहार कस्तो हुन्छ भन्ने बिर्सेको त वर्षौं भइसकेको छ । केन्द्रीय नेता जिल्लाबाट राजधानी फर्किंदा त्यहाँको खर्च स्थानीय नेताले लाखको हाराहारीमा तिर्नुपर्ने हुन्छ । यही प्रवृत्ति कायम भइरहेमा पुराना दलबाट धेरै अपेक्षा अब जनताले गरिरहलान्जस्तो देखिँदैन ।

कांग्रेस र एमाले वि.सं. २०४६ पछि आरोह–अवरोह बेहोर्दै आएका दल हुन् । नेकपा माओवादी केन्द्र विभिन्न समयमा नाम परिवर्तन हुँदै आएको भए पनि उसको इतिहास लामो नै भइसकेको छ । कसैकसैले पुराना दललाई हिमनदी र नयाँलाई खहरे भन्ने पदावली प्रयोग गरिएको भए तापनि नयाँ दल पनि हिमालबाटै झरेको त होइन भन्ने खोजी गरिएको पनि देखिँदैन । यद्यपि अरू दलको अस्तित्वमाथि प्रश्न उठाउनुभन्दा आफ्ना विगतका गल्ती सच्याउने प्रयास पुराना दलबाट गरिनु अत्यावश्यक भइसकेको छ । सुशासन दिन नसकेको कमजोरीलाई मनन गर्दै भ्रष्टाचार निर्मूल गर्न नसके पनि न्यूनीकरणको प्रयासमा नेता लागेको अनुभूति जनतालाई हुनै पर्दछ । राजनीतिक दल अब गम्भीर हुन अत्यन्त जरुरी छ ।

लेखक सहप्राध्यापक हुनुहुन्छ ।    

Author

डा. शान्तिकृष्ण अधिकारी