• १५ चैत २०८०, बिहिबार

दाङको राप्ती गाउँपालिकाद्वारा कृषि एम्बुलेन्स सञ्चालन

blog

कृषि एम्बुलेन्सको शुभारम्भ गर्दै पूर्वमन्त्री एवं लुम्विनी प्रदेशसभा सदस्य इन्द्रजीत चौधरी तथा अन्य अतिथिहरु । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, वैशाख १६ गते । राप्ती गाउँपालिकाले जिल्लामै पहिलो पटक किसानले उत्पादन गरेको तरकारीको बजारीकरणका लागि सहयोग गर्ने उद्देश्यले ‘कृषि एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ । करिब साढे ३४ लाख रुपियाँको लागतमा गाउँपालिकाको कृषि एम्बुलेन्ससँगै वडा ८ सिसहनियामा राप्ती तरकारी सङ्कलन तथा विक्री केन्द्र सञ्चालनमा ल्याएको हो । 

किसानले उत्पादन गरेका तरकारीको बजारीकरणमा सहयोग गर्ने उद्देश्यले गाउँपालिकाले प्रदेश सरकार र सङ्घ संस्थाको सहयोगमा कृषि एम्बुलेन्स र तरकारी सङ्कलन तथा विक्री केन्द्र सञ्चालनमा ल्याएको राप्ती गाउँपालिका कृषि विकास शाखा प्रमुख सीमा भट्टले जानकारी दिनुभयो ।  

गाउँपालिकाको २०६९–८० को वार्षिक स्वीकृत कार्यक्रमअनुसार गाउँपालिकाको १७ लाख ३० हजार, प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्रालयको १५ लाख र स्वान संस्थाको दुई लाख ५० हजार गरी करिब ३४ लाख ७५ हजारको लागतमा कृषि एम्बुलेन्स र कृषि सङ्कलन तथा विक्री केन्द्र स्थापना गरिएको शाखा प्रमुख भट्टले बताउनुभयो । अन्य चार स्थानमा किसानले उत्पादन गरेका कृषि बस्तुहरू राख्न चिस्यान केन्द्र निर्माणको तयारीमा रहेको बताउनुभयो । 

कृषि एम्बुलेन्सले स्थानीय किसानले उत्पादन गरेको तरकारीलाई बजारीकरणमा सहयोग गर्नेछन् । ‘किसानले आफ्नो उत्पादन कृषि सङ्कलन केन्द्रसम्म ल्याउने छन्, त्यहाँसम्म ल्याएको तरकारी समूह वा सहकारीले खरिद गर्ने छ’ शाखा प्रमुख भट्टले भन्नुभयो, ‘खरिद गरेको उक्त तरकारी ‘कृषि एम्बुलेन्स’ बाट जिल्लाभित्र वा बाहिर आवश्यकताका आधारमा पठाउने छ ।’ 

कृषि सङ्कलन केन्द्र समूह वा कृषि सहकारीलाई जिम्मा दिने भन्ने छनोट गर्ने प्रक्रियामा रहेको बताउनुभयो । ‘गाउँपालिकामा सक्रिय रूपमा रहेका ९ वटा कृषि सहकारी र ६२ वटा कृषि समूहहरू रहेका छन्’ शाखा प्रमुख भट्टले भन्नुभयो, ‘सहकारी तथा समूहगतसँग छलफल गरेर तरकारी सङ्कलन तथा बिक्री केन्द्र कसले चलाउन सक्छ । प्रक्रिया पूरा गरेर उसैलाई जिम्मा दिनेछौ ।’ 

राप्ती गाउँपालिकाका वडा ५, ६, ७ र ८ कृषि उत्पादनका लागि हिसाबले उर्वर भूमि भएको चार वटै वडालाई पायक पर्ने गरी वडा ८ को सिसहनियामा तरकारी सङ्कलन तथा विक्री केन्द्र स्थापना गरिएको शाखा प्रमुख भट्टले जानकारी दिनुभयो । 

‘कृषि सङ्कलन केन्द्र नहुँदा किसानले आफ्नो उत्पादन आफै बजारसम्म लगेर विक्री गर्नुपर्ने बाध्यता छ’ शाखा प्रमुख भट्टले भन्नुभयो, ‘अब किसानले कृषि उत्पादन कृषि सङ्कलन केन्द्रमा लगेर बिक्री गर्नेछन् र त्यहाँबाट कृषि एम्बुलेन्सले बाहिर लाग्ने छ ।’ कृषि एम्बुलेन्स नहुँदा किसानहरूले उत्पादन गरेको तरकारी आफै बजारसम्म लगेर घर–घरमै बिक्री गर्नुपर्ने बाध्यता रहेको थियो ।