• १३ मंसिर २०८१, बिहिबार

औद्योगिक व्यापार मेला बुटवल : कृषिमा अर्गानिक उत्पादन प्राथमिकतामा

blog

मेलाका लागि अन्तर्राष्ट्रिय प्रदर्शनीयस्थल बुटवल मण्डपमा रहेको सचिवालय । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, मङ्सिर १३ गते । बुटवल उद्योग वाणिज्य सङ्घको आयोजनामा बुटवल मण्डपमा हुने औद्योगिक व्यापार मेलामा कृषि पेभिलियनतर्फ अर्गानिक उत्पादनलाई प्राथमिकता दिने भएको छ ।

कृषिमा व्यावसायिक विकासका लागि कृषिजन्य बस्तुको उत्पादन, कृषि उद्यमका लागि कृषि औजार तथा प्रविधिलाई प्राथमिकता दिएको बुटवल उद्योग वाणिज्य सङ्घले मेलामा कृषिमा अर्गानिक उत्पादनको विकास, विस्तार र उपभोगको प्रवर्द्धनका लागि अर्गानिक उत्पादनलाई विशेष प्राथमिकता दिइएको मेला कार्यसम्पादन समिति कृषि उपसमितिका संयोजक मोहमद याकुवले जानकारी गराउनुभयो ।

यही पुसको ३ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा सञ्चालन हुने मेलामा कृषिजन्य बस्तुका स्टललाई प्राथमिकताका साथ विशेष छुट प्रदान गरिएको छ । कृषिमा व्यावसायिक विकासका लागि युवा सहभागिता र लगानी अभिवृद्धि गर्नको लागि कृषिमा भएका असल अभ्यास, कृषिमा आधारित कपडा (अल्लो), कृषि औजार कृषि प्रविधि, हलो उन्नतीकरण लगायत स्थानीय उत्पादन समावेश गरिने छ ।

त्यसैगरी स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारको समन्वयमा सामूहिक कृषि सूचना केन्द्र रहनेछ । त्यसैगरी कृषिमा डिजिटल विकासका बारेमा समेत जानकारी गराउने गरी कार्यक्रम तय गरिएको छ । मेलामै कृषिसँग सम्बन्धित विषयमा अन्तरक्रिया कार्यक्रम समेत गरिने मेला कार्यसम्पादन समितिका सदस्य तथा तालिम गोष्ठी उपसमितिका संयोजक बालकृष्ण पौडेलले बताउनुभयो ।

१६ दिनसम्म चल्ने मेलामा कृषिसँग सम्बन्धित डेरी उत्पादनलाई पनि प्राथमिकता दिइनेछ । डेरीजन्य उत्पादनका विविधीकरण खिर, कुरौनी, कपि लगायतका परिकार राखिने बुटवल उद्योग वाणिज्य सङ्घ डेरी बस्तुगत समितिका सभापति कृष्णप्रसाद उपाध्यायले जानकारी गराउनु भयो । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मूल नारा सहित आयोजना गरिएको मेलामा कृषि सहित सेवा, हस्तकला, इलेक्ट्रिक एण्ड इलेकट्रोनिक्स, ब्युटी, गार्मेन्ट, जुत्ता, एफएमसिजी (फुड एण्ड वेभरेज), अटोमोवाईल्स र होटल समेत गरी करिब ५ सय स्टल सहभागी गराइने कार्यसम्पादन समितिका उपसंयोजक तथा स्टल बुकिङ समितिका समन्वय कर्ता सुरज भट्टराईले जानकारी दिनुभयो ।