• १३ वैशाख २०८१, बिहिबार

रेडियो–झङ्कार

blog

रेडियोको झङ्कार । आवाजको झङ्कार । सङ्गीतको झङ्कार । झङ्कार अनुभूतिको । अनेकौँ स्वरको मिश्रणमा अनुगुञ्जित ध्वनिमा बेग्लै मिठास । चराका चिरीबिरीहरूको अलग्ग अर्कै झङ्कार । पृथक् स्वर–सुसेली । सुन्नुको शीतल अनुभूति । झङ्कारको अलग्गै स्पर्श । झङ्कारले तरङ्गित पारेका क्षणहरू । झङ्कारले जागृत पारेका पलहरू ।

रेडियो तरङ्गका आरोह–अवरोह । झङ्कारले लट्ठ पारेका साँझ–बिहान । झमेला मुक्त समयहरू । रेडियो–झङ्कारका जागरण जमातहरू । मन छोइने भएर हृदयको गहिराइसम्म पुग्ने । कर्णप्रिय बनेर चर्मचक्षुमा चित्रमय दृश्य पनि देखिने ।

झङ्कारका तरङ्गको मिलनमा सुन्नुको ज्ञान–गरिमा आहा कति सुन्दर । एउटा विछट्टको आनन्दले मन प्रफुल्लित । जहाँ कत्ति पनि पीडा महसुस छैन । जहाँ अलिकति पनि तनावले हैरान पारेको हुँदैन । दुःखमा पनि खुसीका छचल्कन । पीडामा पनि हर्षका आँसुहरू । सूचना, जानकारी वा भनौँ बौद्धिक सम्प्रेषणका अनगन्ती खबर–खुराक ।  झङ्कारले उब्जाएका आलेखहरू । झङ्कारमा यात्राका पाइलाहरू । सुनसान एकान्तको एकलास अँधेरीमा पनि झङ्कारको प्रिय स्पन्दन !

लेखक मनको रेडियो तरङ्गमा अनुगुञ्जित ध्वनि । विगतका स्मृति–दंशमा गहिरिँदै जाँदाका सम्झनाहरू । आल्हादित ती दिनहरू आहा ! व्यतीत कालखण्डमा म विसर्जित हुन पुग्छु । सपनाबाट भर्खरै बिउँझिएजस्तै सम्झना । झल्याकझुलुक देखेका, सुनेका विगत दिनका मिठा–मिठा दिनचर्याहरू ।

सिनित्तै बढारेर आफालिएका सबै झन्झट र झमेलाका पोकापन्तेराहरू । बाँकी सन्तुष्टिका अनेकौँ पहेली । सफलताका चुली–चुचुराहरू । प्राप्तिका सगरमाथा–शिखरहरू । कति धेरै उत्साह र उमङ्गले वशीभूत आँखाहरू । रेडियो–झङ्कारमा सम्मोहित कानहरू ।

चञ्चल चलायमान जिन्दगीका प्रत्येक आयामहरू । तिमी यसरी नै जीवन्त जीवन व्यतीत गर । रेडियो–झङ्कारमा जिन्दगीको उत्सव मनाऊ । प्रेम, प्रभाव र प्रेरणाका पलहरू सधैँ सँगालेर राख । 

रेडियो–झङ्कारको अर्को पक्ष एक अनुपम सौजन्य साक्षात्कार ज्ञान–विज्ञान, साहित्य, सङ्गीत र कलाकौशलको । सुखद, सकारात्मक र सुन्दर झङ्कारमा जीवन तिमी आफूलाई रूपान्तरण गर ।

अनि हठात् सम्झनामा दृश्यहरू आँखाभरि तैरिए । रेडियो–झङ्कारका आवाजहरू झन् धेरै कानमा गुञ्जिए । विगतका पुराना सम्झनाहरू ताजा भएर बौरिए । चालीसको दशकमा रेडियो प्रेमका प्रकम्पनहरू । ती सुस्तरी प्रकट हुन थाले सम्झनाका डायरीहरूमा । 

बासुदेव मुनालको भाइबैनीप्रतिका सुमधुर वात्सल्यका झङ्कारहरू । जदौ दाजु दाहाल यज्ञनिधिका स्वर–सुसेलीका साहित्यिक झङ्कारहरू । म आफैँले लेखेका लेखरचना यिनै दाजुहरूका आवाजमा रेडियो नेपालबाट गुञ्जिएका ध्वनिहरू । पर–पर झन् पर सुदूर गाउँसम्म राजधानीदेखि प्रसारित झङ्कार । गाउँलेका घरदैलोसम्म पुगेको सिंहदरबारको रेडियो–तरङ्ग । 

कानमा परेको एकपछि अर्को चिनारुहरूका प्रभाव । विरानाले पनि सुनेर प्रेमले पठाएका मित्रवत् पत्रहरू । रेडियोले जोडेका सम्बन्धहरू । पवित्र, निःस्वार्थ र निर्मल थिए । 

झङ्कारको कति ठूलो कमाल थियो । कति धेरै प्रशंसकहरू थिए । झङ्कारले झन्–झन् नजिक्याएका सम्बन्धहरू । चिनारीका पात्र र चिनिएका मित्रहरू कति–कति !

साँच्चै तिनताक रेडियो नेपालको अलग्गै रौनक थियो । रेडियो सुन्ने श्रोताहरूको सङ्ख्या अधिक थियो । मेरो ग्रामीण जीवन तर साथीहरू थिए गाउँदेखि सहर वा भनौँ देशैभरिका । माध्यमिक विद्यालयका विद्यार्थी । पत्रमित्रबाट हामी चिनिएका थियौँ । रेडियोकै झङ्कारबाट नजिकिएका हुन्थ्यौँ । अनुभवको आदान–प्रदान गथ्र्यौं । आ–आफ्ना विद्यालय, गाउँ–ठाउँका विषयमा विचारको साटफेर गथ्र्यौं ।  कति लेखियो कैयौँ पाना–पानामा अक्षरहरू । आफ्नो गाउँठाउँ चिनाउने प्रयास गरियो । अरूका गाउँठाउँ बुझ्ने मौका पाइयो । राम्रो अक्षर लेख्ने प्रतिस्पर्धा पनि पत्रबाटै हुन्थ्यो । लेखनको अभ्यास पनि हुन्थ्यो ।

धेरै पढियो साथीका प्रतिउत्तरहरू । प्रतिप्रश्न र प्रतिउत्तरमा आफू पनि संलग्न भइयो धेरै ।

अहिले त रेडियो टोल–टोलमा पुगेका छन् । टोलमा पुगेकाले होला घरमा धेरै बज्दैनन् । थाहा छैन रेडियो स्टेसनको स्थापना र पहुँचले रेडियोलाई कति स्थापित ग¥यो ? कति विस्थापित बनायो ?

म भन्छु– ‘रेडियो प्रेम मैलियो । रेडियोको आकर्षण घट्यो । जो पनि रेडियोमा बोल्ने । जे पनि रेडियोमा भन्ने । कतिसम्म सुसंस्कृत र सभ्य ? कतिसम्म सुसूचित गराउने सञ्चारको सन्देश ? कतिसम्म छाडापन र पछौटे ? मलाई लाग्छ बोल्नु र भन्नुको तात्पर्य अर्थहीन । यसो भएपछि रेडियोको झङ्कारले कसरी लोकप्रियता हासिल गर्न सक्छ र !’ त्यसैले रेडियोप्रतिको पुरानो लोकप्रियता आज लोप भइसकेको छ । प्रविधिको फड्को र पहुँचले रेडियो–

श्रोता घटेका हुन् । पहिले झङ्कारकै प्रभाव कति–कति ? झङ्कारप्रति आकर्षण कति धेरै । रेडियोप्रेमी धेरै थिए । रेडियो नसुन्ने मान्छे विरलै हुन्थे । रेडियोको झङ्कारमा झुम्मिनेहरू अनेक । रेडियोको आवाजमा लोभिनेहरू अनेक । लोकप्रिय एक मात्र सञ्चार माध्यम रेडियो नेपाल । गोठालाहरूको साथी रेडियोको झङ्कार । खेत जोत्ने, मेलापातमा होम्मिनेहरू पनि रुखमा, आलीमा रेडियो अड्याएर रेडियो–झङ्कारमा मस्त । पसलमा बस्नेहरू रेडियोकै गीति झङ्कारमा लठ्ठिरहेका भेटिन्थे । रेडियो–झङ्कारको कति ठूलो प्रभाव र प्रेम । कति धेरै श्रोता र शुभचिन्तक । एकदिन वा एकछिन रेडियो सुन्न नपाउँदाको छटपटी । 

पहिले रेडियो प्रेम गजबकै थियो । रेडियो नसुनी बिहान नहुने । रेडियो नसुनी निद्रा नलाग्ने । मौसमको ख्याल गर्न रेडियो सुन्नै पर्ने । गीत सुनेर मनोरञ्जन लिने । चाडपर्व बिदा, औँसी, पूर्णिमा, तिथि, मिति, गते, बार सबै–सबै रेडियोबाटै थाहा हुन्थ्यो । रेडियोभन्दा जान्ने को थियो र त्यो बेला ? सोध्नै पर्दैनथ्यो, बताइहाल्थ्यो । कति ज्ञानी, कति बुद्धिमानी । ग्रामीण घरैपिच्छे खोपी र खम्बाहरूमा रेडियो झुन्डिएको हुन्थ्यो । रेडियोको झङ्कारमा ग्रामीण कानहरू चनाखो बन्थे । भेटघाट, भलाकुसारीको थलो रेडियो घरधनीकैमा हुन्थ्यो । बिहानदेखि राति अबेलासम्म एक्लै रेडियो बोलिरहन्थ्यो । रेडियोले गीत गाइरहन्थ्यो । बाजाहरू बजाइरहन्थ्यो । समयको ख्याल गराउँथ्यो । पानी पर्ने र घाम लाग्ने सूचनामा गाउँलेहरू घुम बोकेर घर बाहिरिन्थे । समाचार सुनेर विश्व बुझ्ने कोसिस गर्थे । रेडियो सुनेर पानी–प्यास मेटाउँथे । रेडियो सुनेर थकाइ बिर्सन्थे । दुःख, पीडा, हैरानी र अभावका सबै कठिनाइ भुल्थे । हाँस्थे, हँसाउँथे, रमाउँथे ।

सुनेपछि तृप्त मन–प्राण आहा गाउँले श्रोताका मन कति आनन्दित । कति सन्तुष्ट । रेडियो जिन्दगी, जिन्दगी रेडियो थियो । ठूलै खुसी पाए झैँ हुने । ठूलै सफलता मिलेझैँ लाग्ने उनीहरूलाई । 

बाटोमा बटुवाहरू काँधमा रेडियो झन्ड्याएर रेडियो सुन्दै उकाली उक्लिरहेका हुन्थे । ओह्राली झरिहेका भेटिन्थे । बेँसी झर्ने र लेक चढ्नेहरूका काँधमा रेडियो–झङ्कार तरङ्गित भइरहेको हुन्थ्यो । पसिना पुछ्दै चौतारीमा भारी बिसाएर ढाक्रेज्यान पनि रेडियो–झङ्कारमा झुम्दै पसिना पुछिरहेका हुन्थे । थकाइ सबै बिर्सिएर उनीहरू सबै फर्माइसी गीतको झङ्कारमा आनन्द भेटिरहेका हुन्थे । त्यसमै रमाइरहेका हुन्थे ।

वास्तवमा रेडियो–झङ्कारका तरङ्गहरूमा तैरिएका ज्यान–प्राण जीवन्त जिन्दगीका जीवन्त स्वरूप थिए । त्यहाँ कुनै शङ्का, षड्यन्त्र, स्वार्थको क्लेष मात्र पनि भेटिन्नथ्यो । सामाजिक सद्भावको क्रममा प्रत्यक्ष महसुस हुन्थ्यो । एउटै रेडियोमा गाउँभरिका गाउँलेको श्रोता–सम्मेलनजस्तै हुन्थ्यो ।

आहा रेडियोको झङ्कार कति प्रभावकारी । कति उपयोगी, कति आवश्यक र कति महìव यसको ? समयले कोल्टे फेरिसक्दा पनि गाउँघरमा अझै रेडियोका झङ्कारहरू प्रतिध्वनित भइरहेछन् । जापानी पानासोनिक पुरानो रूपरङ खुइलिएर फुङ्ग उडिसकेका होलान् । 

इन्डियन र जापानी रेडियोका खपत र माग पनि धेरै । ब्याट्री सिद्धिएर झङ्कारमा धोद्रोपनको गुञ्जन पनि मिठो लाग्थ्यो । स्वर टुक्रिँदै–टुक्रिँदै श्रोताका कानसम्म पुग्दा अर्कै अचम्मको आवाज गुञ्जिन्थ्यो । तथापि त्यो झङ्कार पनि सुनिरहूँ लाग्थ्यो ।

गाउँले मन उदेक मान्थ्यो– थाहा छैन कसरी बज्थ्यो रेडियो ? कसरी बोल्थ्यो रेडियो ? जिज्ञासा जाग्थ्यो । रेडियोमा कसरी धेरै मान्छे अट्न सकेका । कति बोल्न सकेका । कति बोल्न जानेका । आराम पनि छैन । खाना खानु, सुत्नु पनि नपर्ने । कत्ति पनि नथाकेका । बोल्न साह्रै सिपालु । सधैँ हाँसो र खुसीमै मस्त । जिन्दगीको आनन्दमा रमाइरहेका आ–आफ्नो कर्ममा मग्न भइरहेका रेडियोकर्मीहरू । रेडियो– झङ्कारमा श्रोतालाई हरदम जागृत गराइरहेका ।