काठमाडौं, वैशाख १५ गते। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम खाने स्वयं मन्त्रीहरू नै रहेको आरोप लगाउनुभयो।
शुक्रबार नेपाल पर्यटन बोर्ड तथा होटल व्यवसायी महासङ्घ नेपालद्वारा संयुक्त रूपमा आयोजित दुई दिने तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले वायुसेवा निगम खाने खुम्लेकीरा मन्त्रीहरू स्वयं दाबी गर्नुभएको हो। उहाँले मन्त्रीहरूले हरेक दिन आफू मन्त्रालयमा आएपछि करोडौँ रुपैयाँ खाने गरेको बताउनुभयो। उहाँले भगवान् पनि आफ्नो स्थानमा बस्ने भएकाले मानिसहरू आफ्नो विज्ञतामा बस्नुपर्ने बताउनुभयो। उहाँले अहिले राज्य सत्ताको सारा अङ्ग मृत्यु प्रायः रहेको दाबी गर्नुभयो।
उहाँले भन्नुभयो, ‘‘वायुसेवा निगम खाने खुम्लेकिरा त मन्त्री नै पो रहेछ। प्रत्येक मानिस नियुक्तिमा पैसा उठाएको छ। हजार होइन, लाख होइन, क भन्दो रहेछ के क, क, एक दिन होइन, महिनौँ महिनासम्म क उठाएपछि कसरी हुन्छ ? सबै आफ्नो आफ्नो स्थानमा बस्नुपर्छ, भगवान् त आफ्नो स्थानमा बस्छन्, हामी त मान्छे हौँ। मान्छेको चाहिँ सबैतिर विज्ञता हुँदैन। अहिले राज्य सत्ताको सारा अङ्गहरू मृत्यु प्राय छन्। जति चिमोट्दा पनि ऐय्या भन्दैन, स्वार्थमा दौडिएका छन्। जनता अब जाग्नुपर्छ। दबाब जनताले दिनुपर्छ।’’
मन्त्री किराँतीले देशका कानुन संशोधन गरी अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले एउटा व्यवसाय दर्ता गराउन सात वटा मन्त्रालय, २२ वटा विभाग र २ सय बढी टेबललाई पैसा गनेर हिँड्नुपर्ने अवस्था रहेको बताउनुभयो। मन्त्री किरातीले नेपालीको रगतरगतमा भ्रष्टाचार रहेको बताउनुभयो।
रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्छ
मन्त्री किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिएर सँगै लैजानुपर्ने बताउनुभएको छ। उहाँले जनताले सबैभन्दा धेरै विश्वास गरेर लामिछानेलाई सबैभन्दा बढी मतले विजयी गराएको भन्दै यस्तो बताउनुभएको हो। उहाँले जनताको विश्वासमाथि सम्मान गर्नुपर्ने बताउनुभयो।
उहाँले जनताले ठूला राजनीतिक दलहरूलाई सच्चिन आग्रह गरेको र सबै मिलेर जान सुझाव दिएको बताउनुभयो। उहाँले नेपालीहरू कोही पनि एक अर्काको शत्रु नभएको भन्दै एकले अर्कोलाई गालीगलौज गरेर अघि नपुगिने बताउनुभयो। उहाँले सबै राजनीतिक दल र नेताहरू गरिबीको विरुद्धमा एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले देश आर्थिक सङ्कटमा रहेकाले सबै पार्टी प्रतिपक्षमा नबस्न आग्रह गर्नुभयो।
उहाँले भन्नुभयो, ‘‘जनताले भनेका छन्, तिमीहरूले होस पुर्याएनौँ भने दिन आउँदैछ, त्यसैले मिलेर जाऔँ। धेरै पार्टीलाई हामीले गाली गरेका छौँ, पानीमाथिको ओभानो बनेका छौँ, अब छोडिदिऔँ। कोही शत्रु होइनौँ हामी, हाम्रो शत्रु हो भने त्यो गरिबी हो। गरिबीको विरुद्धमा एकजुट होऔँ। जो अत्यधिक मतले जितेर आउनुभएको छ, रवि लामिछानेजी उहाँलाई छानेको मन्त्रालय दिएर लैजाऔँ। जनताको विश्वासमाथि सम्मान गरौँ। सबै पार्टी प्रतिपक्षी नबसौँ, देश आर्थिक सङ्कटमा छ, एउटै डुङ्गामा छौँ, प्वाल परेर पानी पसे त डुबिन्छ नि। देश रहे पो पार्टी रहन्छ, झण्डा रहन्छ, देशै नरहे के रहन्छ ? तर हामी यस्तो राजनीतिकरण भएका छौँ, जन्मिँदै झण्डा लिएर जन्मिएको जस्तो।’’