• २६ पुस २०८१, शुक्रबार

ठेकेदार फेरिए, काममा प्रगति भएन

blog

कपिल ज्ञवाली

सिद्धार्थनगर, वैशाख १५ गते । गौतम बुद्ध जन्मस्थल लुम्बिनी जाने भैरहवा–लुम्बिनी हुलाकी राजमार्गअन्तर्गतका दुईवटा पुल विगत नौ वर्षदेखि बन्न सकेका छैनन्। लुम्बिनीका पर्यटन व्यवसायी खिम श्रेष्ठले भन्नुभयो, “लुम्बिनी पुग्ने सडक त फोर लेन र चिल्लो बनाइएको छ तर बाटोमा पर्ने विगत नौ वर्षदेखि अलपत्र छन्। जसका कारण आवतवाजत गर्न निकै सास्ती भोग्नु परिरहेको छ।” 

तिनाउ र दानव नदीमा निर्माणाधीन दुईवटा पुलको प्रगति नै वर्षौँदेखि जहाँको त्यहीँ छ, पुल अलपत्र छन्। पप्पु कन्स्ट्रक्सनले समयमै काम नगरेपछि पुल वरपर निर्माण सामग्री छरपस्ट रहेका छन्। 

पप्पु कन्स्ट्रक्सनले काम गर्न नसकेपछि सरकारले ठेक्का तोडेर रमण डीएलओ इन्फाटेक जेभी ललितपुरसँग ठेक्का सम्झौता गरे पनि पुल निर्माणले भने अझै गति लिन सकेको छैन। पप्पुले यी दुवै पुलबाट साढे पाँच करोड रुपियाँभन्दा बढी भुक्तानी लगिसकेको छ। भुक्तानी लगेर काम बीचमै छाडेर भागेपछि गएको पुस २७ मा उक्त ठेक्का तोडेर रमण डीएलओ इन्फाटेक जेभीसँग सम्झौता भएको थियो। तिनाउ र दानव नदीमा बनिसक्नुपर्ने यी पुलका अहिले पनि दुईवटा पिल्लर मात्र ठड्याएर राखिएको छ। आधा भागमा ढलान गरेर छाडिएको छ। १० करोड ३० लाखमा दुई वर्षभित्र बाँकी काम सम्पन्न गर्ने गरी रमणलाई ठेक्का दिए पनि अहिले यो कम्पनीले पनि कामै अगाडि बढाएको छैन।

पुल निर्माणको ठेक्का लिएको पप्पुले पटक–पटक म्याद थप्दै अलपत्र पार्दै गरेपछि सडक विभागले गत वर्ष पप्पुसँगको सम्झौता तोडेर रमणलाई ठेक्का दिएको हो। पुल बनाउन भन्दै पप्पुले करिब १३ करोडमा ठेक्का सम्झौता गरेको थियो। सम्झौतापश्चात् तिनाउ पुलमा करिब ४० प्रतिशत र दानवमा करिब ३० प्रतिशत काम गरेर पप्पु कन्स्ट्रक्सन भागेको थियो। पप्पुसँग तिनाउ खोलाको पुल निर्माणका लागि छ करोड दुई लाख ५६ हजारमा ठेक्का सम्झौता भएको थियो। त्यसैगरी दानव नदीको डन्डा पुल निर्माणका लागि पाँच करोड ५६ लाख ८० हजार ११५ रुपियाँमा ठेक्का सम्झौता गरिएको थियो। 

हुलाकी सडक आयोजना कपिलवस्तुका प्रमुख विष्णुबाबु पाण्डेले तिनाउ खोला र डन्डा नदीमा पुल निर्माणको काम गर्ने ठेक्का रमण रियल होम इन्फोटेक जेभीले पाएपछि छिटो सम्पन्न गर्न निर्देशन दिएको बताउनुभयो। यो वर्षभित्र तिनाउ पुल सम्पन्न गर्ने र अर्को वर्ष अर्को पुलको काम थाल्ने गरी ठेकेदारले काम गरिरहेको उहाँको दाबी छ। यद्यपि स्थानीय बासिन्दा भने उहाँको कुरामा विश्वास गर्न सक्ने अवस्थामा छैनन्। स्थानीय रमेश चौधरीले भन्नुभयो, “एकातिर पर्यटकले सास्ती पाएका छन्, अर्काेतिर सवारीको लामले स्थानीयले थप हैरानी खेप्नुपरेको छ। अझै पनि समयमै निर्माणको काम सम्पन्न हुने कुरामा विश्वास गर्न सकिने अवस्था छैन।”