• २६ पुस २०८१, शुक्रबार

एउटाले अर्को मानिससँग डराउनुपर्ने अवस्था आयोः उपप्रमुख सुनिता डंगोल

blog

गृहमन्त्रालय अगाडि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल ।

काठमाडौं, वैशाख १४ गते। काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले मानिसले आफू सुरक्षित नभएको महसुस गर्न थालेको बताउनुभएको छ। 

बिहीबार गृहमन्त्रालयमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण प्रयास र काठमाडौंको कपनमा वैशाख ७ गते भएको निरा आचार्यको हत्याको विषयलाई लिएर गृहमन्त्रीको ध्यानाकर्षण गराउन पुग्नुभएकी उहाँले नागरिकले असुरक्षित महसुस गरिरहेको बताउनुभएको हो। 

उहाँले अहिले मानिस एकले अर्कोसँग डराउनुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो। उहाँले ८ दिन बितिसक्दासमेत हत्यारा पत्ता नलाग्नुले जनतामा झनै त्रास बढेको बताउनुभयो। अपराधिक घटनाक्रमलाई रोक्न नेपाल प्रहरीसँग मिलेर काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकामा सीसी क्यामेर जडान गर्ने प्रक्रिया अघि बढाएको पनि बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘अनुसन्धान भइरहेको छ। अनुसन्धानबाट छिट्टै निचोड आउने प्रतिबद्धता पाएका छौँ। कसरी र के भएको हो भन्ने कौतुहलता छ, साथै एक अर्कासँग डराउनुपर्ने त्रासपूर्ण वातावरण बनेको छ। महानगरपालिकाले शान्ति सुरक्षामा प्रहरीसँग नजिकबाट समन्वय गरिरहेका छौँ। महानगरले पनि महानगरभित्र प्रहरीसँग हरेक ठाउँमा सीसी क्यामेरा राख्ने जडान गर्ने भनेका छौँ। घटना भएको आठ दिन बितिसक्दा पनि बाहिर नआउनु हामी सबैका लागि हामी यहाँ सुरक्षित छौँ कि छैनौँ भन्ने प्रश्न आएको छ।’’

उपप्रमुख डंगोलले महानगरपालिका शान्ति सुरक्षाका लागि नेपाल प्रहरीसँग समन्वय गरेर अघि बढेको पनि बताउनुभयो।