• २५ वैशाख २०८१, मङ्गलबार

टोप्काभीरमा ‘फ्ल्याग स्टोन’ बाटो

blog

बलेफी गाउँपालिका –८ टोप्का भीरमा स्टिल रेलिङ, फ्ल्याग स्टोनबाट निर्मित बाटो । तस्बिर : चित्र मिजार

चित्र मिजार

सिन्धुपाल्चोक, बैशाख १४ गते । बलेफी गाउँपालिका –८ बसेरीदेखि टोप्कासम्मको उच्च जोखिमयुक्त भीरमा स्टिल रेलिङसहित फ्ल्याग स्टोन बाटो निर्माण गरिएको छ । बाँदर लड्ने भीरमा स्टिल बाटो बनेपछि स्थानीयहरु हर्षित भएका छन् । 

बागमती प्रदेश सरकारको २५ लाख आर्थिक सहयोग र २० प्रतिशत स्थानीय जनश्रमदानमा साढे चार किलोमिटर गोरेटो बाटो निर्माण भएको छ । नेपाली काँगे्रसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत, काँगे्रसका तर्फबाट बलेफी गाउँपालिकाका अध्यक्षका प्रत्यासी सुवास तिमल्सिनाको बिशेष पहलमा प्रदेश सरकारबाट बजेट प्राप्त भएको थियो । 

टोप्का भीर रेलिङ निर्माण उपभोक्ता समितिद्वारा निर्मित सो बाटोमा प्रदेश सरकार अन्तर्गत (बलेफी गाउँपालिकाबाट) २४ लाख २५ हजार, जनश्रमदानबाट ४ लाख ९२ हजार ६२१ रुपियाँ ८० पैसागरी कूल २९ लाख १७ हजार ६२१ रुपियाँ ८० पैसा लागत रहेको छ । २०७९ पुस १३ बाट बाटो निर्माण शुरु भई २०८० बैशाख ३० गते सम्पन्न हुने अबधि रहेको थियो । 

उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर तिमल्सिनाले उक्त भीरबाट दैनिक दर्जनौं स्थानीय आउजाउ गर्दा ज्यानकै जोखिम हुदैंआएको थियो । तर रेलिङसहितको बाटो निर्माण भएपछि सुरक्षित र ढुक्कसँग आउजाउमा सहजता मिलेको उहाँले खुशी ब्यक्त गर्नुभयो । उक्त बाटोको गुणस्तरबारे बलेफी गाउँपालिकाकी उपाध्यक्ष सरु लामाले अनुगमन गर्नुभएको छ ।

अनुगमनका क्रममा बाटोको गुणस्तर भेटिएको उपाध्यक्ष लामाले जानकारी दिनुभयो । मान्छे हिडन् नसक्ने टोप्का भीरमा बाटो बनेपछि दुई पाङग्रे सवारी साधन समेत आउजाउ गर्न सक्ने भएको छ । बाटो निर्माणले गाँउलेलाई राहत मिलेको स्थानीय जयराम तिमल्सिनाले बताउनुभयो ।  

टोप्काबाट बसेरी आउन भीरको सानो बाटो हिड्नुपर्ने थियो । बषौंअघि सो भीरबाट लडेर यात्रु मर्ने र अङ्गभङ्ग हुनुपरेको स्थानीय तिमल्सिनाले दुखसो पोख्नुभयो । अब रेलिङसहितको चौडा बाटो बनेपछि स्थानीय सुरक्षित र ढुक्कले आउजाउ गरिरहेको उहाँले खुशी ब्यक्त गर्नुभयो । सो बाटो हुँदै टोप्काका बिद्यार्थी बसेरीमा रहेको कालीदेवी आधारभूत बिद्यालयमा अध्यय्न गर्न आउजाउ गर्नेगरेका छन् । बाटो बनेपछि सबैभन्दा बढी बिद्यार्थीलाई लाभ पुगेको छ ।