• १३ वैशाख २०८१, बिहिबार

चट्याङ लागेर छोराको मृत्यु, बाबु–आमा घाइते

blog

फुङ्लिङ, वैशाख १४ गते । ताप्लेजुङमा बुधवार राति परेको चट्याङले लागेर नाबालक छोराको मृत्यु भएको छ भने बाबुआमा घाइते भएका छन् । जिल्लाको मैवाखोला गाउँपालिका –४ साँघु ताम्राङका दार्जिलिङ शेर्पाको घरमा राति करिब ८ः३० बजेतिर परेको चट्याङ लागेर छोरा १० वर्षीय फुर्वादोर्ची शेर्पाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी एवम् प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका बालकको उपचारका लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । यस्तै चट्याङले लागेर ४७ वर्षीय दार्जिलिङ र उहाँकी श्रीमती ४७ वर्षीया निङ्माल्हामु शेर्पा घाइते हुनुभएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार शेर्पा दम्पतीको जिल्ला अस्पताल ताप्लेजुङमा सामान्य अवस्थामा उपचार भइरहेको छ । त्यस्तै बालकको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको र शव परीक्षणको प्रक्रिया पूरा गरेर आफन्तलाई बुझाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।