• १३ असोज २०८१, आइतबार

आलुले बजार नपाउँदा चिन्ता

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, वैशाख १४ गते । रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१३ मा उत्पादित आलुले बजार नपाउँदा किसान चिन्तित बनेका छन् । उत्पादनको हिसाबले उत्कृष्ट मानिएको वडाको काउलेचौर, बाहुनचौरलगायतका स्थानमा उत्पादन भएको आलुले उचित बजार नपाएको किसानको गुनासो छ । 

मुसीकोट नगरपालिका–१३ का आलु उत्पादक किसान कालीकुमारी खड्काले वर्षमा दुई पटक आलु खेती हुने गरेको तर बजार नपाएको बताउनुभयो । “आलुको उत्पादन राम्रो हुन्छ,” खड्काले भन्नुभयो, “उत्पादित आलु बिक्रीका लागि साह्रै समस्या हुने गरेको छ ।” उहाँले एक सिजनमा आफूले मात्र एक सय क्विन्टल आलु उत्पादन गरेको जानकारी दिनुभयो । खड्काले करिब दुई हजार तीन सय वर्गमिटर जग्गामा आलु खेती गरेको जानकारी दिनुभयो । आलु खेती गरेरै घरखर्च र छोराछोरीको पढाइ खर्च जुटाउने गरेको खड्काले उल्लेख गर्नुभयो । 

सोही गाउँका छविलाल खड्काले स्थानीय बजारमा आलु फाटफुट बिक्री हुने गरे तापनि समयमै बिक्री नहुँदा सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएको बताउनुभयो । उहाँले बिउ किन्दा एक क्विन्टललाई पाँच हजार रुपियाँ मूल्य तिर्नु परेको तर बजारमा दुई हजार रुपियाँमा एक क्विन्टल आलु मुस्किलले बिक्री हुने गरेको जानकारी दिनुभयो । उत्पादनका हिसाबले उत्कृष्ट रहेको यस क्षेत्रमा सिँचाइ सुविधा र बजारीकरणको समस्या किसानले वर्षौंदेखि झेल्दै आएको उहाँको भनाइ छ । बजारमा भारतबाट आयातित आलुका कारण स्थानीय उत्पादन बिक्री हुन नसकेको बताइएको छ । गुणस्तर जाँच नभएको सस्तो मूल्यको तरकारी बजारमा पाइने भएकाले गाउँमै उत्पादन भएको आलु कमै बिक्री हुने गरेको किसानको भनाइ छ ।  

उक्त वडामा मात्र व्यावसायिक रूपमा करिब ६० घर किसानले आलु खेती गर्दै आएका छन् । वडामा एक वर्षमा मात्र करिब एक हजार क्विन्टल आलु उत्पादन हुने गरेको वडाध्यक्ष खलबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष आलु उत्पादनका लागि स्थानीय सरकारले बीउमा अनुदान उपलब्ध गराएको थियो । बिउ उत्पादनमा सहयोग गरे तापनि बजारीकरणमा समस्या झेलिरहेको उहाँको भनाइ रहेको छ । यसका लागि तरकारी सङ्कलन केन्द्र र बजारको सुनिश्चितताको जरुरी रहेको वडाध्यक्ष खड्काले बताउनुभयो । किसानका उत्पादन खेर जान नदिन वडामार्फत प्रदेश र सङ्घीय सरकारका प्रतिनिधिको ध्यानाकर्षण गराएको उहाँले जनाउनुभयो ।