लक्ष्मी चौधरी
जनकपुरधाम, वैशाख १३ गते। मधेश प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सञ्चालन गरेको घुम्ती सेवामार्फत् दुई सय जना किसानले माटो परीक्षण गराएका छन्।
मंगलबारदेखि औपचारिक रुपमा सुरु गरिएको माटो परीक्षणमा सर्लाही जिल्लाको हरिवन नगरपालिका दुई सय किसानले माटो परीक्षण गराएका हुन्।
मन्त्रालयले प्रदेशको १३६ वटै पालिकामा घुम्ती सेवामार्फत् माटो परीक्षण गर्न लागेको हो। मन्त्रालय अन्तर्गत रहेका माटो परीक्षण प्रयोगशालाको प्राविधिक टोलीले घुम्ती टेस्ट ल्याबमार्फत् प्रदेशको पालिकाको समन्वयमा पालिकाको विभिन्न स्थानमा पुगेर माटो परीक्षण गर्न लागेको मन्त्रालयले जनाएको छ।
आवश्यकता अनुसार कुनकुन मलखाद कति मात्रामा प्रयोग गर्ने बारे किसानलाई जानकारीका लागि माटो परीक्षण गर्न लागेको मन्त्रालयले जनाएको छ।
माटो तथा मल परीक्षण प्रयोगशाला सप्तरीका प्रमुख सुनिलकुमार सिंहले दुई दिनमा दुई सय जना किसानको माटो परीक्षण भएको जानकारी दिनुभयो। उहाँले यसपछि धनुषाको कृषि ज्ञान केन्द्रको समन्वयमा नगराइन नगरपालिकामा परीक्षण गरिने जानकारीसमेत दिनुभयो।
यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता रोशनकुमार मेहताले प्राविधिक टोलीले प्रदेशका १३६ वटै पालिकामा घुम्ती टेस्ट ल्याबमार्फÞत पालिकाको विभिन्न ठाउँको माटो जाँच गरिने बताउनुभयो।
उहाँले माटो परीक्षण कार्यक्रम पालिकाको समन्वयमा गर्ने समेत जानकारी दिनुभयो। मन्त्रालयले प्राविधिक टोलीसहितको घुम्ती सेवाको व्यवस्था मन्त्रालयले गर्नेछ। माटो परीक्षणको बेला लाग्ने क्यामिकलको खर्च र प्रविधिक टोलीको आवासीय खर्च पालिकाले व्यहोर्नु पर्ने प्रवक्ता मेहताले बताउनुभयो।
सप्तरीको माटो तथा मल परीक्षण प्रयोगशालाको सहयोगमा परीक्षण कार्य सुरु गरिएको मन्त्रालयका प्रवक्ता मेहताले जानकारी दिनुभयो।