• २७ पुस २०८१, शनिबार

रसुवाको लाङटाङमा अझै यातायात पुगेन

blog

नमराज सुवेदी

नुवाकोट, वैशाख १३ गते । रसुवाको लाङटाङ क्षेत्रबाहेक अन्य सबै गाउँमा नियमित बस सेवा सञ्चालनमा आएको छ । गाउँ टोलबाटै बस चल्न थालेपछि स्थानीय बासिन्दालाई आउजाउ गर्न सहज भएको छ । रसुवा घुम्न आउने पर्यटकलाई समेत यात्रा गर्न सहज भएको छ ।

प्रत्येक गाउँटोलमा मोटर बाटो लग्न स्थानीय सरकारले सडक निर्माणलाई पहिलो प्राथमिकता दिएका कारण अहिले रसुवाका गाउँ–गाउँमा बस सेवा सञ्चालन हुन थालेको हो । भौगोलिक विकटताले सबैभन्दा बढी दूरदराज मानिएको यार्साको सिङ्वन्दी, गाङ्मर समेतका स्थानमा सडक निर्माण भएपछि बिरामी अस्पताल जान, खाद्यान्न ढुवानी गराउन, गाउँ ठाउँबाट यात्रा गर्नसमेत सहज भएको स्थानीय हस्त तामाङले बताउनुभयो । 

स्थानीय सरकार गठन भएसँगै सडक मार्ग खोल्न गरिएको प्रयास अन्तर्गत हालसम्म ६४ किलोमिटर सडकको ट्र्याक खोल्ने काम सम्पन्न गरी ठाडो खोलाका पुल निर्माण कार्य गराउन लागिएको नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्वु स्याङ्वो घलेले बताउनुभयो । 

काठमाडौंको बालाजुदेखि रसुवाको सरमथली, यार्सा, भोर्ले, जिवजिवे, कालिकास्थान, डाँडागाउँ, हाकु, मनिगाउँ कर्मिडाँडा, धुञ्चे, गतलाङ, स्याफ्रुबेँसी, चिलिमेको थाम्बुचेत, तातोपानी, थुमन, टिमुरे, बृद्विमसमेतका स्थानमा नियमित बस सेवा सञ्चालन भएको नमस्ते पासाङ ल्हामु बस व्यवसायी यातायात समितिले जनाएको छ । 

अधिकांश सडक कच्ची र कतिपय खोलामा पुल बन्न बाँकी रहेका कारण हिउँदयामको समयमा मात्र बस सेवा सञ्चालन हुने समस्या छ । शेर्पा गाउँ, रिम्चे, लामा होटल, घोडा तबेला हुँदै छड्के छड्के पैदल मार्गबाट लाङटाङ पुगी सहजरूपले यात्रा गर्न सकिने पथप्रदर्शकले बताएका छन् ।