जयमान बुढामगर
रुकुमपूर्व, वैशाख १३ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरले नयाँ शैक्षिक सत्र कक्षा १० को अनिवार्य अङ्ग्रेजी किताबको आवरणमा रुकुमपूर्वको तकगाउँको तस्बिर राखेको छ।
एक ऐतिहासिक एवं परम्परागत कलात्मक बस्तीलाई उजागर तथा प्रचारप्रसार गर्ने उद्देश्यले किताबको आवरणमा दुर्गम गाउँको तस्बिर राखिएको पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरका सूचना अधिकारी डा. बाबुराम ढुङ्गानाले जानकारी दिनुभयो। नेपालका कुनाकुनामा रहेका प्रख्यात ठाउँ र ऐतिहासिकता बोकेका तर ओझेलमा रहेका ठाउँहरूलाई पाठ्यक्रमको आवरणमा केन्द्रले समेट्ने गरेको सूचना अधिकारी ढुङ्गानाले बताउनुभयो।
आन्तरिक तथा बाह्य पर्यटकको मुख्य रोजाइमा तक गाउँ नै पर्ने गरेको पुथाउत्तरगङ्गा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगरले बताउनुभयो। प्राचीनकालदेखि हालसम्म परम्परागत शैलीमै अवस्थित रहेको यी गाउँलाई जोगाइराख्ने अध्यक्ष घर्तीमगरको भनाइ रहेको छ।
यद्यपि पछिल्लो समयमा यी गाउँमा टिन र कङ्क्रिटका घर निर्माण गर्ने क्रम बढ्दै गएको छ। मौलिकता जोगाइराख्ने हाम्रो मात्र नभई सबैको चासो देखिँदै आएकाले नयाँ आर्थिक वर्षदेखि परम्परागत बस्तीलाई जोगाइराख्न प्रोत्साहनका कार्यक्रम ल्याउने अध्यक्ष घर्तीमगरले जानकारी दिनुभयो।
तकगाउँ चार हजार दुई सय मिटर उचाइको लेकाली भू–भागमा अवस्थित रहेको छ। यहाँ सयौँ वर्षअघि निर्मित ढुङ्गा र माटाका घर छन्। एउटै घर जस्तो देखिने मगर जातिको बाहुल्य रहेको जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–१० स्थित तकगाउँ एउटा घरको छत माथिल्लो घरको आँगन जस्तै देखिन्छ।
खेतीयोग्य जमिनलाई साँचेर अलग्गै बसाइएका बाक्ला बस्ती छन्। प्राचीनकालदेखि हालसम्म उस्तै छ, परम्परागत मौलिकता बोकेको ग्रामीण जीवनशैली। कुनै चित्रकारको डिजाइनमा तयार गरिएको एकीकृत बस्तीको ढाँचा जस्तो देखिने गरेको छ।
तकगाउँमा करिब पाँच सय घरधुरी रहेका छन्। गाउँपालिकाको केन्द्रसमेत यही तक गाउँमै छ। तकगाउँस्थित महेन्द्र माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मैत्या घर्तीमगरका अनुसार अमेरिकी मूलका प्रसिद्ध भाषा वैज्ञानिक डेबिड वाटर्सले तकगाउँमै बसेर यस भेगको मगर खाम भाषाको गहन अध्ययन गरी अमेरिकाको ओरेगन विश्वविद्यालयबाट पीएचडीको शैक्षिक उपाधि हासिल गर्नुभएको अध्यक्ष घर्तीमगरले जानकारी दिनुभयो।
प्रख्यात जर्मन मानवशास्त्री माइकल अपिज सन् १९७० को दशकमा सात वर्ष बसाइँ गरी यहाँका झाँक्रीबारे व्यापक खोज अन्वेषण गर्दै विविध शोधग्रन्थ प्रकाशन समेत गर्नुभएको इतिहास रहेको घर्तीमगरको भनाइ रहेको छ। यो गाउँ राणाकाल र पञ्चायतकालमा कहिले डोल्पा त कहिले बागलुङ जिल्लामा समावेश हुँदै आएको थियो। २०२० सालपछि भने यो गाउँ साबिक रुकुम जिल्ला समावेश गरेपछि हाल रुकुमपूर्वमा रहेको छ।