• १७ असार २०८१, सोमबार

सरकार गठनका लागि आह्वान

blog

कास्की समाचारदाता

कास्की, वैशाख १३ गते  ।  गण्डकी प्रदेश सरकारका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले तीन दिनभित्र नयाँ सरकार गठनको दाबी गर्न आह्वान गर्नुभएको छ। प्रदेश प्रमुख गुरुङले सरकार ढलेको पाँच दिनपछि मङ्गलबार सरकार गठनको दाबी पेस गर्न आह्वान गर्नुभएको हो। 

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर वैशाख १४ गते बिहीबार ४ बजेभित्र सरकार गठन गर्नका लागि आह्वान गर्नुभएको छ। शनिबार मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाएपछि उहाँको नेतृत्वको सरकार ढलेको थियो। ६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन ३१ जना भए बहुमत पुग्छ। प्रदेश सभामा नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका सात, एमालेका २२, एकीकृत समाजवादीको एक, राप्रपाका दुई सांसद रहेका छन्। 

अब बन्ने कांग्रेस र माओवादीसहितको गठबन्धन सरकारको पहिलो नेतृत्व कांग्रेसले नै गर्ने भएको छ। पहिलो चरणमा ठूलो दलको नेताका हैसियतमा सुरेन्द्र पाण्डेलाई नै मुख्यमन्त्री नियुक्त गर्न भन्दै शीर्ष तहमै दबाब दिइएको छ।  

सोमबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पहिलो चरणमा सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री हुने सहमति भएको थियो। सरकार गठनका लागि आह्वान भएसँगै कांग्रेसका सुरेन्द्रराज पाण्डेले दाबी पेस गर्नु हुनेछ।  

 मुख्यमन्त्रीले छोडे सरकारी निवास

विश्वासको मत नपाएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी आइतबार घर फर्कनुभएको छ। आइतबार दिउँसो कर्मचारीसँग बिदा भएर उहाँ साँझमा सामान लिएर पोखरा–१३, भद्रकालीस्थित आफ्नै घर फर्कनुभएको छ। 

मुख्यमन्त्री अधिकारी गत माघ ४ गते बिहान ७ बजे सरकारी निवास प्रवेश गर्नुभएको थियो। उहाँ नेपाल कम्युनिष्ट पार्टी माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा पुस २५ मा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। चैत १० गते माओवादीले समर्थन फिर्ता लिएपछि उहाँ अल्पमतमा पर्नुभएको हो। 

उहाँले शनिबार दोस्रो पटक विश्वासको मत लिनुभएको थियो। विश्वासको मत प्राप्त गर्न सक्नुभएन। अधिकारीको पक्षमा २४ मत पर्दा उहाँको विपक्षमा ३५ मत परेको थियो। प्रदेश सभा ६० सदस्यीय छ।