• २७ पुस २०८१, शनिबार

कृषि कर्मले फेरिएको बीनाकुमारीको दैनिकी

blog

कपिल ज्ञवाली

सिद्धार्थनगर, वैशाख १३ गते । वि.सं. २०५६ मा रुपन्देहीको तिलोत्तमामा घरजम गर्नुभएकी बीनाकुमारी पुनले त्यसैबेला जीविकोपार्जनका लागि तीनवटा बङ्गुरपालन सुरु गर्नुभयो । दैनिक गुजारा चलाउन अप्ठ्यारो भएकाले उहाँले बङ्गुर पाल्नुभएको हो । बङ्गुरले उहाँलाई राम्रै आम्दानी दिन थालेपछि उहाँलाइ थप हौसला मिल्यो र जाँगर चल्यो । 

अहिले उहाँको फार्मले वार्षिक लाखौँ रुपियाँ कमाइरहेको छ । मेहनत, धैर्य र आत्मबल भए कृषि र पशुपालनबाट नै लाखौँ आम्दानी गर्न सकिन्छ भन्ने प्रमाणित गर्ने बीनाकुमारी रुपन्देही तिलोत्तमा नगरपालिका–११, भूपू सैनिक टोलमा बस्दै आउनुभएको छ । उहाँले २०७० सालमा विशाल पशुपन्छी तथा कृषि फार्म स्थापना गरी कृषि र पशुपालनबाटै घरमै बसेर वार्षिक लाखौँ रुपियाँ कमाइरहेको सुनाउनुभयो । 

हालसम्म फार्मको संरचना निर्माणमा ३५ देखि ४० लाख रुपियाँ लगानी भएको छ । “सुरुमा त जीविका चलाउनका लागि बङ्गुर पालेँ, पछि तालिम लिएँ, त्यसपछि च्याउ खेती गर्न थालेकी हुँ,” उहाँले भन्नुभयो । पशुपालन फापेपछि बीनालाई बङ्गुरपालन अब व्यावसायिक बनाउनुपर्छ भन्ने लाग्यो र व्यावसायिक कृषि र पशुपालनमा दत्तचित्त भएर लाग्नुभयो ।

अहिले बीनाको फार्ममा बङ्गुर, कुखुरा र च्याउको खेती छ । उहाँले च्याउको खेती भने सिजनल गर्ने गर्नुभएको छ । वार्षिक पाँच हजारभन्दा बढी कुखुरा उत्पादन गर्ने उहाँले वार्षिक छ क्विन्टल च्याउ उत्पादन गर्नुहुन्छ भने अहिले २१ वटा बङ्गुर छन् । १० वर्षपहिले एक संस्थाले आईपीएम तालिम दिएपछि काममा थप सफलता मिलेको उहाँको भनाइ छ । “एक सिजनमा छ क्विन्टलसम्म च्याउ उत्पादन हुन्छ, तीन महिनापछि फेरि कुखुरा राख्छु अनि कुखुरा पनि वार्षिक पाँच हजार उत्पादन हुन्छन्, बिक्रीका लागि कुनै समस्या छैन, घरमै आएर लैजान्छन्,” उहाँले भन्नुभयो । 

छोराछोरीलाई कृषि उद्यम सिकाइँदै 

अहिले छोराछोरी कक्षा १२ र ११ पढ्छन्, श्रीमान्ले च्याउ, कुखुरा र बङ्गुरको बजारीकरण गर्नुभएको उहाँको भनाइ छ । उनीहरू अब विदेश जाँदैनन्, यहीँ उद्यम समातेर अघि बढाउने आफूहरूको सोच रहेको बीनाको भनाइ छ ।

उत्पादन गरेको च्याउ रुपन्देहीबाहेक अर्घाखाँची, गुल्मी, कपिलवस्तु, नवलपरासी, पाल्पामा जाने र बङ्गुर तथा कुखुरा भने रुपन्देहीमै बिक्री हुने गरेको उहाँको भनाइ छ ।

एक सिजनमा च्याउ खेती गरेपछि अरू समयमा यत्तिकै खाली छोड्नुभन्दा त्यसलाई सफा गरेर कुखुरापालन पालेको उहाँको अनुभव छ । जाडोको सिजनमा कुल चार लाख ६५ हजार रुपियाँ लागतमा च्याउ खेतीबाट करिब १२ लाख रुपियाँ आम्दानी गर्न सफल भएको उहाँले बताउनुभयो । त्यस्तै बङ्गुर र कुखुराबाट मात्र छ लाख रुपियाँ आम्दानी भएको गरेको उहाँको भनाइ छ । 

कुखुरापालन गर्न निर्माण गरिएको फार्ममा जाडोको सिजनमा च्याउ खेती र गर्मी समय लागेपछि कुखुरापालन भइरहेको छ । बङ्गुर फार्मसँगै कुखुरा फार्म र बाहिर च्याउको टनेलसमेत निर्माण गरिएको छ । उहाँले भन्नुभयो, “फार्मबाट आउने आम्दानीबाट परिवार राम्रोसँग चलेको छ । यहीबाट मैले बाबु र नानीलाई पढाएँ र घर पनि बनाएकी छु ।” कृषकलाई सरकारले प्राथमिकतामा राखेर केही सहुलियत दिएमा सजिलो हुने बीनाको अपेक्षा छ ।

सर्वोत्कृष्ट उद्यमी घोषणा 

बीनाले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा उत्कृष्ट १० जना उद्यमीमध्येबाट सर्वोत्कृष्ट उद्यमी घोषणा भई एक लाख नगद पुरस्कारसमेत प्राप्त गर्नुभएको हो । 

तिलोत्तमा नगरपालिकामा जारी नगरप्रमुख ग्रामीण उद्यम कार्यक्रमअन्तर्गत तेस्रो चरणको उत्कृष्ट उद्यमीमा बीना उत्कृष्ट उद्यमी बनेर पुरस्कृत हुनुभएको हो । नगरप्रमुख रामकृष्ण खाणले नगरपालिकामा महिलाको इलम, सीप र उद्यमलाई नेतृत्व विकाससँगै उद्यमशीलता तथा आर्थिकोपार्जनका लागि आफूहरूले काम गरिरहेको बताउनुभयो  ।