• २३ पुस २०८१, मङ्गलबार

व्यवसायीले कर नतिर्दा राजस्व असुलीमा समस्या

blog

करदाता सेवा कार्यालय राजविराज, सप्तरी । तस्बिर : ललिता साह

ललिता साह

वोदेवर्साइन (सप्तरी),  वैशाख १२ गते । ठूला व्यवसायीहरू वर्षौँदेखिको राज्यलाई बुझाउनु पर्ने कर नतिरेका कारण राजश्व (कर) सङ्कलनको लक्ष्य प्राप्तिमा समस्या उत्पन्न भएको छ । नियमसंगत व्यवसाय गर्ने तर राज्यले निर्धारण गरेको करको रकम समयमा नतिर्दा राजस्व सङ्कलनमा लक्ष्य पूरागर्न सकस भएको करदाता सेवा कार्यालय राजविराजका निमित्त कार्यालय प्रमुख डिल्लीरमण भट्टराईले बताउनुभयो ।  

सरकारले राजविराज करदाता सेवा कार्यालयलाई चालु आर्थिक वर्षमा ८० करोड राजस्व असुलीको लक्ष्य दिएको छ । “यहाँका ठूला व्यापारीमाथि ३० देखि ५० लाखसम्मको वर्षौँदेखि सरकारको कर तिर्न बक्यौता देखिन्छ । तर जति भने पनि समयमा तिर्दैन” उहाँले भन्नुभयो ।

समयमा कर नतिरेका व्यवसायीलाई कर कार्यालयले पटक–पटक ताकेता गर्दा पनि समयमा राजस्वको रकम बुझाएको अवस्था छैन । उत्पन्न आर्थिक तरलताले आफूलाई बैङ्कको ब्याज तिर्दातिर्दै व्यवसाय धरापमा पर्दैगएको कहाँबाट तत्कालै कर तिर्नु ? व्यवसायीको गुनासो छ । करदाता सेवा कार्यालय राजविराजका निमित्त कार्यालय प्रमुख डिल्लीरमण भट्टराईले  व्यापारीहरूको नियतकै कारण पुस महिनाको टार्गेट पूरा भए पनि पछिल्ला महिनाको यस कार्यालयको मासिक टार्गेट पूरा हुन नसकेको सुनाउनुभयो ।

बैङ्क, भन्सार, सरकारको नियम चारैतिरबाट उद्योगी व्यवसायलाई नै कसी लगाई दिएपछि हाम्रो व्यापार चलेन, अनि कहाँबाट कर तिर्नु उद्योग वाणिज्य सङ्घ सप्तरीका अध्यक्ष लालुप्रसाद अग्रवालले बताउनुभयो ।