• १७ पुस २०८१, बुधबार

कर्णाली सरकारका सय दिन : ६१ निर्देशन, ५५ बुँदे उपलब्धि

blog

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा पुस २७ गते मुख्यमन्त्रीको शपथ लिँदै । फाइल तस्बिर : नवीन शाही

काँक्रेविहार समाचारदाता 

सुर्खेत, वैशाख १२ गते । मुख्यमन्त्री राजकुमार शर्माको नेतृत्वमा सरकार गठन भएको सय दिन पूरा भएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा पुस २७ गते  मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। मुख्यमन्त्री शर्माले पुस २८ गते पहिलो पटक मन्त्रीपरिषद् गठन गर्नुभएको थियो। 

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीका अनुसार सय दिनमा सरकारले ५५ बुँदे उपलब्धि हासिल गरेको छ। मुख्यमन्त्री शर्माले माघ १७ गते सचिवलाई ६१ बुँदे निर्देशन दिनुभएको थियो। यस अवधिमा मन्त्रीपरिषद्का आठवटा बैठकबाट २७ वटा निर्णय भएका छन्। त्यसमध्ये प्रदेश सुशासन नियमावली, एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन नियमावली, प्रदेश औद्योगिक व्यवसाय नियमावली, विपत् जोखिमविरुद्ध सामूहिक दुर्घटना बिमा कार्यक्रम सञ्चालन कार्यविधि र आयोजना सूचना व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका स्वीकृत गरिएको जनाइएको छ।

कर्णाली प्रदेश सडक विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति दिइएको र कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान (स्थापना र सञ्चालन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेश खेलकुद विकास ऐनसम्बन्धी संशोधन विधेयक प्रदेश सभामा पेस गरिएकोलाई पनि सरकारले उपलब्धिका रूपमा प्रस्तुत गरेको छ।

चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमको अर्धवार्षिक समीक्षा गरी पुस्तिका प्रकाशन गरिएको, गत वर्षको तुलनामा वित्तीय तथा भौतिक प्रगतिमा बढोत्तरी भएको दाबी प्रवक्ता जिसीको छ।

मुख्यमन्त्री राजकुमार शर्माले पदभार ग्रहण गर्दै गर्दा वार्षिक १० हजार रोजगारी सिर्जना गर्ने निर्णय गर्नुभएको थियो। सोहीअनुरूप विषयमा अध्ययन गर्न आर्थिक मामिला तथा योजना सचिवको संयोजकत्वमा कार्यदल गठन गरी कर्णाली समृद्धिको मार्गचित्र तयार गर्न जिम्मेवारी दिएको र कार्यदलको प्रतिवेदन तयार भएको उहाँले जानकारी दिनुभयो। 

मुगु र रुकुमपश्चिममा भू–तथा जलाधार व्यवस्थापन कार्यालयको साइट कार्यालय स्थापना गरिएको, मुगुको रारा, रुकुमको खारा, कालीकोटको पिली, पचालझरना र त्रिवेणी पाटनको पर्यापर्यटकीय पूर्वाधार विकासका लागि बहुवर्षीय आयोजना स्वीकृत भई कार्यान्वयन भइरहेको सरकारका उपलब्धिमा उल्लेख छ। दुईवटा टुर एन्ड ट्राभल एजेन्सी, दुईवटा साहसिक पर्यटन र १२ वटा गाइड प्रमाणीकरण गरिएकोलाई पनि सरकारले उपलब्धिमा सूचीकृत गरेको छ।

साना सिँचाइ निर्माण तथा मर्मत सम्भार कार्यक्रम तर्फ ७३२ वटा सिँचाइ योजनामध्ये ५९७ वटा सिँचाइ योजना सम्झौता भई निर्माण भइरहेकोमा १६४ वटा योजना सम्पन्न भई करिब तीन हजार ११६ घरधुरी लाभान्वित भएको जनाइएको छ। एक सय बेरोजगार कृषि प्राविधिकलाई स्वरोजगार कार्यक्रममा समावेश गराएको, पशु स्वास्थ्य सेवा कार्यक्रममार्फत एक लाख आठ हजार चार सय पशुपन्छीको उपचार तथा रोगको निदान गरिएको र नौ लाख २५ हजार पशुपन्छीमा पीपीआर, खोरेत, रानीखेतलगायतका खोप लगाइएको उपलब्धि विवरणमा उल्लेख छ। सडक विकासतर्फ सुर्खेतस्थित शहीद पार्क सडक कालोपत्रे गरिएको छ।