• २२ असार २०८१, शनिबार

कुलो सफाइ नहुँदा खेत बाँझै

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, वैशाख १२ गते । आठबीसकोट नगरपालिका –११ स्थित पहिरोले पुरेको कुलो सफाइ नहुँदा खेतीयोग्य जमिन बाँझै रहेको हो। २०७८ र २०७९ सालको बर्खामा पहिरोले कुलो पुरिएको थियो।

आठबीसकोट नगरपालिका–११ का अध्यक्ष प्रेमबहादुर पुनका अनुसार पहिरोले ११५ हेक्टर खेतीयोग्य जमिन पुरिएको थियो। ती खेतमा समेत पहिरो हटाइएको छैन। घ्यारमखोलादेखि गिजागाडसम्मको १० हेक्टर, गिजागाडदेखि सिमबजारसम्मको ४० हेक्टर, सुवाखोलादेखि चुच्चेडाँडा घुर्सेनी हुँदै चारखोलासम्मको ३५ हेक्टर र भित्रखोलादेखि गत्तासैना चिसापानी हुँदै धनेगौरासम्मको ३० हेक्टर खेतीयोग्य जग्गा पहिरोले पुरिएकै अवस्थामा रहेको बताइन्छ। केही जग्गा २०७८ साल असारको पहिरोले पुरिएको थियो। गतवर्ष पनि ठूलो पहिरो आएर जग्गा पुरिएको वडाध्यक्ष पुनले जानकारी दिनुभयो। पहिरोले पुरिएको तीन सय किसानको खेतीयोग्य जग्गाबाट ढुङ्गा, माटो हटाउन पालिकाले कुनै चासो नदिएको वडाध्यक्ष पुनले बताउनुभयो।

आठबीसकोट नगरपालिका –११ का किसान अमृता चन्दले खेतीयोग्य जग्गा पहिरोका कारण बाँझै छोडिएको छ। गाउँमुनि रहेको उब्जनीयोग्य जग्गा पुरिएको अवस्थामा रहेको शिवबहादुर बटालाले बताउनुभयो। बटालाले पहिरोले क्षति गरेको जग्गाको विवरण सङ्कलन गरी क्षतिपूर्ति र राहत दिइनुपर्ने बताउनुभयो। आठबीसकोट नगरपालिकाका प्रमुख रवी केसीले जग्गा बाँझो नराख्ने पालिकाको नीतिअनुसार योजना बनाएर खेती पुरिएको समस्या समाधान गरिने बताउनुभयो। उहाँले तत्कालीन अवस्थामा पहिरो पन्छाउन नसकिए पनि पहिरोले पुरिएको खेत र खोलाको व्यवस्थापनमा लाग्ने बताउनुभयो।