• २८ पुस २०८१, आइतबार

जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा

blog

अमरराज नहर्की

तनहुँ, वैशाख १२ गते । तनहुँको आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिले छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेका छन्। गाउँकार्यपालिकाको बैठकले यसै शैक्षिक सत्रदेखि अनिवार्य रूपमा सबै जनप्रतिनिधिले आफ्ना सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन गराउनुपर्ने निर्णयलाई कार्यान्वयनमा ल्याएका हुन्।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले दुई जना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरिसक्नुभएको छ। छोरा अनुराग चुमानलाई आँबुखैरेनी गाउँपालिका–२ स्थित अन्नपूर्ण प्राथमिक विद्यालयमा दुई कक्षामा र छोरी अक्षरा चुमानलाई आँबुखैरेनी–३ स्थित रामशाह माध्यमिक विद्यालयमा ७ कक्षामा भर्ना गराइसक्नुभएको छ। अध्यक्ष चुमानका छोराछोरी यसअघि आँबुखैरेनी गाउँपालिका–३ स्थित मस्र्याङ्दी बालज्योति बोर्डिङ स्कुलमा अध्ययन गर्नुहुन्थ्यो । 

सामुदायिक विद्यालयप्रतिको जनविश्वास जगाई शिक्षाको गुणस्तर खस्कन नदिन सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी भर्ना गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो। राज्यले सामुदायिक विद्यालयमा लगानी गरेअनुरूपको प्रतिफल प्राप्त नभएकाले सुधारका लागि दबाब दिन अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय कार्यान्वयन गराउन लागिएको अध्यक्ष चुमानले बताउनुभयो।

चुमानले भन्नुभयो, “शैक्षिक गुणस्तर वृद्धि गर्न र विद्यालयप्रति विश्वास जगाउन यस निर्णयले मद्दत पुग्ने विश्वास लिएका छौँ।” जनप्रतिनिधिका छोराछोरीले सरकारी विद्यालयमा पढ्न थालेपछि खस्कँदै गएको नतिजामा सुधार भई सहज र सुलभ रूपमा पढ्ने वातावरण कायम हुने विश्वास गाउँपालिकाको छ। 

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले भन्नुभयो, “बोर्डिङ स्कुलभन्दा सरकारी विद्यालयको नतिजा राम्रो बनाउन यस्तो निर्णयले सहयोग गर्ने अपेक्षा लिएका छाैँ।” 

सामुदायिक विद्यालयको सुधारका निम्ति सुविधासम्पन्न भौतिक पूर्वाधारको व्यवस्थापन, पूर्ण दरबन्दीको व्यवस्थापन, सिकाइ गुणस्तर अभिवृद्धिलगायतका कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो। यस गाउँपालिकामा ३२ जना जनप्रतिनिधि छन्। पालिकामा ३५ वटा सामुदायिक विद्यालयमा करिब चार हजार तीन सय विद्यार्थी छन्।