• २८ पुस २०८१, आइतबार

बीपी मार्ग स्तरोन्नति हुँदै

blog

घोराही समाचारदाता 

घोराही, वैशाख ११ गते। दाङको पहाडी विकट बस्ती हाँसीपुर हुँदै प्रदेश राजधानी जोड्ने बीपी मार्गअन्तर्गत सिमलतारा–मूलाबारी–हाँसीपुर–बाङ्गेसाल सडक स्तरोन्नतिको काम सुरु भएको छ। बीपी मार्गअन्तर्गत घोराही उपमहानगरपालिका–१ को सिमलतारादेखि बङ्गलाचुली गाउँपालिकाको हाँसीपुरसम्मको सडक स्तरोन्नतिको काम अघि बढेको हो ।

जिल्लाका विभिन्न ठाउँमा सडक निर्माण तथा विस्तारका कामहरू अघि बढ्न नसकेको अवस्थामा सिमलतारा–मूलाबारी–हाँसीपुर–बाङ्गेसाल सडकखण्डअन्तर्गतको १७ किलोमिटर सडक निर्माणको काम भने सन्तोषजनक रूपमा अघि बढेको प्रदेश सडक पूर्वाधार कार्यालय दाङले जनाएको छ । सडक विस्तारसँगै नाला, पर्खाल निर्माण, खोलामा कल्भर्ट निर्माणसँगै ग्राभेल गर्ने काम भइरहेको प्रदेश सडक पूर्वाधार कार्यालय दाङका प्राविधिक लीलाधर गिरीले जानकारी दिनुभयो। 

सडक निर्माणले जिल्लाको मूलाबारी, हाँसीपुरलगायतका बस्तीका स्थानीयलाई सहजतासँगै दाङ उपत्यकालाई देउखुरीको भालुवाङमा रहेको लुम्बिनी प्रदेशको राजधानी जोड्ने वैकल्पिक मार्गका रूपमा समेत लिने गरिन्छ । यसले गर्दा पनि प्रदेश सरकारले उक्त सडकखण्डलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । 

सडक निर्माणको काम अहिलेसम्म करिब ३० प्रतिशत सकिएको कार्यालयका प्राविधिक गिरीले बताउनुभयो। दुई वर्षभित्र १७ किलोमिटर सडकको नालासहित स्तरोन्नति गर्न २०७९ असार १४ गते वाइला एन्ड लामा तिरुपाते सिद्धान्त जेभीसँग सम्झौता भएको थियो । सम्झौताअनुसार काम गर्न अझै एक वर्षको अवधि रहेको छ। ३२ करोड ८९ लाख २९ हजार ६२७ रुपियाँमा टेन्डर आह्वान भएकोमा निर्माण कम्पनीसँग २७ करोड ७० लाख ६५ हजार ३४३ रुपियाँमा सम्झौता भएको थियो। 

खोलाहरूमा कल्भर्ट नहुँदा हिउँदमा गाडी चल्ने गरे पनि वर्षाको समयमा पानीले बाटो बिगार्दा सवारीका साधनहरू नचल्दा स्थानीयलाई हिँड्नुपर्ने बाध्यता थियो । सडकको विस्तारसँगै खोलाहरूमा कल्भर्ट निर्माण भएपछि ठूलो पानी पर्दासमेत स्थानीयलाई सिमलतारा–मूलाबारी–हाँसीपुर सडकखण्डमा हिँडडुल गर्न सहज हुने मूलाबारी निवासी स्थानीय लालबहादुर घर्तीमगरले बताउनुभयो। 

जङ्गलको ठाउँमा धेरै खोला तथा नालाहरू हुने र पानी पर्दा खोलाले छेक्ने जोखिम भएकाले विद्यार्थीलाई पढ्न जानसमेत समस्या हुने गरेको भन्दै उहाँले अब स्थानीयसँगै विद्यार्थीलाई समेत सहजता हुने बताउनुभयो।