काठमाडौं, वैशाख १० गते । कीर्तिपुर नगरपालिका –४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ । मोटरसाइकल दुर्घटनामा परी सख्त घाइते हुनुभएका उहाँको आज उपचारका क्रममा निधन भएको नगर उपप्रमुख शुभलक्ष्मी शाक्यले जानकारी दिनुभयो ।
अधिकारी वैशाख १ गते वडा नं –४ स्थित चम्पादेवी मेलामा सरिक हुन जाँदैगर्दा बा८३प ९४४८ नम्बरको मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभएको थियो । उहाँ चढेको मोटरसाइकल पुष्पलाल उद्यान नजिक दुर्घटना भएको थियो ।
टाउकोमा गम्भीर चोट लागेका वडाध्यक्ष अधिकारीलाई उपचारका लागि माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरिएको थियो । उहाँ गत वर्ष वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित हुनुभएको थियो । रासस