• २२ पुस २०८१, सोमबार

एथ्लेटिक्स सेन्थेटिक ट्रयाकको शिलान्यास

blog

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ एथ्लेटिक्स सेन्थेटिक ट्रयाकको शिलान्यास गर्नुहुँदै । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, बैशाख १० गते । नेपालगञ्ज रङ्गशालामा अन्तर्राष्ट्रिय मापदण्डको एथ्लेटिक्स सेन्थेटिक ट्र्याकको शिलान्यास भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले आइतबार शिलान्यास गर्नुभएको एथ्लेटिक्स ट्याक १० महिनाभित्र निर्माण सम्पन्न हुनेगरी सम्झौता भएको छ । 

११ करोड ६४ लाख रुपियाँमा ट्याक निर्माणको जिम्मेवारी प्रतीक्षा कन्स्ट्रक्सन प्रालिले पाएको छ । एथ्लेटिक्स ट्र्याकको शिलान्यास गर्दै सदस्यसचिव घिसिङले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समयमा नेपालगञ्ज रङ्गशालामा खेलकुदका आधुनिक संरचना निर्माण गरिएको भए पनि अपूर्ण रहेकाले रङ्गशालालाई पूर्णता दिन लागिएको बताउनुभयो ।

“कुनै पनि रङ्गशालामा सेन्थेटिस ट्र्याकको निर्माण अनिवार्य छ, सदस्यसचिव घिसिङले भन्नुभयो, “सबै हिसाबले नेपालगञ्ज रङ्गशालालाई पूर्णता दिने योजनाअनुसार बजेट विनियोजन भई काम सुरु भएको छ ।” 

एथ्लेटिक्समा बाँके र लुम्बिनी प्रदेशले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गरेको उत्कृष्ट प्रदर्शनको सम्मान गर्दै सरकारले ट्याक निर्माण गर्न लागेको उहाँको भनाइ छ । एथ्लेटिक्स ट्याक निर्माण भएपछि खेलाडीले अन्तर्राष्ट्रियस्तरको ट्र्याकमा तयारी गर्न पाउने भएकाले उत्कृष्ट प्रदर्शनका लागि सहज हुने सदस्यसचिव घिसिङको भनाइ छ । 

राजधानी बाहिर पोखरा र दाङको बेलझुण्डीपछि नेपालगञ्जमा अन्तर्राष्ट्रियस्तरको सेन्थेटिक ट्र्याकको निर्माण सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्दले एथ्लेटिक्सको उर्वराभूमिको रूपमा रहेको नेपालगञ्जमा एथ्लेटिक्स सेन्थेटिक ट्याक बनेपछि यहाँका खेलाडीले नियमित अभ्यास गर्न पाउने भएकाले थप सफलता प्राप्त गर्ने विश्वास रहेको बताउनुभयो ।