• २२ पुस २०८१, सोमबार

सरसफाइ प्रतियोगिता सुरु

blog

विशेष स्वच्छता अभियान ‘क्लिन अप प्रिमियर लिग २०२३’ मा सहभागीहरू ।

काठमाडौँ, वैशाख १० गते । सुन्दर, स्वच्छ र हरियाली राष्ट्रको कल्पनासहित विशेष स्वच्छता अभियान ‘क्लिन अप प्रिमियर लिग २०२३’ सुरु भएको छ । विश्व पृथ्वी दिवसको सन्दर्भ पारेर सो लिगको शुभारम्भ गरिएको हो ।

नयाँ पुस्तामा पुरातात्विक सम्पदा क्षेत्रको सरसफाइ तथा वातावरण र पर्यावरणप्रति सचेतना जगाउने मूल उद्देश्यसहित शनिबार राजधानीमा कार्यक्रमको आयोजना गरी सो प्रिमियर लिगको शुभारम्भ गरियो । मिस नेपाल वल्र्ड प्रियाङ्कारानी जोशीले सो लिगको शुभारम्भ गर्नुभयो ।

लिगको शुभारम्भ गर्दै उहाँले कुनै सहर विशेषलाई मात्र नभई सिङ्गै मुलुकलाई नै सरसफाइ गर्ने अभियान सञ्चालन गर्नुपर्ने आवश्कता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “आज हामी गाउँघर सहर सफा राख्छौँ । वातावरण जोगाउँछौँ भने हाम्रा सन्ततीले त्यसको सिको गर्छन् र भविष्यमा हामीले सरसफाइ अभियान र लिगको आयोजना गरिरहनु पर्दैन ।” नेपाल टेलिकम र मैनादेवी फाउन्डेसनको संयुक्त आयोजनामा उक्त लिगको आयोजना गरिएको हो । सो अवसरमा नेपाल टेलिकम र भद्रकाली क्षेत्रमा परिक्रमासमेत गरिएको थियो ।

नेपाल टेलिकमका प्रबन्धक रिना डङ्गोलले ‘म बदलिन्छु अनि मेरो देश बदलिन्छ’ भन्ने नारासहित आयोजना गरिएको सरसफाइसम्बन्धी यस लिगले काठमाडौँलाई सफा सुन्दर बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । मैनादेवी फाउन्डेसनका संयोजक केपी खनालले सरसफाइको नयाँ अवधारणासहित सुरु गरिएको यो लिगको समापन विश्व वातावरण दिवसको दिन गरिने जानकारी दिनुभयो ।

कुनै सहर विशेषलाई मात्र नभई सिङ्गै मुलुकलाई नै सरसफाइ गर्ने अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता

उहाँका अनुसार यस लिगअन्तर्गत राजधानीका १५ वटा कलेजका विद्यार्थीको संलग्नतामा हरेक हप्ताको शुक्रबार र शनिबार विभिन्न सम्पदा क्षेत्रहरूमा सरसफाइ कार्यक्रमको आयोजना गरिनेछ । सरसफाइ गरेका आधारमा सहभागी कलेजलाई हरेक हप्ता अङ्क प्रदान गरिनेछ । जेठ २२ गतेसम्म सरसफाइ कार्यक्रम निरन्तर चलिरहनेछ ।

अन्तिम हप्तासम्ममा सबैभन्दा बढी अङ्क ल्याउने कलेजमध्ये प्रथम, द्वितीय र तृतीयलाई क्रमशः एक लाख, पचास हजार र पच्चीस हजार रुपियाँ नगदसहित पुरस्कृत तथा सम्मानित गरिनेछ । वातावरण दिवसको अवसरमा आयोजना गरिने कार्यक्रममा पुरस्कृत र सम्मानित गरिनेछ । यस वर्ष जेठ २२ गते विश्व वातावरण दिवस परेको छ ।