• १३ मंसिर २०८१, बिहिबार

पाल्पा बस दुर्घटना अपडेट

एकको मृत्यु, घाइतेहरूको सङ्ख्या ३६ पुग्यो

blog

घाइतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार गरिंदै । तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, बैशाख १० गते । सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ –५, जोरधारा नजिकै भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही जिल्ला देवदह –३, का ३५ वर्षीया राधिका पौडेल रहनुभएको छ । पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी ३६ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । घाइते हुनेमा बालबालिका पनि रहेको उहाँले बताउनुभयो । 

घाइते सबैको तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । घाइतेलाई प्रहरी, सेना, स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरिएको छ । आइतबार बिहान बुटवलबाट पाल्पा हुँदै बाग्लुङको बुर्तिबाङ् हिँडेको लु १ ख ५९५६ नम्बरको बस बिहान ९:१५ बजेतिर दुर्घटनामा परेको स्थानीय बासिन्दाले बताएका छन् । बस सडकदेखि ८० मिटर तल खसेको थियो ।