• २३ वैशाख २०८१, आइतबार

अक्षय तृतीया पर्व मनाइँदै, पशुपतिमा दर्शनार्थीको भीड

blog

अक्षय तृतीयामा पशुपतिमा दर्शनार्थीको भीड । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, वैशाख १० गते । आज अक्षय तृतीया । हरेक वर्ष वैशाख शुक्ल तृतीयाका दिन यो पर्व मनाइन्छ । जौ र चनाको सातु एवम् चिसो पानीको सर्बत ख्वाइँदै अक्षय तृतीया पर्व मनाउने गरिन्छ ।

काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि आज (आइतबार) दर्शनार्थीहरुको पूजा आराधना र दीनदुःखीहरूलाई विभिन्न अन्न, वस्त्र आदि दान गर्नेहरूको भीड लागेको छ । आजकै दिन महादेव र देवी पार्वतीको विवाह भएको शास्त्रोक्त कथन छ । अक्षय तृतीया पर्वमा सर्बत खाँदा र खुवाउँदा पुण्यप्राप्त हुने जनविश्वास छ ।


यस पर्वको वर्णन भविष्य पुराणमा उल्लेख छ । अक्षय तृतीयामा ब्राह्मण, कुलपुरोहित तथा गरिबलाई स्वर्ण (सुन), शीतल खाद्य परिकार र वस्त्र दान गर्दा अन्न भण्डार कहिल्यै खालि नहुने कथन रही आएको छ । अक्षय तृतीया पर्वलाई सुख र समृद्धिको प्रतीक मानिन्छ । यो पर्वले गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने हुँदा शरीरमा चिनीको मात्रा सन्तुलन राख्न सख्खर र चिनीमा बनाइएको शीतल सर्बत र पुष्टिवर्द्धक अन्न जौ र चनाको सातु खाने परम्परा छ ।