• ९ मंसिर २०८१, आइतबार

आर्यपुरुषको पदचाप

blog

कन्ट्री भिल्लाको आगनमा झरिरहेको बरफको साम्राज्य विचित्र ढङ्गले फैलिँदै थियो । जसले सडक, घरका छाना र आँगन पूरै सेतो बनाउँदै थियो । वर्षको एक पटक यस दिनको व्यग्र प्रतीक्षामा हुन्छन् कालिञ्चोकवासी । किनकी हिउँ खेल्न आउने पर्यटकले भरिन्छ कुरी भिलेज र सञ्चार हुन्छ एउटा जीवन । स्विजरल्यान्डको झल्को मेटाउने कुरीमा यतिबेला हिमपात सुरु भइसकेको छ र भरिभराउ भएका छन् कुरीका होटेलहरू । प्रत्येक घर र होटेलमा सल्लाका दाउरा बल्न थालेका छन् । चारैतिर सङ्गीत गुञ्जिएको छ । कोदोको तोंवा, र चाँैरीको सेकुवा सबैको प्रिय भोजन बनिरहेको छ । क्याम फायर, सङ्गीत र तोंवामा युवायुवतीको मोह अलि बढी नै देखिन्छ । मेरो नजिकै छ आँखा डाक्टरहरूको एउटा समूह र उनीहरू नजिकैको एउटा टेबलमा छु म । उनीहरू मजाले रक्सी र चुरोट पिइरहेका छन् र उडाइरहेका छन् आफ्नै डाक्टरी जीवनको मजाक । म एउटा टेबलमा एक्लै छु र खोजिरहेकी छु आफैँभित्र हराएको शान्ति । 

त्यही समूहको एउटा डाक्टर घरिघरि मलाई हेरिरहेको छ । उसले हेर्दा म उसलाई नहेरेको बाहना गरिरहेकी छु । वास्तवमा मलाई हेरिरहनु पनि छैन । म कसैसँग परिचय गर्र्ने मुडमा नै थिइनँ । तर मलाई डाक्रहरूको त्यो रोमान्स खुब रमाइलो लागिरहेको छ । 

–हामी प्यासेन्टहरूलाई रक्सी नखा भन्छौँ, चुरोट हानिकारक हो भन्छौँ तर के हामीले खान छोडेका छाँै र ? कुनै कुराको प्रसङ्गमा एउटा डाक्टर भनिरहेको थियो । उनीहरूको यस्तो कुरा सुनेर मलाई खुब हाँसो उठ्यो । म जोडले हाँसेको देखेर उक्त डाक्टरका आँखाले फेरि मलाई हेरे । जसले मलाई घरिघरि हेरिरहेको थियो । मैले हाँसो रोकेँ र सामान्य हुन खोजँे । उसका आँखा आफ्नै समूहमा फर्किए ।

वास्तवमा खुसी, जीवनको आदर्श र अनुशासनभन्दा धेरै फरक चिज रहेछ । जसको खोजीमा भौँतारिइरहेका थिए ती डाक्टरहरू । भौँतारिएकै थिएँ म र भौँतारिँदै थिए त्यहाँ पुगेका सबै सबै मानिसहरू । 

पीडा र वेदनाको निर्वासनका लागि मान्छेले पाखण्डलाई बिर्सिनु आवश्यक रहेछ । सायद त्यही पाखण्डको अन्त्य गर्न सकिरहेका थिएनौँ हामी सबै या फेरि पाखण्डको अर्को उजागर खोजिरहेका थियौँ रक्सीको नशामा । उमङ्ग, उत्साह, उदासी र उत्खनन या फेरि मोक्षयात्रा, आत्मा निरीक्षण गर्ने हो भने यी सबै तìव त्यहाँ उपस्थित सबैसँग समावेश थिए । सङ्गीत चलिरहेकै थियो । आँखामा आँखा जोडेर युवा युवतीहरूको जीवनले उच्चतम आनन्दको उत्सर्ग मनाइरहेको थियो । तर म भीडहरूमा एकान्त थिएँ । सायद मेरो रुचि ती गतिविधिभन्दा निकै पर पुगिरहेको थियो । 

डाक्टर समूहको उदण्डता बढ्दै गइरहेको थियो । नशाले उनीहरूलाई डाक्टर हुन् भन्न छोडिसकेको थियो । अब एकलै त्यहाँ बसिरहनु उपयुक्त थिएन । म उठेँ र आफ्नो कोठातिर गएँ । वेटरले बारको टेबलमा मैले पिइरहेको स्कचको बोटल र गिलास मेरो रुममै ल्याइदियो । दस वर्ष पुरानो भनिएको ह्वाइट एन्ड मेक्कीको बोटलभित्र रहेको स्कचका घुटसँगै मैले आफ्ना जीवनका तथाकथित घुटहरूलाई केहीबेर पिउन थालेँ । हुन त म जान्दथे यी तथाकथित घुटको वर्तमान जीवनमा कुनै तालमेल छैन । जीवनको सङ्घर्ष जीवनकै गर्तमा दबिएर समाप्त भइसकेपछि बाँकी रहेको समय, त्यसैले जन्माएर छोडेका अप्राप्तिहरूमा परिणत हुँदै थिए । तर आज मलाई यी सब कुराको चिन्ता गर्नु नै छैन । म हातको गिलास रित्याउँछु र हिटर बालेर विस्तारामा पल्टिन खोज्छु । विस्तारा निकै चिसो लाग्छ । तात्नका लागि केही समय पर्खिनु पर्ने भयो । 

म उठेर पुनः कुर्सीमा बस्छु र गिलासमा एक पेग थप्छु ।

आज जून उदायो होला कि नाइ ? मलाई अकस्मात् आकाशका ताराहरूको सम्झना हुन्छ । तारासँगै त्यो अर्ध चन्द्रमाको याद आउँछ र याद आउँछ एउटा आर्यपुरुषको किनकि तारापुञ्जको बीचमा आधा हुँदै गरेको चन्द्रमा र त्यो आर्यपुरुषको जीवन मलाई उस्तै लाग्थ्यो । दुवै दूर दुवै अप्राप्य तर एउटा विशिष्टि अनुभूति, विशिष्ट कनेक्सन । साँच्चै भन्ने हो भने मलाई कहिल्यै मन नपर्ने उसले भिर्ने गरेको जनै पनि प्रिय लाग्न थालेको थियो किनकि त्यो एउटा विशिष्ट वस्त्र थियो । शरीर नढाकिने उक्त वस्त्रको जैविक आयतन कति थियो त्यो भने मलाई थाह थिएन ।

बाहिर बेजोड हिमपात भइरहेको थियो र यो रातमा ताराहहरू लुकेका थिए । मलाई मेरो आर्यपुरुषको अनुहार त्यतै कतै लुकेकोे अनुभूति भइरहेको थियो ।

मनमा कल्पना हुन्छ, आकाशमा ढकमक्क भरिएका ताराहरूको बीचमा चम्किरहेको त्यो आधा चन्द्रमा र अनुभूत हुन्छ उही आर्यपुरुष । देख्छु सारा कठिनाइहरूका उकालो उक्लिँदै मेरो मरुस्थल जीवनतिर लम्किरहेका उनका कोमल पाइलाहरू । मेरो प्रेमको परिभाषामा लेख्नै पर्ने यदि केही छ भने त्यो उनको पाइलाहरू नै हो । जस्तै काँडाहरू बीच पनि सजिलै हिँड्न सक्ने जोखिम कमै पाइतालाहरूले उठाउँछन् र त्यो जोखिम उनकै पाइतालाहरूले मात्र उठाउन सक्थे । त्यस कारण पनि मेरो उनीसँगभन्दा बढी उनका पाइतालाहरूसँग प्रेम बसेको थियो । खुला आकाशमुनिको संसारमा उनको हिँडाइको रोमान्सका अगाडि जीवनका बाँकी सबै रोमान्सहरू फिका लाग्थे मलाई । यस्तै कल्पनाहरूलाई हृदयको अँगालोमा समेटेर भुसुक्क निदाउन खोज्छु म ।

–ए उठ्, कति सुतेको ? तँ यहाँ सुत्नकै लागि आएकी होस् ? जुरुक्क उठी हाल् ।

एउटा नमीठो आवाजले मेरो निन्द्रा भङ्ग गरिदिन्छ । झिमझिम गर्दै मेरा आँखाका ढकनी उघ्रिन्छन् । टाउको र खुट्टा दुवै ढाकिएको सिरक उचालेर मैले एक पटक लामो स्वास लिन्छु । अनि थाह हुन्छ कन्ट्रिभिल्लाको रुम नम्बर २०१ को आँखीझ्यालमा पर्दा लागेको रहेनछ किनकि बाहिर बलिरहेको बत्तीको उज्यालो कोठाभित्र छिर्ने प्रयत्न गरिरहेको थियो । यो देखेपछि मेरा दुवै आँखा झ्यालबाहिर निस्कने प्रयास गर्न थाले । 

आखिर कसले उठायो होला यो मध्यरातमा मलाई । बाहिर कोही छ कि ? कुनै सपना देखिएको पनि त थिएन । तँलाई यहाँ सुत्न बोलाएको होइन रे, आखिर कसको हिम्मत भयो होला मलाई यस्तो भन्ने ? म नै भुतभुताउँदै उठेँ र चारैतिर कान थापँे ।

कुरी भिलेजमा गुञ्जिएको साँझको सङ्गीत सबै बन्द भइसकेका थिए । माइनस छ डिग्रीको चिसोमा पृथ्वी सेलाइसकेको थियो । त्यही पृथ्वीको एउटा कुनामा बिछ्याइएको एउटा बिछ्यौनामा केही समयदेखि विश्राम गर्दै आएकी थिएँ म । यसअघि त कसैले पनि मलाई यसरी उठ् भनेको थिएन । हजार दुःखहरू थिए । सङ्घर्षहरू थिए । थकान र निन्द्रा दुवै थिए मसँग । फेरि पनि मलाई तँ उठ् भन्ने कोही थिएन । यसैबीचमा जन्मिएको थियो एउटा अशान्ति । जसलाई शान्त पार्न म यहाँ आइपुगेकी थिएँ ।

पर्दा उघारिएको आँखीङ्झ्यालबाट एक पटक बाहिर हेर्छु । बरफको झरीले कुरी भिलेजलाई निर्ममता पूर्वक चुटिरहेको थियो । एक पटक कोठाबाट बाहिर निस्कन मन लागे पनि म पुनः सिरक भित्रै गुटमुटिन्छु । चिसो यति थियो कि उठेर बाहिर जाने आँट मैले गरिनँ ।

–यहाँ तलाई सुत्न बोलाएको होइन रे । उफ् कसले भन्न सक्छ यस्तो ! के म कसैले बोलाएर यहाँ आएकी हुँ ? त्यस्तो त लाग्दैन । आफ्नै असन्तुष्टिहरूका बीचबाट उठेर म यहाँ आएकी थिएँ । त्यो दिव्य शान्तिको सहर यतै कतै छ कि भन्ने लागेको थियो । पहाडमा शान्ति हुन्छ । अझ हिमालमा हुन्छ दिव्य शान्ति । आफ्ना सपनाहरूसँग बाँच्नु छ भने एक्लै यात्रा गर र जिन्दगीलाई बोध गर । एक दिन सुटुक्क भनेको थियो आफ्नै हृदयले र म यहाँ आइपुगेकी थिएँ । तर यहाँ त मध्यरातमा राम्ररी सुत्न पनि पाइएन । यस्तो ठाउँमा समय खर्चिएर केको शान्ति मिल्छ खै । भोलि त बिहानै बाटो लाग्नु उचित होला । यस्तै सोचेर म निदाउने प्रयास गर्छु । 

–सुनिनस् तैँले, उठ भनेको, उठेर हिँडी हाल ! 

मेरो निदाउने प्रयास फेरि भङ्ग हुन्छ । उही आवाज मेरो मथिङ्गलमा पुनः गुञ्जिएर जान्छ । त्यो आवाज भौतिक थियो कि अभौतिक म छुट्याउन सक्दिनँ । बस मस्तिष्क गुञ्जयमान भइरहन्छ ।

यो त अति भयो । यो मध्यरातमा कसले यस्तो गर्न सक्छ ? को हो मलाई सुत्न नदिने । म भुतभुताउँदै बाहिर निस्किन्छु र वरपर हेर्न थाल्छु । त्यहाँ कोही देख्दिनँ । एक पटक आकाशतिर हेर्छु । आकाश कालो बादलले झन्झन् ढाकिँदै थियो । जसले रातभर हिउँ पर्ने सङ्केत गरिरहेको थियो । सडकका पोलमा बलिरहेका बत्तीबाहेक अरू सबै शान्त थिए । बत्तीको उज्यालोमा हिउँ खसिरहेको प्रस्टै देखिएको थियो । तर यो मध्यरात्रिमा खसिरहेको हिउँसँग केको मोह ? म ओछ्यानमै गएर घुस्रिन्छु । 

–स¥याक स¥याक । पट्याक पट्याक । मिलमिल निदाउन लागेको बेला फेरि अर्को आवाज गुन्जिन्छ ।

यो मध्यरातमा को हिँडिरहेको होला ? के यसैले हो मलाई अघिदेखि उठाएको ? के भाेिल उज्यालो हुँदैन ? यो रात्रिमा केको ङ्यार ङ्यार होला । मलाई मनमनै साह्रो रिस उठ्छ ।

–फेरि स¥याक स¥याक फेरि हिँडेको आवाज । उफ् यो त अति भयो । यसरी मध्यरातमा डिस्टर्व गर्ने ? यहाँका मान्छेहरू के भएका ? के यो आवाज कसैले सुनेनन् ? कि यिनीहरूलाई बानी परेको छ ?

–को हो हँ, यो बाहिर हिँडिरहने ? म कोठाभित्रैबाट कराउँछु । एकछिन वातावरण शान्त हुन्छ ।

–एक पटक बाहिर आउनुस् न । उसले विनम्र भएर भन्छ । 

–किन आउने म बाहिर ? किन डिस्टर्ब गरेको यसरी ? म भित्रैबाट कराउँछु । लाग्छ ती जँड्याहा आँखा डाक्टरहरूमध्ये कोही एक हो ।

–ठिकै छ नआउने भए त के जबरजस्ती गर्नु र ! यति भनेर ऊ पुनः हिँड्न थाल्छ । ऊ हिँडेको आवाज मेरो कानमा ठोक्किइरहन्छ । निकै बेरसम्म उसको हिँडाइको आवाज बन्द हुँदैन । एक पटक होटेलको काउन्टरमा फोन लगाउँछु । फोन उठ्दैन ।

–यस्तो हिउँ परेको रात्रिमा यतिका समय यसरी हिँडिरहने आखिर को होला ?

अब भने मन नलागी नलागी म उठ्न बाध्य हुन्छु । आँखीझ्यालको पर्दा अलिकति उघारेर बाहिर हेर्छु । मेरो आँखा बाहिर उभिइरहेका एक जोड पाइतालामा ठोकिन्छन् । मैले थप नियालेर हेर्छु । उसको खुट्टामा देखिएका रौँहरूले ऊ आर्यपुरुष हो भन्ने कुरा प्रष्ट हुन्छ । ती गोडाहरू मलाई चिने जस्तो लाग्छ । चिनेजस्तो मात्रै होइन परिचित र प्रिय अनुभव हुन्छ । कहीँ न कहीँ म ती पाइतालाहरूसँग नजिक छुजस्तो लाग्छ । यो चिसोमा पनि उसले घँुडासम्म टाउजर खुम्च्याएर किन लगाएको होला ? त्यस्तो चिसोमा खाली खुट्टा उभिएका ती एक जोड गोडाले मलाई पूरै नियन्त्रणमा लिन्छन् । 

अब नजिकै राखेको ज्याकेट भिरेर म बाहिर निस्किन्छु ।

बाहिर निस्किनासाथ ती पाइतालाहरू अगाडि बढ्न थाल्छन् । कन्ट्रिभिल्लाको आँगन, सडक हुँदै कालिञ्चोक भगवतीको मन्दिरको उकालो उक्लिन सुरु गर्छन् । म तिनै पाइतालाले च्याप्प हात समातेर तानेजस्तै तानिँदै जान्छु । 

को होला यो पूर्वकालीन मेरो कल्पनाको प्रेमीजस्तो आर्यपुरुष । यो लोकमा एकाएक कसरी हाजिर भयो उसको अवतार ? उसको अवतार मात्र होइन, मलाई सबैभन्दा बढी मन पर्र्नेे उसका गोडाहरू मात्र किन देखिरहेछु म ? जसलाई सम्झेर आज पनि आत्मविभोर भइरहन्छ मेरो आत्मा । मेरो आशक्ति त मेरै हो तर यो उसैको छायाजस्तो मानिस को हो ? जसका पाइलाहरूले मलाई यो बरफिलो रात्रिमा उकालो यात्रा गराउँदै लगेको छ ? म आफैँलाई सोध्छु र उसको पछिपछि हिँडिरहन्छु ।

–कुनै दिन तिमीले भनेकी थियौ नि, मलाई तिम्रा यी पाउहरू देऊ म तिमीलाई मेरो जीवनको सम्पूर्ण जवानी अर्पण गरिदिन्छु । केही माथि पुगेपछि उसले अनुहार नदेखाई भन्छ । म उसले भनेको सम्झिन खोज्छु ।

–सायद भनेकी थिएँ होला तर त्यो मेरो प्रेमी थियो । 

–हो म तिम्रो त्यही प्रेमी हुँ, आज म तिमीले अर्पण गरेको त्यही प्रेम माग्न आएको हुँ ? के तिमीले मलाई त्यो सब दिन सक्छेऊ ?

–यो कसरी सम्भव छ ? यो कथा धेरै पुरानो भइसक्यो ।

–कथा त पुरानो भयो तर मसँग जोडिएको तिम्रो आत्मा अझै उस्तै छ । मेरा पाइतालाहरूलाई तिम्रो प्रेमले बन्दी बनाएको छ । हिँड्न खोज्दा सधैँ लडखडाउँछन् मेरा पाइलाहरू । तिमीले मलाई त स्वतन्त्र गरिदियौ तर मेरा पाइतालाहरूसँगको मोहलाई छोड्न सकिनौ ।

–त्यो मोह होइन प्रेम हो । प्रेमलाई मोह भनेर मिनिमाइज नगर ।

–कुरा एउटै हो । हेर न, तिम्रो प्रेमले जेलिएका मेरा पाइताला कसरी स्थिर भएका छन् । 

–के यो सत्य हो ? कि म सपनामा भेटिरहेकी छु तिमीलाई ? यस्तो पनि हुन सक्छ ? यत्तिका वर्षपछि यो मध्य रात्रिमा तिम्रो स्थिर कायाकल्प कसरी उपस्थित हुन सक्छ ?

–सपना भने पनि विपनाकै प्रतिछाया हो । त्यसैले सपना र विपनाको सीमा कोरेर मनलाई विभाजन नगर, बरु मेरोजस्तै मेरा पाइतालाको मोह पनि त्याग गर ।

–फेरि गलत भन्यौ । म तिम्रो पाइतालाको मोहमा छँदै छैन । अँ प्रेमचाहिँ भएको हुन सक्छ किनकि बारम्बार स्मृतिमा आइरहन्छन् तिम्रा पाइताला ।

–अब त्यो स्मृतिलाई पनि बिसर्जन गरिदेऊ र मुक्त होऊ अर्थात् मलाई मुक्त गरिदेऊ ।

–एउटा बन्जर, रुखो र मरुभूमिको संसारमा विचरण गर्न आएका पाइतलाहरूलाई सजिलै कसरी विर्सजन गर्न सकिन्छ ! त्यो त एउटा अतुलनीय इतिहास हो । जसलाई मेटाउन सम्भव छैन । आज पनि मेरो मरुभूमि हृदयले कहिलेकाहीँ अनुभव गर्छ । म ती पाइतालाहरूलाई पटक पटक चुम्बन गर्छु । आँखाका नानीहरूमा टाँसिरहन्छु । घण्टौँ सुमसुम्याउँछु र सन्तुष्ट हुनेगर्छु । लाग्छ कुनै दिन तिमी मसँगै थियौ । साँच्चै भनु भने तिम्रो पाउमा एउटा तृप्तिको संसार छ । यो संसारमा केही कुरा सुन्दर छ भने त्यो तिम्रोे आगमनको पदचाप छ । त्यो पदचाप निर्माण गर्ने एउटा आर्यपुरुषको अस्तित्व छ ! हुन त यो एउटा इतिहास भइसकेको कुरा हो । मलाई पछ्याउँदै माया गर्न आइपुग्ने ती सुन्दर पाउहरूको जीवन गाथा निकै फरक भइसकेको छ । अहिलेको स्थितिमा त्यसलाई प्रेमको एउटा मीठो परिभाषा मात्र बनाउन सकिन्छ तर समपर्णको सिङ्गो सभ्यतामा न म तिमीसँग हुन सक्छु, न तिम्रो पदचाप मसँग सुरक्षित रहन सक्छ । आँखामा राखँु कि हृदयमा टासुँ जस्तो लाग्ने त्यो पवित्र चरणको एउटा अनुभूति मात्रै मेरो हृदयमा रहन सक्छ । 

–एउटा स्त्रीले कुनै पुरुषको चरण प्रेम गर्नु र एउटा पुरुषले कुनै स्त्रीको सिउँदोलाई आफ्नो सम्झिनु यो संसारमा उत्तिकै भावात्मक र पवित्र समर्पण मानिन्छ । तर तिमीले नै त त्यो भावनात्मक पवित्रताको समर्पणमा सङ्कुचित हुनु मानिनौँ । 

–आकाश जत्तिकै खुला हृदयमा जीवनपर्यन्त ओहोर दोहोर गर्न चाहने मानिस हुँ म । तिम्रा चरणस्पर्श मेरो हृदयमा सुरक्षित छन् । मलाई त्यही काफी छ । त्यो पदचापलाई एउटा मृगतृष्णा बाँच्नुमा जुन आनन्द छ, त्यो कुनै प्राप्तिले वरण गर्न सक्दैन । 

–त्यो अप्राप्ति हो । त्यही अप्राप्तिले लखेटिरहन्छ तिमीलाई र कुिदरहन्छेऊ यसरी । यसले तिमीलाई रित्याउँदै छ । तिमी रित्तिँदै छौ आफैँसँग । 

–यसरी रित्तिनुमा मलाई कुनै आपत्ति छैन बस् मलाई शान्ति चाहिएको छ । म मात्रै शान्त हुन चाहन्छु अब । 

–त्यसका लागि तिमीले मेरा पदचापहरू बिर्सनुपर्छ । तिम्रो हृदयले सम्हालेर राखेको चरणस्पर्शलाई मेटाइदिनुपर्छ र तिमीले त्यो बाटो देख्न सक्नुपर्छ जहाँबाट दिव्य शान्तिका लागि नयाँ यात्रा सुरु गर्नुपर्ने हुन्छ ।

–यसको मतलब मैले अझै त्यो बाटो देखेकी छैन ?

–यो तिम्रो पूर्वतयारी मात्र हो । जबसम्म तिम्रो हृदयमा मेरा पदचापको ध्वनि गुञ्जनछन् सम्भवतः तिमी यात्राका लागि योग्य हुँदिनौ । 

–त्यो कसरी भन्न सक्छौ ?

–जसरी तिमी सबै कुरा छोडेर यहाँ आएर बस्यौ । यो चिसोमा एक्लै यहाँ आएर बस्नु र हरेक क्षण आफ्नो अन्तरआत्मालाई नियाल्नु । तिम्रो शान्ति यात्रामा निस्कने पूर्वतयारी मात्र हो । यो एक महिनामा तिमीले हजारौँ पटक आफ्नो अन्तरआत्मालाई प्रश्न गरेकी छौ । कि त्यो दिव्य शान्तिको सहर कहाँ छ ? कहाँ गएर यी पदचापका ध्वनि बन्द हुन्छन् । तर भोक, दरिद्रता, छल, कपट, स्वार्थ, हत्या, हिंसाजस्ता कुरूपताहरूको अस्तित्व रहने यो संसारमा, मोह बिर्सजन सजिलो कुरा होइन । यी सब तिम्रा आत्माशुद्धिका सवाल मात्रै हुन् । त्यसको जवाफ तिमीभित्रको अन्तरध्वनि नै हो, जसलाई तिमी हरपल सुनिरहेकी छौ । अब तिमी हिँड्नुपर्छ । मतलब तिम्रो चेतनाको यात्रा हुन जरुरी छ । ऊ त्यो पारि देखिएको उज्यालो क्षितिजमा पुगेपछि हुनसक्छ तिमीले शान्तिको हर भेट्ने छौ ।

–त्यो क्षितिजमा शान्तिको सहर भेटिन्छ भन्ने के ग्यारेन्टी भयो ? म पत्याउँदिनँ यस्ता बकम्फुसे कुरा, अब छोड मलाई । 

–मैले समातेकै कहाँ छु, हेर तिमी आफैँ मेरो पदचापमा कसरी अल्झिएकी छौँ । 

म झसंग हुन्छु । चिसोले मुटु कामिरहेजस्तो लाग्छ । 

साँच्चिकै मेरो आत्मा कस्तरी त्यो आर्यपुरुषको पाइतालामा अल्झिएको । सम्भवतः यो एउटा समयले निर्माण गरेको भावनात्मक सामन्त हो । समर्पणको दास भएर उभिने भावना पनि त सपनाको एउटा कुरूप कैदी बन्दोरहेछ । यतिबेला मलाई मेरो हृदयबाट उक्त आर्यपुरुषको पदचाप कालिञ्चोक भगवतीको शिखरतिर उक्लिँदै गएको अनुभव हुन्छ । म कन्ट्री भिल्लाको रुम नम्बर २०१ भित्र निभेको हिटर पुनः बाल्न थाल्छु । á