• २३ वैशाख २०८१, आइतबार

सुन्दर देखियो चुरेन र गुर्जा हिमाल (फोटो फिचर)

blog

म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानी र ताकमबाट देखिएको गुर्जा हिमाल । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, वैशाख १० गते ।
 म्याग्दीको धवलागिरि गाउँपालिका –७ धारापानी र ताकम बस्ती गुर्जा हिमालको काखमै जस्तो देखिन्छ । समथर भूभाग, खेतीयोग्य जमिन र पुराना परम्परागत घरहरू अनि आँगनमै बसेर हिमाल हेर्न पाउनु यहाँको मुख्य विशेषता हो । यो बस्तीलाई गुरिल्ला पदमार्ग र धौलागिरि पदयात्राको प्रवेशद्वारको रूपमा  लिने गरिन्छ ।

फागुनको अन्तिम सातादेखि हिमालमा हिउँ पर्न थालेपछि काला पत्थरजस्ता देखिने हिमाल सेताम्मे भएका छन् । पदयात्रामा आएका पर्यटकलाई सेताम्मे हिमालले लोभ्याउने गरेको छ । 


धारापानी, ताकम, मुना र मुदी हुँदै पर्यटकहरू धौलागिरि पदयात्रामा जाने गर्दछन् । हिमालको दृश्य र ग्रामीण क्षेत्रको परम्परागत जीवनशैलीको अवलोकनले पर्यटकलाई आनन्द महसुस गराउँछ ।

मगर र अन्य समुदायको संस्कृति, प्राकृतिक सम्पदा, हिमशृङ्खला र ग्रामीण जीवनशैली यो पदमार्गको आकर्षण हो । पदयात्राको क्रममा हिमाल, जङ्गल, नदी, छहरा, ग्रामीण बस्ती, जङ्गली जनावर र पशुपंक्षीहरको समेत अवलोकन गर्न पाइन्छ ।