राममणि दाहाल
हेटौँडा, वैशाख १० गते । रणनीतिक महत्वको धरान–चतरा–सिन्धुली–हेटौँडा सडक बनेपछि मकवानपुरदेखि सुनसरीसम्मको भित्री मधेशमा चहलपहल बढ्दै गएको छ। सडक पहुँच विस्तारपछि बस्ती बाक्लिँदै गएसँगै सामाजिक र आर्थिक गतिविधि बढेका हुन्।
धरान–चतरा–सिन्धुली–हेटौँडा सडक आयोजनाले निर्माण गरेको मदन भण्डारी राजमार्ग नामकरण गरिएको यो सडक सुनसरीदेखि मकवानपुर जिल्लासम्मको भित्री मधेशको लाइफलाइन बन्दै गएको हो। वि.सं. २०६२ पछि सुनसरीदेखि उदयपुर, सिन्धुली हुँदै मकवानपुरसम्मको यो सडक चुरेको काँछैकाछ सवारीसाधन सञ्चालन हुन थालेका थिए। आव २०६४/६५ मा आयोजना कार्यालय काठमाडौँमा स्थापना गरी निर्माण सुरु भएको हेटौँडा–सिन्धुली–चतरा–धरान सडकले आव २०७२/७३ देखि राष्ट्रिय प्राथमिकता प्राप्त गरेको छ।
सडक विभागबाट आयोजना सञ्चालन हुँदै आएको २०७५ जेठ ६ गतेको निर्णयबाट नाम परिवर्तन गरी मदन भण्डारी राजमार्ग आयोजना बनाइएको थियो। पूर्व–पश्चिम जोड्ने गरी पूर्व–पश्चिम राजमार्ग र मध्य पहाडी राजमार्ग बीचमा समानान्तर सडक निर्माण हुने यस आयोजना निर्माणाधीन छ। उदयपुरको बसाहादेखि सिन्धुलीको कमलामाई नगरपालिका–९, भिमानसम्म १३५ किलोमिटर सडकलाई पूर्वी खण्ड र भिमानदेखि हेटौँडा उपमहानगरपालिका–६ चौघडासम्म ११५ किलोमिटर लम्बाइ सडकलाई पश्चिम खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो।
पश्चिम खण्ड हस्तान्तरण
हेटौँडा–सिन्धुली–चतरा–धरान सडकको पश्चिमी खण्ड सडक डिभिजन कार्यालय, हेटौँडालाई हस्तान्तरण गरिएको छ। मकवानपुरतर्फ ४८ किलोमिटर र सिन्धुलीतर्फ ६७ किलोमिटर रहेको यस पश्चिमी खण्डको अधिकांश भागको निर्माण पूरा भएसँगै सडक डिभिजनलाई हस्तान्तरण गरिएको हो।
मकवानपुरतर्फ हेटौँडा उपमहानगरपालिका–६ को कर्रा पुल नजिकै, बकैया गाउँपालिका–४ को माझी खोलाको पुलसँगै र कमलामाई नगरपालिकाको धुरा बजारदेखि खट्टारसम्म विवादका कारण रोकिएको छ। यसबाहेक सडकको कालोपत्रेलगायतका सबै काम पूरा भएको छ। यस खण्डमा पर्ने ३९ वटा पुलमध्ये पछिल्लो पटक ठेक्का लागेका छवटा पुल निर्माणसमेत अन्तिम चरणमा पुगेको छ।
सडक डिभिजन कार्यालय, हेटौँडाका प्रमुख राजेश यादवले पश्चिमी खण्डको सडक र पुल निर्माणको काम लगभग पूरा भएर हस्तान्तरण भएको जानकारी दिनुभयो। गत माघमा हस्तान्तरणसँगै सडक कार्यालयले मर्मतसम्भारको काम गर्ने बताउँदै उहाँले भन्नुभयो, “यस सडकखण्डको ९९.९ प्रतिशतभन्दा बढी काम पूरा भइसकेको छ।”
विवादका कारण रोकिएको सडकखण्डको अर्को ठेक्का आह्वान गरेपछि मात्र बन्ने भएको छ। निजगढ–मकवानपुर–काठमाडौँ द्रुतमार्ग सडक खण्डमा पर्ने र मरिण डाइभर्सन आयोजना नजिक आयोजनाका कारण रोकिएको भागमा ती आयोजनाले नै निर्माण गर्ने भएका छन्।
सडक डिभिजन कार्यालय, हेटौँडाका इन्जिनियर रमेश पाण्डेले हेटौँडा–सिन्धुली सडकखण्ड पुलबाहेक सडक सात अर्ब १० करोड रुपियाँको लागतमा निर्माण भएको जानकारी दिनुभयो । उहाँका अनुसार पहिले सम्पन्न भएका सिन्धुली र मकवानपुरका गरी ३२ वटा पुल तीन अर्ब १९ करोड, बागमती पुल २४ करोड र अन्तिम चरणमा ठेक्का लागेका छवटा पुलको निर्माण लागत ५५ करोड रुपियाँ रहेको छ।
सिन्धुलीको कमलामाई नगरपालिकाको धुरा बजारदेखि खट्टारसम्म एक किलोमिटर मुआब्जालगायतका विवादले रोकिएको छ। यसअघि घरलगायतका भौतिक संरचनाको मुआब्जा माग गर्दै सडक खण्डको विभिन्न स्थानमा सडक निर्माणमा स्थानीयले अवरोध गरेकोमा पछि घरको क्षतिपूर्ति दिएपछि समस्या समाधान भएको थियो।
दुई जिल्लाको प्रदेश राजधानीसँग पहुँच बढ्यो
हेटौँडा–सिन्धुली–चतरा–धरान सडक खण्डको पश्चिमी खण्ड निर्माणले पूर्णता पाएसँगै बागमती प्रदेशको राजधानी हेटौँडासँग सिन्धुली र रामेछाप जिल्लाका नागरिकको सिधा पहुँच भएको छ । यो सडक बन्नुअघि सिन्धुलीवासीलाई सर्लाही, रौतहट, बारा हुँदै हेटौँडा आउनुपर्ने बाध्यता थियो। रामेछापवासी काठमाडौँ हुँदै हेटौँडा आउनु पथ्र्याे। यसले समय र दूरी घटाएको छ।
यो सडक निर्माणले प्रदेश राजधानी हेटौँडा आइपुग्न लाग्ने दूरी र समय घटेको मात्र नभई मकवानपुर र सिन्धुलीका दुर्गम गाउँमा आर्थिक, सामाजिक गतिविधि बढ्न थालेको बागमती गाउँपालिका–८, शान्तिपुरका राजनीतिकर्मी सन्तोष सापकोटाले बताउनुभयो।
विगतमा बागमती खोलामा पुल नहुँदा सिन्धुली र मकवानपुरका बासिन्दालाई वर्षायाममा सकस हुँदै आएको थियो। गत वर्ष पुल निर्माण भएपछि मकवानपुरको पूर्वी क्षेत्र र सिन्धुली जिल्लाको पश्चिमी क्षेत्रका स्थानीय तहमा सडक सुविधा बढेर आवागमन सहज भएको छ।
गाउँबस्तीमा चहलपहल
हेटौँडा–सिन्धुली–चतरा–धरान सडक निर्माणसँगै सडकले छोएको जिल्लाका स्थानीय तहका बस्तीहरूमा चहलपहल बढेको छ। सहज यातायात सुविधाले त्यस क्षेत्रका बासिन्दाको सामाजिक र आर्थिक जीवनस्तरमा परिवर्तन आउन थालेको छ। नयाँ निजी आवास, बजारीकरणसँगै विकासका अन्य पूर्वाधार निर्माणले तीव्रता पाएको छ।
मकवानपुरको बकैया गाउँपालिकाका अध्यक्ष धर्म लामिछानेले सडक निर्माणपछि मकवानपुरको पूर्वी स्थानीय तहसँगै सडक मार्गले छाएका अन्य जिल्लाको आर्थिक गतिविधि क्रमशः बढ्न थालेको बताउनुभयो। यसले भित्री मधेशका नागरिकको आर्थिक–सामाजिक जीवनमा महत्वपूर्ण परिवर्तन ल्याउन सहयोग पुग्ने धारणा व्यक्त गर्दै उहाँले भन्नुभयो, “स्थानीयलाई आवागमन र कृषिजन्यलगायतका स्थानीय उत्पादन बजारसम्म पु¥याउन सहज भएको छ, कृषि तथा पशुजन्य उत्पादनले उचित मूल्य पाउनेछ र सहरीकरण बढ्नेछ।”
सडक डिभिजन कार्यालय, हेटौँडाका इन्जिनियर पाण्डेले भित्री मधेशमा निर्माण भएको यो सडक पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्ग भएको र यसले सिन्धुली र मकवानपुरका ग्रामीण क्षेत्रमा निजी र सार्वजनिक संरचना निर्माण हुन थालेको बताउनुभयो।
२०५० सालअघिसम्म फापरबारी बजारबाट हेटौँडा हिँडेरै पुगेको स्मरण गर्दै पूर्वी मकवानपुरको व्यापारिक केन्द्र फापरबारी बजारका चिजलाल श्रेष्ठले अहिले सडक बनेपछि स्थानीयको दैनिक जीवन सहज भएको बताउनुभयो। उहाँले भन्नुभयो, “फापरबारीबाट बिहान ८ बजे हिँड्दा हेटौँडा राति ८ बजे पुगिन्थ्यो अहिले एक घण्टामा पुगिन्छ। सडक बनेपछि शिक्षा र स्वास्थ्य सेवा लिन सहज भएको छ, जग्गाको भाउ बढेपछि स्थानीयको आर्थिक जीवनमा सडकले परिवर्तन ल्याइदिएको छ।”
यस्तै बागमती गाउँपालिका–८, शान्तिपुरका सन्तोष सापकोटाले विगतमा सिन्धुलीको पश्चिम भाग र मकवानपुरको पूर्वी भागमा सडकको पहुँच नभएका कारण विकासमा पछाडि परेको भन्दै खोला, बगरको बाटो हिँड्नुपर्ने बाध्यता अहिले हटेको, आवागमनमा सहज भएको र कच्चीबाट पक्की घरहरू धमाधम बन्न थालेको बताउनुभयो।