• १३ वैशाख २०८१, बिहिबार

सिद्धार्थनगरमा ७४ किसानलाई ‘कृषक कार्ड’

blog

‘कृषक कार्ड’ वितरण गर्दै नगरप्रमुख खान, वडाध्यक्ष यादवलगायत सहभागीहरु । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, बैशाख ९ गते । रुपन्देहीको सिद्धार्थनगरका किसानलाई कृषक कार्ड वितरण गरिएको छ । सिद्धार्थनगर वडा –४ ले आफ्नो वडाभित्रका कृषकलाई कृषक कार्ड वितरण गरेको हो । उहाँहरूलाई एक कार्यक्रमबीच कार्ड हस्तान्तरण गरिएको वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले जानकारी दिनुभयो । किसानलाई आवश्यकताअनुसार मलखाद, बिउ पाउन सहज होस् भन्ने उद्देश्यले वडाका ७४ जनालाई कृषक कार्ड वितरण सुरु गरिएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘किसानको समस्या समाधानका लागि कृषक कार्ड वितरण सुरु गरेका हौँ, यसलाई निरन्तरता दिन्छौँ ।’ किसानलाई मल वितरण गर्न तथ्याङ्क सङ्कलन गरिने उहाँको भनाइ छ । ‘यसका लागि किसानसँग पनि सल्लाह–सुझाव लिन्छौँ, कृषक कार्डबिना मलखाद उपलब्ध गराउन समस्या भएको छ’ उहाँले भन्नुभयो ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले कृषक कार्ड महत्त्वपूर्ण रहेको बताउनुभयो । वडा –४ कार्यालयले महत्त्वपूर्ण समयमा कार्ड वितरण गरेको उल्लेख गर्दै उहाँले किसानलाई आवश्यक मल, बिउ, सिँचाइको व्यवस्था गर्न सकिए कृषकका लागि सबैभन्दा ठूलो राहत हुने बताउनुभयो ।

किसानलाई यो कार्डले सहजता प्रदान गर्ने उहाँले बताउनुभयो । कसैले आवश्यकताभन्दा बढी पाउने र कसैले मल नपाउने अवस्थाको अन्त्य गरी आवश्यकताअनुरूप मल, बिउ वितरणका लागि कृषक कार्डको व्यवस्था गरिएको वडा सदस्य हरिबहादुर केसीको भनाइ छ ।