• ११ मंसिर २०८१, मङ्गलबार

वातावरणीय क्षयीकरणको दुष्चक्र

blog

संयुक्त राष्ट्रसङ्घको विपत् न्यूनीकरणसम्बन्धी अन्तर्राष्ट्रिय रणनीतिअनुसार सामाजिक तथा पर्यावरणीय उद्देश्य तथा आवश्यकता पूर्ति गर्नसक्ने वातावरणको क्षमतामा ह्रास आउनु नै वातावरणीय क्षयीकरण हो । यो पर्यावरणको भौतिक, जैविक तथा रासायनिक गुणवत्ता तथा उपयोगितामा आउने गिरावट हो । वनजङ्गल, हावापानी तथा माटोजस्ता पर्यावरणीय तìवहरू ह्रासोन्मुख हुँदा वातावरण विनाश हुन जान्छ । यसले पर्यावरण चक्रलाई ध्वस्त बनाउनुका साथै जीव र वनस्पतिको विलुप्तीकरणलाई तीव्र बनाउँछ । वातावरणीय विनाश तथा क्षयीकरण पछिल्लो समयमा विश्व समुदायको साझा चासो तथा चिन्ताको विषय बनिरहेको छ । तथापि वातावरणीय समस्याको समाधानका लागि साझा जिम्मेवारी बहन गर्ने र क्षयीकरणको आफ्नो हिस्सेदारी तथा क्षमताअनुसार भूमिका निर्वाह गर्ने दिशामा भने विश्वका मुलुकले आलटाल गरिरहेको अवस्था छ । 

अविवेकी उपभोक्तावाद तथा मानिसको प्रगति र आर्थिक वृद्धिको भोकले प्रकृतिमाथि अपूरणीय क्षति थोपरिरहेको छ । तर विश्व समुदायको भौतिक विकासको गति र इच्छा तत्काल रोकिनेवाला छैन । आर्थिक स्रोतसाधनको असमान वितरण, धनी–गरिबबीचको गहिरिँदो खाडल, तेस्रो विश्वका मुलुकको आर्थिक तथा भौतिक विकासको अनिवार्यता, धनी तथा शक्तिशाली मुलुकबीचमा विश्वका प्राकृतिक, आर्थिक तथा भौतिक स्रोतमाथि प्रभाव जमाउने होडबाजीका कारण आगामी दिनमा प्रकृतिमाथिको दोहन बढ्ने कुरा अवश्यभावी छ । 

वास्तवमा दिगो विकास नै मानवीय लोभ तथा चुलिँदो स्वार्थमाथि लगाम लगाउने र भविष्यका पुस्ताका लागि स्रोतको सुनिश्चितता गर्ने निर्विकल्प बाटो हो तर विश्वव्यापी तथा देशगत रूपमा समेत वातावरणीय मुद्दामाथि आर्थिक स्वार्थ तथा मानवीय आवश्यकता हाबी भइरहँदा प्रकृतिको क्षयीकरण रोक्ने र दिगो विकासको लक्ष्य हासिल गर्ने बाटोमा तगाराहरू खडा भएका छन् । 

जनसङ्ख्या वृद्धि, आर्थिक विकासका लागि प्राकृतिक स्रोतको चरम दोहन, तीव्र तथा सहरीकरणसँगै बढ्दो ऊर्जा खपत तथा क्रियाकलापको अधिक प्रयोग, औद्योगिकीकण सिर्जित जलवायु भू–प्रदूषणका कारण वातावरणीय शुद्धता तथा गुणस्तरमा ह्रास आइरहेको छ । मानवीय क्रियाकलापका कारण उत्सर्जित हरितगृह ग्यासको मात्रा वायुमण्डलमा बढ्दै जाँदा भइरहेको विश्व उष्णीकरणले सिर्जना गरेको जलवायु परिवर्तनको विषय अहिले विश्वको प्रमुख वातावरणीय मुद्दा बनिरहेको छ । जीवाश्म इन्धनको प्रयोग, कृषि तथा पशुपालनबाट हुने उत्सर्जन, वन विनाश तथा जमिनको प्राकृतिक उपयोगिताको स्वरूपमा ल्याइने परिवर्तनका कारण हरितगृह ग्यासको उत्सर्जनमा वृद्धि भइरहेको छ । जलवायु परिवर्तनले वर्षा तथा तापमानमा प्रतिकूल असर पार्नुका साथै जैविक विविधता, जलस्रोत तथा वातावरणमा गम्भीर असर पुगेको छ । जलवायु परिवर्तनका कारण सुक्खा खडेरी, अतिवृष्टि, बाढीपहिरो तथा भू–क्षय, हिमगलन तथा सिमसारको विनाशजस्ता सङ्कट बढिरहेका छन् । 

क्लोरोफ्लोरो कार्बनका कारण भइरहेको ओजोन तहको विनाश पनि वातावरणीय क्षयीकरणको अर्को कारण हो । त्यस्तै औद्योगिकीकरण र भौतिक पूर्वाधार विकाससँगै बढेको वायुप्रदूषणले मानिसको प्राणवायुलाई नै विषाक्त बनाइरहेको छ । तथ्याङ्कअनुसार, विश्वका प्रमुख औद्योगिक सहरमा बस्ने एक अर्बभन्दा धेरै मानिस चरम वायुप्रदूषणको मारमा छन् । नाइट्रोजन अक्साइट, सल्फर अक्साइड, सिसा, बेन्जिन तथा धुलोका कणजस्ता प्रदूषकहरूको मात्रा वायुमण्डलमा बढ्दै जाँदा मानिसमा श्वासप्रश्वासजन्य रोग, मुटुरोग, क्यान्सरजस्ता रोगको प्रकोप बढिरहेको छ भने वायुप्रदूषणले वनस्पतिको वृद्धि विकासमा समेत असर पु¥याएर विभिन्न पर्यावरणीय असर निम्ताइरहेको छ ।

वातावरणीय क्षयीकरणको अर्को प्रमुख स्रोत जल प्रदूषण हो । विभिन्न जैविक तथा औद्योगिक–रासायनिक, धातुजन्य तथा कृषिजनय प्रदूषकका कारण चराचर जगत्को जीवनदायिनीको रूपमा रहेको पानी प्रदूषित तथा विषाक्त बनिरहेको छ । जसले जैविक विविधतामा ह्रास ल्याउने, जलचर तथा स्थलीय जीव तथा वनस्पतिको अस्तित्वमाथि नै चुनौती खडा गर्ने खालका विभिन्न पर्यावरणीय असर पार्नुका साथै मानिसको स्वास्थ्यमा गम्भीर क्षति पु¥याइरहेको छ । युनिसेफको एक तथ्याङ्कअनुसार, विश्वमा दुई अर्ब १० करोड मानिस सुरक्षित तथा व्यवस्थित पिउने पानीबाट वञ्चित छन् भने साढ चार अर्ब मानिसमा पर्याप्त सरसफाइको अभाव छ । विश्वमा हरेक वर्ष झाडापखलाजन्य रोगका कारण पाँच वर्षमुनिका करिब साढे तीन लाख बालबालिकाको ज्यानै जाने गरेको छ । विश्वमा ४० प्रतिशत मानिसले पर्याप्त पानीको अभाव झेलिरहेको अवस्था छ । जहाजको दुर्घटना तथा अन्य कारणले समुद्रमा हजारौँ टन तेल पोखिएका घटना बेलाबेलामा हुने गर्दछन् । 

एक तथ्याङ्कअनुसार, पृथ्वीमा रहेको प्राकृतिक जङ्गलमध्ये आधा जङ्गल मानवीय कारणले नास भइसकेको छ । विश्वको पर्यावरणका लागि अति महìवपूर्ण रहेको, जलवायुको नियमनका साथै असङ्ख्य जैविक विविधताको स्रोत तथा बासस्थानको रूपमा रहेको उष्ण सदावहार जङ्गलको विनास तीव्र गतिले भइरहेको छ । वातावरणीय क्षयीकरण तीव्र बन्दै जाँदा सन् २०५० सम्ममा पृथ्वीका १० प्रतिशत प्राणी तथा वनस्पतिका प्रजाति लोप हुने तथ्याङ्क छ । वनविनाश अर्थात् बासस्थान विनाशले त्यसमा आश्रित जीव तथा वनस्पतिलाई नामेट पारिरहेको छ, जसका कारण प्रजाति सङ्कटापन्न हुने र पर्यावरण ह्रासोन्मुख हुने क्रम बढिरहेको छ । 

वातावरणीय क्षयीकरणको अर्को कारकतत्वका रूपमा खाद्य तथा ध्वनि प्रदूषण रहेको छ । धातुजन्य फोहोर, हानिकारक रसायनहरू तथा विषादी आदिका कारणले माटो प्रदूषित हुँदै जाँदा त्यसले खाद्यप्रदूषण बढाएको छ । अव्यवस्थित बसोबास, सहरी क्षेत्रमा जनसङ्ख्या र जनघनत्वमा भइरहेको वृद्धि, बढ्दो सवारी चाप तथा मानवीय क्रियाकलापका कारण ध्वनि प्रदूषण बढिरहेको छ । खाद्य तथा ध्वनि प्रदूषणले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पु-याउनुका साथै विभिन्न खालका रोगव्याधि निम्ताइरहेको छ । वातावरणीय विनाश तथा क्षयीकरण जनस्वास्थ्यका लागि सर्वाधिक चिन्ताको विषय बनेको छ । जलवायु परिवर्तन, प्रदूषण, जलसङ्कट तथा अत्यावश्यकीय प्राकृतिक संसाधनको न्यूनताले जनस्वास्थ्यमा सङ्कट खडा गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा हरेक वर्ष हुने मृत्युमध्ये एक चौथाइ मानिसले प्रत्यक्ष रूपमा अस्वस्थ वातावरणकै कारण ज्यान गुमाउने गरेका छन् ।

त्यस्तै वातावरणीय विनाशका कारण सिर्जित वातावरणजन्य विपत्ले सामाजिक, आर्थिक तथा वातावरणीय प्रणालीमा गम्भीर क्षति पु¥याइरहेको छ । यसको असर सर्वव्यापी छ र मानवीय समृद्धि तथा अस्तित्वमाथि सङ्कट पैदा गरिरहेको छ । 

मानवीय कारणले जब प्राकृतिक बासस्थान नष्ट हुन्छ वा प्राकृतिक संसाधनमा ह्रास आउँछ त्यसबाट वातावरण विनाशको शृङ्खला सुरु हुन्छ । त्यसैले दिगो आर्थिक विकासको गतिलाई कायम राख्न, भविष्यका पुस्ताका मानवीय आवश्यकतालाई जीवित राख्न, जैविक विविधता विनाशको दरलाई रोक्न, जलसङ्कट तथा जलवायुको प्रतिकूलता रोकी मानवीय अस्तित्वमाथि नै मडारिएको कालो बादललाई हटाउनका लागि वातावरण क्षयीकरणमा बिराम लगाउनु आवश्यक छ । 

वातावरणमैत्री तथा दिगो विकास पद्धतिको अवलम्बन, जलवायु परिवर्तन न्यून तथा अनुकूलनका साथै हरितगृह ग्यास उत्सर्जनमा कटौती, हरित तथा वातावरणमैत्री र कम प्रदूषक प्रविधिको प्रयोग तथा हस्तान्तरण, वातावरणीय चेतना अभिवृद्धि, वन तथा जैविक विविधताको संरक्षण, प्राकृतिक स्रोतको निर्विवेकी तथा अत्यधिक दोहनमा नियन्त्रण, प्रदूषकलाई जरिवाना गर्ने (प्रदूषकले तिर्ने) सिद्धान्तको प्रभावकारी कार्यान्वयन आजको टड्कारो आवश्यकता बनेको छ । 

औद्योगिक फोहोरको उचित व्यवस्थापन तथा नियन्त्रण र निर्मलीकरणका साथै विषादी र रासायनिक मलको अत्यधिक प्रयोगका कारण बढिरहेको कृषिजन्य प्रदूषणमा पनि नियन्त्रण आवश्यक छ । सहरमा बढ्दै गएको जैविक फोहोरलाई स्रोतमै घटाउने, अजैविक फोहोरको पुनः प्रयोग तथा पुनःचक्रणका साथै जैविक फोहोरको कृषिजन्य गार्हस्थ प्रयोगलाई प्रोत्साहन गर्ने र ऊर्जा उत्पादनमा समेत प्रयोग गर्ने उपायको अवलम्बन गर्नुपर्छ । जलस्रोतको संरक्षण र उचित व्यवस्थापन, वन संरक्षण तथा वृक्षारोपण वातावरणीय क्षयीकरण रोक्नका लागि गर्नैपर्ने काम हुन् । वातावरणीय विषय विश्वको साझा सवाल भएको हुनाले यसको क्षयीकरण तथा विनाशलाई रोक्नका लागि विश्वका सरकारहरू, अन्तराष्ट्रिय सङ्घसंस्था तथा आममानिसले हातेमालो गर्नु आवश्यक छ । 

लेखक नेपाल सरकारका शाखा अधिकृत हुनुहुन्छ ।   

Author

कुलचन्द्र अर्याल