रमेश विश्वकर्मा
गुल्मी, वैशाख ८ गते । गुल्मीबाट सुशासनका लागि साक्षरता कार्यक्रम सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालयको सहयोगमा रिपोर्टर्स क्लब नेपालले सो कार्यक्रम सुरु गरेको हो ।
‘विकास, समृद्धि र सुशासनका लागि हाम्रो अभियान’ मूल नारा दिएर सुरु गरिएको कार्यक्रम प्रदेशको १२ वटै जिल्लामा हुने बताइएको छ । कार्यक्रम गुल्मीबाट सुभारम्भ गरिएको क्लब लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीले बताउनुभयो । लुम्बिनी प्रदेशका जिल्लामा सुशासनको अवस्थाका विषयमा साक्षरता प्रदान गर्दै समृद्धि र विकासका निम्ति हातेमालो गरेर जान तयार रहेको अध्यक्ष क्षेत्रीले बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले जिल्लाका स्थानीय तहमा देखिएका बेरुजुका विषयमा प्रश्न गरेका छन् । प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले पर्याप्त स्रोतसाधन नभएका कारण सुशासन कार्यान्वयनमा चुनौती देखिएको बताउनुभयो ।
रेसुङ्गा नगरपालिका उपप्रमुख अमृतादेवि कुँवर, चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसी, मदाने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुवँर, कोष तथा लेखा नियन्त्रक छविन्द्र बेल्वासे, गैसस महासंघका अध्यक्ष विष्णुप्रसाद भण्डारी, रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल, सुशासन अभियान्ता विनोद पाण्डे, सिद्धबाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीस लगायतले सुशासनका बारेमा जानकारी गराउनुभएको थियो ।