• १२ मंसिर २०८१, बुधबार

क्यान्सर अस्पतालमा रक्त सञ्चार सेवा केन्द्र स्थापना हुँदै

blog

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, बैशाख ८ गते । बाँकेको खजुरामा रक्त सञ्चार सेवा केन्द्र स्थापना गरिनेभएको छ ।  सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सेवा दिइरहेको खजुरामा विरामीको सहज उपचारका लागि रक्त सञ्चार सेवा केन्द्र अत्यावश्यक महसुश भएपछि सेवा सञ्चालनको तयारी गरिएको छ ।

रक्त सञ्चार सेवा केन्द्र सञ्चालनका लागि खजुरा गाउँपालिका, अस्पताल र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाबीच छलफल भएपछि छिटो सेवा सञ्चालन गर्ने सहमति भएको छ । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरवहादुर विकले क्यान्सर अस्पतालमा विरामीहरु सेवा लिन टाढाबाट आउने भएकाले रक्त सञ्चार सेवा आवश्यक भएको बताउनुभयो । 

“रक्त सञ्चार सेवालाई नियमित बनाउन खजुराका विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई त्रैमासिकरुपमा रक्तदान गर्न अभिप्रेरित गर्ने योजना बनाएका छौं” गाउँपालिकाका अध्यक्ष विकले भन्नुभयो, “निकट भविष्यमा १५ सय्याको अस्पताल निर्माण हुन लागेकाले पनि खजुरामा रक्त सञ्चार सेवा आवश्यक छ ।” 

खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खर्जुन सुवेदीले विरामीका आफन्तबाट रगत आवश्यक भएपछि नेपालगञ्जसम्म पुग्नुपर्ने बाध्यता अन्त्यका लागि खजुरामा रक्त सञ्चार सेवा केन्द्र सञ्चालन गर्नुपर्ने निस्कर्षमा गाउँपालिका पुगेको बताउनुभयो । 

रेडक्रस सोसाइटीले हाल भेरी अस्पताल नेपालगञ्ज र शिक्षण अस्पताल कोहलपुरमा रक्त सञ्चार सेवा केन्द्र सञ्चालन गरी सेवा दिंदैआएको छ । नेपाल रेडक्रस सोसाइटी बाँकेका सदस्य मिनवहादुर मल्लले स्थलगत अनूगमनका क्रममा अस्पतालमा तत्कालै रक्त सञ्चार सेवा केन्द्र सञ्चालन आवश्यक देखिएकाले गाउँपालिका, क्यान्सर अस्पताल र रेडक्रस गरी तीन वटै संस्थाको लागत सहभागिता रहनेगरी सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । 

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका निर्देशक निरज भट्टराईले अस्पतालमा तत्कालै रगत आवश्यक पर्ने विरामी आउनेगरेको भन्दै रक्त सञ्चार सेवा केन्द्र आवश्यक परेको बताउनुभयो ।