• १० मंसिर २०८१, सोमबार

अध्यक्ष तिमिल्सिना र रुसी तल्लो सदनका अध्यक्षबीच भेटवार्ता

blog

अध्यक्ष तिमिल्सिना रुसी तल्लो सदन डुमाका अध्यक्ष भोलोडिनबीच भेटवार्ता । तस्बिर : अध्यक्ष तिमिल्सिनाको सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख ८ गते । रुसी उपल्लो सदनको निमन्त्रणामा औपचारिक भ्रमणका लागि रुसमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसी तल्लो सदन डुमाका अध्यक्ष व्याचेस्लाभ भोलोडिनबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज दिउँसो भेटवार्ता सम्पन्न भएको हो । 

भेटवार्ताका क्रममा दुई देशबीच अन्तर–संसदीय सहयोगलाई प्रवर्द्धन गर्ने तथा प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गरी सांसद, समिति, आयोग र कार्यालयबीच निकट अन्तरक्रियामार्फत अन्तर–संसदीय सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ । 

अध्यक्ष तिमिल्सिनाले दुई देशबीचमा विश्वासको वातावरण बढाउन तथा आपसी सहयोग अभिवृद्धि गर्न भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । अन्तर–संसदीय सहयोग बढाउँदै नेपालमा मलखाद तथा गहुँको निर्यात गर्न रुसले देखाएको रुचिप्रति अध्यक्ष तिमिल्सिनाले कृतज्ञता व्यक्त गर्नुभयो । नेपालले अन्तर्राष्ट्रिय मामिलामा स्वतन्त्र दृष्टिकोण अवलम्बन गर्दैआएको पनि स्पष्ट पार्नुभयो ।   

उक्त भेटमा रुसको तल्लो सदन डुमाका अध्यक्ष व्याचेस्लाभ भोलोडिनले रुस र भारतबीचमा छैटौँ ठूलो व्यापार भइरहेको बताउँदै त्यसबाट नेपालले पनि फाइदा लिनुपर्ने सुझाव दिनुभयो । संसदीय अनुभव आदानप्रदानका लागि यस्ता भ्रमणलाई निरन्तरता दिँदै जाने र भविष्यमा निम्तो पाएमा नेपालमा पनि रुसी प्रतिनिधिमण्डल आउन इच्छुक रहेको उहाँले बताउनुभयो ।  

यसैगरी अध्यक्ष तिमिल्सिनाले आजै रुसका विभिन्न राजनीतिक दलका नेतृत्वसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ । मस्कोस्थित अन्तर्राष्ट्रिय सम्बन्ध संस्थानका विद्यार्थीलाई सम्बोधन गर्ने कार्यक्रम छ । आजै रुसमा रहेका गैह्र आवासीय नेपालीको कार्यक्रममा समेत अध्यक्ष तिमिल्सिना सहभागी हुनुहुने उहाँका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले जानकारी दिनुभयो ।