• १३ असोज २०८१, आइतबार

खानेपानीमा ताला लगाउने चेतावनी

blog

बैतडी समाचारदाता 

बैतडी, वैशाख ८ गते । पाटनस्थित नयाँ सहरमा निर्माण गरिएको खानेपानी योजना सम्पन्न भइसक्दा पनि भुक्तानी नपाएपछि ठेकेदारले खानेपानी आयोजनाको कार्यालयमा ताला लगाउने चेतावनी दिएका छन्। 

धारामा पानी आए पनि रकम भुक्तानी नहुँदा नयाँ सहरको खानेपानी योजनाको उद्घाटनसमेत हुन सकेको छैन। दुई वर्ष लगातार उधारोमा काम गरेर धारामा पानी ल्याए पनि ६८ लाख रुपियाँ भुक्तानी नपाएको ठेकेदार दानसिंह रावलले गुनासो गर्नुभयो। 

निर्माण व्यवसायी रावलले समयमै योजना निर्माण गर्दा पनि भुक्तानी मिलेन भन्नुभयो। ठूलो जनशक्ति परिचालन गरेर ८० हजार लिटरको एउटा ट्याङ्की, ६० हजार लिटरका दुईवटा, ५० हजार र ४० हजार लिटरका गरी पाँचवटा ट्याङ्की निर्माण भएका छन्।

खानेपानी आयोजनाको कार्यालय, सुरक्षा गार्ड बस्ने घर र बाटोको कामसमेत सकिएको छ। नयाँ सहरमा खानेपानी आपूर्ति गर्न सुर्नया नदीबाट २५ हर्स पावरका दुईवटा विद्युतीय मोटर जडान गरेर दैनिक दुई लाख ३० हजार लिटर पानी वितरण गर्ने लक्ष्यका साथ खानेपानी आयोजना निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष छविराज जोशीले बताउनुभयो। उहाँले भन्नुभयो, “खानेपानी भण्डार, शुद्धीकरण र वितरणका लागि पाँचवटा ट्याङ्की निर्माण भएका छन्। नगरपालिकाबाट रकम निकासा नहुँदा ठेकेदारलाई भुक्तानी दिन सकेका छैनौँ।” बैतडीको पाटन नयाँ सहरका ६४४ वटा धारा निर्माण गरी उपभोक्तालाई पानी वितरण गर्न १३ करोड रुपियाँ खर्च गरेर खानेपानी योजना निर्माण भएको उहाँले बताउनुभयो। 

खानेपानी योजना निर्माणको भएको एक वर्षसम्म भुक्तानी नभएको विषयमा पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले उपभोक्ताले जम्मा गर्ने रकम नउठेपछि सबै आर्थिक भार नगरपालिकाको टाउकोमा आएको बताउनुभयो। 

उपप्रमुख बोहराले भन्नुभयो, “पाटनमा खानेपानीको समस्या समाधान भए पनि काम गर्ने ठेकेदारलाई भुक्तानी दिन सकेका छैनौँ। यो आर्थिक वर्षमा नभए पनि अर्को आर्थिक वर्षमा बजेट छुट्याएर भुक्तानी गर्ने गरी छलफल भएको छ।” 

पाटन बजारसहित भीमदत्त प्राविधिक शिक्षालय, प्राथमिक स्वास्थ्य केन्द्र, इलाका प्रहरी कार्यालय, डिभिजन सडक कार्यालय, सिँचाइ डिभिजन, भेटेरिनरी अस्पताल, पाटन बहुमुखी क्याम्पस, नयाँ सहरको कार्यालय, एयरपोर्ट, नगरपालिकाको कार्यालय र  शैक्षिक संस्थामा खानेपानीका धारा जडान भएपछि खानेपानीको समस्या हटेको छ।