• ११ पुस २०८१, बिहिबार

बारामा सत्ता गठबन्धनको चुनावी सभा

निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौँ : प्रधानमन्त्री

blog

बारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त

बारा, वैशाख ७ गते। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको छिट्टै शिलान्यास गरिने बताउनुभएको छ।

बिहीबार बाराको गढीमाईमा सत्ता गठबन्धन दलद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो विमानस्थलको कामले अब छिट्टै गति लिने विश्वास दिलाउनुभयो। 

उहाँले भन्नुभयो, “पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौँ। म तपाईँहरू सामु प्रतिबद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्यसम्बन्धी काम सकेर छिट्टै यसको शिलान्यास गरिनेछ।”

उहाँले गढीमाईलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल गर्ने र त्यसका लागि गढीमाई विकास समिति बनाएर यसको संरक्षण र प्रवर्द्धन गर्ने सरकारको योजना रहेको बताउनुभयो। विद्युतीय सिँचाइ प्रणालीमार्फत सिँचाइको व्यवस्था गर्ने र उपेन्द्र यादवको  नेतृत्वमा यस क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान दिन प्रधानमन्त्रीको भनाइ छ। 



“यस पटक गाँठो पार्ने होइन, गाँठो फुकाउने राष्ट्रपति पाएका छौँ” प्रधानमन्त्रीले भन्नुभयो, “नागरिकता समस्या मधेशको मात्र समस्या होइन, देशको समस्या हो। यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गरिनेछ”, प्रधानमन्त्रीको कथन छ। 

प्रधानमन्त्रीले यसअघि अर्थतन्त्र सङ्कटमा भए पनि  अहिले अर्थतन्त्रमा सुधार देखिएको बताउनुभयो। “पर्यटक आउने क्रम बढेको छ। विदेशी मुद्राको सञ्चिति बढेको छ। विदेशमा रहेका लाखौँ नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेका छौँ। समृद्धिको दिशामा यो निकै ठूलो फड्को हो”, उहाँले भन्नुभयो।

प्रधानमन्त्री दाहालले उपेन्द्र यादव देशको नेता भएको भन्दै संसद्का लागि आवश्यक भएको बताउनुभयो। “उपेन्द्र यादवले जित्नु भनेको मधेशले जित्नु हो। मधेशले मात्रै नभएर देशले जित्नु हो। सङ्घीय लोकतान्त्रिक गणतन्त्रले जित्नु हो। समग्र परिवर्तनका मुद्दाले जित्नु हो”, उहाँले भन्नुभयो। 

संविधान र लोकतन्त्रको रक्षा एवं समृद्धिका लागि यो गठबन्धन बनेको उहाँले स्पष्ट पार्नुभयो।  उहाँले उपेन्द्र यादवलाई जिताएर लोकतन्त्र, संविधान र समृद्धिको बाटो फराकिलो पार्न आग्रह गर्नुभयो। 

“पर्यटक आउने क्रम बढेको छ। विदेशी मुद्राको सञ्चिति बढेको छ। विदेशमा रहेका लाखौँ नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेका छौँ। समृद्धिको दिशामा यो निकै ठूलो फड्को हो ।”

पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नं.-२ का उम्मेदवार उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता जीतेन्द्र सोनाललगायतले सम्बोधन गर्नुभएको छ। बुधबार सत्ता गठबन्धनका शीर्ष नेताले तनहुँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो। 

यो पनि पढ्नुहोस