• १८ वैशाख २०८१, मङ्गलबार

‘भिटामिन ए’ अभियान: गुणस्तरमा शङ्का लागेपछि अभियान स्थगित

blog

सिराज खान 

नेपालगञ्ज, वैशाख ७ गते ।  लुम्बिनी प्रदेश सरकारले पठाएको भिटामिन ‘ए’ क्याप्सुलको गुणस्तरमा शङ्का लागेपछि बुधबारदेखि सुरु हुने राष्ट्रिय भिटामिन ‘ए’ अभियान बाँके जिल्लामा स्थगित गरिएको छ। 

प्रदेश सरकारले पठाएको भिटामिन ‘ए’ क्याप्सुलको म्याद अप्रिल २०२३ सम्म मात्र रहेको र केही बट्टामा क्याप्सुलको रङ फरक भइसकेको पाइएको जानकारी लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयमा गराइएको थियो। मन्त्रालयले पत्र पठाएर सो अभियान स्थगित गर्न निर्देशन दिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। 

बालबालिकालाई खुवाउने सो क्याप्सुलको म्याद सकिन करिब १० दिन मात्र बाँकी रहँदा खुवाउन पठाइएकाले केही क्याप्सुल खराब भएर रङसमेत परिवर्तन भइसकेको पाइएको जानकारी स्थानीय तहबाट स्वास्थ्य कार्यालयमा आएको थियो। 

जानकारी आएलगत्तै प्रदेश मन्त्रालयमा कार्यालयको तर्फबाट जानकारी गराउँदा अर्को औषधि आएपछि मात्र खुवाउने भनी अभियान स्थगित गर्न पत्र आएकाले स्थगित गरिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बताउनुभयो। 

उहाँले मङ्गलबार नै सोबारे मन्त्रालयमा जानकारी गराइएकाले बुधबार केही थप औषधि आएकाले केही स्थानीय तहमा पछि पठाइएको क्याप्सुल खुवाउने कार्य सुरु भएको बताउनुभयो। 

अन्य स्थानीय तहमा भने थप औषधि आएपछि मात्रै खुवाउने तयारी गरिएको स्वास्थ्य कार्यालयका प्रमुख पौडेलको भनाइ छ। उहाँले दस दिन बाँकी रहेको म्यादलाई एक्सपाएर भन्न नमिल्ने पनि बताउनुभयो।  प्रदेश स्वास्थ्य मन्त्रालयबाट करिब तीन दिनअघि प्राप्त भिटामिन क्याप्सुल बालबालिकालाई खुवाउनका लागि स्वास्थ्य कार्यालयले जिल्लाका आठवटै स्थानीय तहमा पठाइसकेको थियो। 

सम्बन्धित स्थानीय तहले भिटामिन ‘ए’ खुवाउन महिला स्वास्थ्य स्वयम्सेविकालाई वितरणसमेत गरिसकेका थिए। जिल्लामा ८० हजारभन्दा बढी  भिटामिन ‘ए’ क्याप्सुल प्रदेश स्वास्थ्य मन्त्रालयबाट प्राप्त भई स्थानीय तहमा वितरण भएको थियो। 

स्वास्थ्य आपूर्ति केन्द्रको गम्भीर लापरबाहीका कारण बाँकेमा राष्ट्रिय भिटामिन ‘ए’ अभियान प्रभावित भएको छ। बाँकेमा बुधबार र बिहीबार राष्ट्रिय भिटामिन ‘ए’ क्याप्सुल खुवाउने अभियानको तयारी पूरा भइसकेको थियो। स्वास्थ्य कार्यालयले स्वयम्सेविकाको हातहातमा पारेको भिटामिन ‘ए’ क्याप्सुल फिर्ता गर्न लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ।