• ११ मंसिर २०८१, मङ्गलबार

नेटोको सुरक्षा छातामा फिनल्यान्ड

blog

विश्वको सबैभन्दा ठूलो मुलुक रुस हो । यो एसिया र युरोप दुवै महादेशमा फैलिएको छ । सोभियत सङ्घको विघटनसँगै १५ टुक्रामा विभाजित हुँदा कमजोर बनेको यो मुलुक अहिले फेरि शक्तिशाली बनेको छ । मुलुकलाई शक्तिशाली बनाउन मुख्य हात वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनको रहेको छ । सन् २००० देखि सत्तामा रहनुभएका उहाँले रुसलाई शक्तिशाली त बनाउनुभयो तर छिमेकीसँगको सम्बन्धलाई भने घनीभूत बनाउन सक्नु भएन । छिमेकी मुलुकविरुद्ध अनावश्यक हस्तक्षेप र प्रभाव बढाउन खोज्दा अहिले ती मुलुक टाढिन थालेका छन् । यसले गर्दा रुसमाथि सुरक्षा चुनौती थपिएको छ । 

पूर्वी युरोप रुसको प्रभाव क्षेत्र हो । यहाँ उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को विस्तार नहोस् भन्ने उसको चाहना छ । यस क्षेत्रमा रुसले आफ्ना छिमेकी मुलुकलाई आत्मसम्मानसहित सुरक्षाको प्रत्याभूति दिन सकेन । जसले गर्दा यस क्षेत्रका मुलुक एकपछि अर्को गर्दै सुरक्षाका लागि नेटोमा आबद्ध हुँदै गए । यो नै उसका लागि सबभन्दा टाउको दुखाइ बनेको छ ।

नेटोमा जान रोक्न गत वर्षदेखि रुसले छिमेकी युक्रेनमाथि सैन्य आक्रमण जारी राखेको छ । रुसले आक्रमण गरेपछि युक्रेन प्रत्याक्रमणमा उत्रिएको छ । दुई देशबीचको यो युद्धले एसिया, युरोप मात्र होइन पूरै विश्व प्रभावित भएको छ । विश्व अर्थतन्त्रलाई नै प्रभाव पारेको यो युद्ध तत्काल अन्त्य हुने लक्षण देखिएको छैन । सामरिक र सैन्य शक्तिका हिसाबले रुसभन्दा धेरै कमजोर हुँदाहुँदै पनि पश्चिमा मुलुकको आर्थिक र अप्रत्यक्ष सैन्य सहयोगले युक्रेन युद्ध मैदानमा डटिरहेको छ । 

युद्धका कारण हालसम्म १३८ अर्ब डलर खर्च भइसकेको छ भने दुवैतर्फ सैनिक र गैरसैनिक गरी दुई लाखभन्दा बढीको ज्यान गएको अनुमान अमेरिकी गुप्तचर निकाय (सीआईए) ले गरेको छ ।

यसै सन्दर्भमा रुस–युक्रेन युद्धबारे अमेरिकी गोप्य सूचना चुहावटसँगै नयाँ समस्या सिर्जना भएको छ । चुहावट भएका सूचनाअनुसार नेटोले युक्रेनलाई आर्थिक सहायता मात्र होइन, हतियार र सेना पठाएर सहयोग गरिरहेको छ । अहिले युक्रेनको तर्फबाट नेटो सेना पनि रुससँग लडिरहेका छन् । अमेरिकाका राष्ट्रपति जोए बाइडेनले रुस–युक्रेन युद्धमा नेटो सेना नपठाएको दाबी गर्दै आउनुभएको छ । उहाँको दाबीलाई खण्डन गर्दै रुसका राष्ट्रपति पुटिनले आफ्नो सेना युक्रेनी सेनासँग मात्र होइन नेटो सेनासँग पनि लडिरहेको जिकिर गर्नुभएको छ । यो सूचना चुहावटले रुसलाई थप आक्रामक बनाएको छ । उसले युक्रेनमाथि घातक हतियार प्रयोग गर्ने खतरा बढाएको छ । 

बढीमा एक सातामा युक्रेनमाथि कब्जा जमाउने योजनासहित रुसले सुरु गरेको सैन्य आक्रमण यसरी लम्बिएला भन्ने धेरैलाई लागेको थिएन । युक्रेनको अडान र पश्चिमा मुलुकको सहयोगले गर्दा युद्ध लम्बियो । यो युद्ध अब अन्तर्राष्ट्रिय प्रयासबिना अन्त्य हुने सम्भावना पनि कम छ । युद्ध जति लम्बिन्छ यसले विश्वलाई नै थप ठूलो क्षति पु¥याउँछ । रुसले युक्रेनमाथि आक्रमण गरेसँगै आफू असुरक्षित भएको महसुस गरेको अर्को छिमेकी फिनल्यान्ड अन्ततः नेटोमा आबद्ध भयो । नेटोको ३१औँ सदस्य बनेको फिनल्यान्डमाथि अब रुसले आक्रमण गर्न कठिन छ । यो मुलुकको सुरक्षा अब नेटोले गर्नेछ । फिनल्यान्ड र रुसबीच एक हजार ३४० किलोमिटर सीमा रहेको छ । अब नेटो सेनालाई रुसको सीमासम्म आउन बाटो खुलेको छ । यो रुसका लागि ठूलो चुनौती हो । यो भूराजनीतिक जटिलताले समस्या अरू बल्झिने र यसले सीमा क्षेत्रमा तनाव बढ्ने खतरा बढाएको छ । 

फिनल्यान्डको प्रवेशसँगै नेटोमा आबद्ध मुलुकको सङ्ख्या अब ३१ पुगेको छ । अल्बानिया, बेल्जियम, बुल्गेरिया, क्यानडा, क्रोएसिया, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फ्रान्स, जर्मनी, ग्रिस यसका सदस्य छन् । त्यसैगरी अन्य सदस्यमा हङ्गेरी, आइसल्यान्ड, इटाली, लाट्भिया, लिथुवानिया, लक्जेम्वर्ग, मोन्टेनेग्रो, नेदरल्यान्ड्स, उत्तरी मेसेडोनिया, नर्वे, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन, टर्किए, बेलायत र अमेरिका हुन् । 

यसअघिसम्म फिनल्यान्ड तटस्थ मुलुक थियो । यसले सन् १९४८ मा तत्कालीन सोभियत सङ्घसँग मैत्रीपूर्ण सम्झौता गरेको थियो । अहिले रुसकै कारण यो सम्झौता तोडियो । यसले उत्तरपूर्वी युरोपको सुरक्षा परिदृश्यमा ठूलो परिवर्तन आएको छ। आउँदा दिनमा फिनल्यान्डलाई केही सङ्कट परेमा रुसको सीमा क्षेत्रमा अमेरिकासहित ३१ मुलुकका सेना सहयोगका लागि उभिन आउने बाटो खुलेको छ। नाटोको सदस्य भएपछि फिनल्यान्डको सार्वभौमिकताको रक्षा गर्ने जिम्मा अब नेटोको बनेको छ, जसले रुसलाई थप सशङ्कित पारेको छ।

फिनल्यान्डले उत्तर–पश्चिम युरोप र रुसलाई जोड्छ। उक्त क्षेत्रलाई सुरक्षाको दृष्टिकोणबाट संवेदनशील पनि मानिन्छ। रुसले फिनल्यान्डको सीमा क्षेत्रमा सुरक्षा फौजलाई प्राथमिकताका साथ तैथान गर्दै आएको छ। फिनल्यान्ड नेटोमा सहभागी भएसँगै सम्बन्ध चिसिने र सीमा क्षेत्रमा दुई पक्षबीच द्वन्द्व हुनसक्ने सम्भावना बढेको छ । 

फिनल्यान्डमा ठूलो आधुनिक आर्टिलरी (तोप खाना) फोर्स छ। अब फिनल्यान्डले नेटोलाई मुख्य गरी जगेडा फोर्स, प्राविधिको पहुँच र आर्टिलरी फोर्समा सहयोग गर्न सक्नेछ। त्यसबाट रुसमाथि नेटो फोर्सको थप दबाब पर्न सक्छ । युक्रेनमा रुसी भाषा बोल्ने धेरै छन्। सन् २०१४ मा रुसले बलपूर्वक युक्रेनको प्रान्त क्रिमियामाथि कब्जा जमायो। त्यसपछि दुई मुलुकबीचको सम्बन्धमा लगातार चिसोपन आयो। रुसबाट असुरक्षित बनेको युक्रेनले नेटोको सदस्यता लिने घोषणा गरेसँगै सन् २०२२ को फेबु्रअरी २४ देखि रुसले युक्रेनमाथि सैन्य कारबाही सुरु गरेको हो । त्यसपछि सुरु भएको युद्ध जारी छ । 

सन् १९४७ को अप्रिल ४ मा १२ राष्ट्र मिलेर नेटो सैन्य गठबन्धन गठन भएको थियो । नेटो गठन गर्दाका संस्थापक राष्ट्र बेल्जियम, क्यानडा, डेनमार्क, फ्रान्स, आइसल्यान्ड, इटाली, लग्जेम्बर्ग, नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल, बेलायत र अमेरिका थिए ।

एटलान्टिक अर्थात् आन्ध्रध्र महासागरको पूर्वी र पश्चिमी क्षेत्रमा रहेका मुलुक मिलेर नेटो बनेको हो। दोस्रो विश्वयुद्धपछि एकातिर अमेरिका शक्तिशाली मुलुक बन्यो भने अर्कातिर सोभियत सङ्घ । सामूहिक सुरक्षाका लागि एकातिर अमेरिकी पक्षधर मुलुक नेटोतिर र सोभियत सङ्घ पक्ष मुलुक वार्सातिर लागे । नेटोलाई टक्कर दिन वार्सा बनाइएको थियो ।

दोस्रो विश्वयुद्धपछि सन् १९४५ मा संयुक्त राष्ट्रसङ्घको स्थापना भयो। युद्ध रोकिए पनि अमेरिकी नेतृत्वको पश्चिमा लोकतान्त्रिक पक्ष र सोभियत सङ्घको नेतृत्वमा कम्युनिस्ट पक्षबीच शीतयुद्ध चल्यो । सन् १९९१ मा सोभियत सङ्घको विघटन भएसँगै सकियो। यो सँगै वार्साको पनि अन्त्य भयो तर नेटो बन्द गरिएन । सन् १९९० को दशकपछि र सन् २००० को सुरुवातसम्म नेटोको सक्रियता कम थियो। चीनले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई अघि बढाएपछि र सोभियत सङ्घको ‘लिगेसी’ बोकेको रुस फेरि शक्तिशाली बन्न थालेपछि नेटो थप सक्रिय बनेको हो । 

एकातर्फ पूर्वी युरोपका साना मुलुकले रुसलाई आफ्नो राष्ट्रिय सुरक्षाको खतराका रूपमा प्रस्तुत गर्दै नेटोमा सहभागिता बढाइरहेका छन् भने अर्कातर्फ छिमेकी मुलुकले नेटोको सदस्यता लिँदा रुसी राष्ट्रिय सुरक्षामाथि चुनौती थपिएको छ। सुरुमा नेटोको उद्देश्य तत्कालीन जर्मनीलाई तल पार्ने, सोभियत सङ्घलाई बाहिर राख्ने र अमेरिकालाई अघि बढाउने थियो। त्यहीअनुसार युरोपको राजनीति अहिले पनि अघि बढिरहेको छ। फिनल्यान्डले सदस्यता लिएसँगै रुससँगको मित्रवत् सम्बन्ध शत्रुतामा परिणत भएको छ। 

फिनल्यान्ड युरोपको शान्त र खुसी मुलुक हो । यहाँ राजनीतिक स्थायित्व, सामाजिक सुरक्षा, स्वतन्त्रता र प्रगति अब्बल छ । सन् १९१७ मा रुसबाट स्वतन्त्र भएको यो मुलुकको क्षेत्रफल ३,३८,४५५ वर्ग किलोमिटर, जनसङ्ख्या ६० लाख छ । त्यहाँ औसत आयु पुरुषको ७९ वर्ष र महिलाको ८४ वर्ष रहेको छ । सन् १९९५ मा युरोपेली सङ्घमा आबद्ध भएको यो मुलुकले सन् २०१६ मा अमेरिकासँग सुरक्षा सम्झौता गरी सुरक्षित बन्ने प्रयास गर्दै आएको छ । 

लेखक गोरखापत्रका नायव कार्यकारी सम्पादक हुनुहुन्छ । 

  

Author

रामप्रसाद आचार्य