• २१ पुस २०८१, आइतबार

पीडाको कथा ‘बिहे पास’

blog

काठमाडौँ, वैशाख ७ गते । श्रीमती तथा ससुरालाई फकाउन सरकारी जागिर खानैपर्ने बाध्यताबीच युवाले गर्ने सङ्घर्ष र प्रयत्नको विषयलाई निकै मिठासका साथ प्रस्तुत गरिएको चलचित्र हो, ‘बिहे पास’ । चलचित्रले आमनेपाली युवाको पीडा बोलेको छ । 

चलचित्रमा अभिनेता दयाहाङ राई सरकारी जागिर खान प्रयत्न गर्ने पतिको भूमिकामा देखिनुभएको छ भने उहाँकी श्रीमती अभिनेत्री प्रकृति श्रेष्ठ हुनुहुन्छ । त्यस्तै ससुराको भूमिकामा विशाल पहाडी हुनुहुन्छ, जो एक सरकारी अधिकृत बन्नुभएको छ । चलचित्रले सरकारी जागिरको कुरा मात्र होइन, नेपाली जनजीवनका विविध आयामलाई पनि रोचकताका साथ प्रस्तुत गरेको छ । नेपाल–भारत सीमामा चोरी बाटोबाट हुने तस्करी, कर्मचारीको घुस्याहा मनोवृत्ति, लोकसेवा पास गर्न आर्थिक चलखेल, प्रहरी तथा कर्मचारी प्रशासनलाई प्रभावमा पार्न विविध हतकन्डा अपनाउने डनगिरीलगायतका विषय चलचित्रमा देखाइएको छ । 

त्यस्तै चलचित्रमा दयाहाङ र प्रकृतिबीचको प्रेम र बिहेको प्रसङ्गलाई देखाइएको छ; जहाँ प्रकृति सरकारी अधिकृत हुनुहुन्छ भने दयाहाङले सरकारी जागिर खान मरिहत्ते गर्नुभएको छ । दयाहाङले प्रकृतिलाई बिहेका लागि राजी गर्न गरेको जालझेल र बिहेपछि वास्तविकता थाहा पाउँदा उनीहरूको सम्बन्धमा आएको उतारचढाव नै चलचित्रको मुख्य कथा हो । हाँसो, प्रेम, यथार्थ तथा बिछोडको समेत समुचित संयोजन रहेको चलचित्र प्रवेश पौडेलले निर्देशन गर्नुभएको छ । चलचित्रमा सुभाष गजुरेल, श्याम राई, बुद्धि तामाङ, हिउँवाला गौतम, नवीन शेरचनलगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।