• १३ असोज २०८१, आइतबार

संवैधानिक परिषद्‍मा प्रधानन्यायाधीश राख्नु उचित भएन

blog

बुधबार प्रतिनिधिसभा बैठकमा धारणा राख्नुहुँदै सांसद रघुजी पन्त ।

काठमाडौं, वैशाख ६ गते। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् सांसद रघुजी पन्तले प्रधानन्यायाधीशलाई संवैधानिक परिषदमा राख्ने कुरा उचित नभएको दाबी गर्नुभएको छ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले परिषद्मा रहेर क्याबिनेटको समेत भाग खोजेकोतर्फ संकेत गर्दै उहाँले प्रधानन्यायाधीशलाई संवैधानिक परिषद् राख्नु उचित नहुने तर्क गर्नु भएको हो।

बुधबार प्रतिनिधिसभा बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७७ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै नेता पन्तले कुनै पनि नियुक्तिका मुद्दाहरु सर्वोच्च अदालतमा जाने भएकाले सोही ठाउँका मानिसहरुलाई संवैधानिक परिषदमा राख्ने कुरा उचित हो, होइन भन्ने प्रश्न समेत उठेको बताउनुभयो।

नेता पन्तले भन्नुभयो,  ‘‘यो महाभियोगको प्रस्ताव नराख्दा पनि अर्को समस्या हुन्छ।भालि फेरि पूर्वाग्रहबस त्यस्तै मान्छे नियुक्त भएर आयो भने त्यसले अरु असर गर्ला भन्ने डर।अब त्यहाँ भित्र शक्तिशाली प्रावधान नराख्ने हो भने आयोग प्रभावहीन होला भन्ने डर।त्यसैले राजनीतिक नेतृत्वले विना पूर्वाग्रह योग्य मान्छेहरु ल्याउन सक्ने ठाउँहरु हामीले राख्न सक्नुपर्दछ।हामीले देख्यौं  प्रधानन्यायाधीशलाई संवैधानिक परिषदमा राख्यौं।उनी आफै क्याबिनेटमा समेत भाग खोज्न थाले ।’’

नेता पन्तले मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक नेतृत्वमा दृढता हुनुपर्ने आवश्यक्तासमेत औंल्याउनुभयो।राजनीतिक नेतृत्व र राजनीतिक दलमा सुधार नआउने हो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मात्रै गाली गरेर सो समस्या समाधान हुनै नसक्ने उहाँले बताउनुभयो।