• १३ असोज २०८१, आइतबार

सदनमाथि सरकारको हालिमुहाली बन्द गरौं : सांसद श्रेष्ठ

blog

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ ।

काठमाडौं, वैशाख ६ गते । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसदमाथि सरकारको हालिमुहाली बन्द गर्न आग्रह गर्नुभएको छ ।

 प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सांसद श्रेष्ठले संसदमाथि सरकारको हालिमुहाली भएको भन्दै यसलाई बन्द गर्न आग्रह गर्नुभएको हो । उहाँले मंगलबार बस्ने भनिएको सभाको बैठक मन्त्रिपरिषद् बैठकका लागि भन्दै स्थगित भएकोप्रति असन्तुष्टि जनाउनुभयो । उहाँले जनप्रतिनिधिको समयको केही मूल्य नहुने भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले संसद् र मन्त्रिपरिषद् दुई निकायबीच समन्वय गर्न नसक्नेले धेरै मन्त्रालयका बीचमा समन्वय कसरी गर्ने भन्ने प्रश्न गर्नुभयो ।

 उहाँले भन्नुभयो, ‘‘हिजोको अधिवेशन आकस्मिक रुपमा स्थगित भयो । क्याबिनेट मिटिङ ४ बजे छ भन्ने सुन्नमा आयो । समय नजुध्नेगरी समय मिलाउन सक्दैनथ्यो यो दुईवटा बैठकको । आम नागरिकले सरकारी कार्यालयमा सबै कागजात प्रक्रिया पुर्‍याएर घण्टौँ लाइन बसे पनि अचानक आज काम हुँदैन भोलि आउनुस् भन्छन् । त्यसरी जनतालाई व्यवहार गरिने देश हो यो हाम्रो । यहाँ जनताको समयको मूल्य छैन । हामी जनप्रतिनिधि, जनताबाट छानिएर आएको प्रतिनिधिको समयको पनि केही मूल्य नहुने हो ? एकपटक सदन बस्दा १० लाख रुपैयाँ हाराहारीमा खर्च हुने भनेर पत्रपत्रिकामा आएको थियो । सरकारले कर्मचारीलाई तलब खुवाउन ऋण लिनुपर्ने अवस्थामा के यो दश लाख रुपैयाँ हामीले बचाउन सक्दैनथ्यौँ ? के करदाताको पैसा त्यति सस्तो छ ? आफ्नो खल्तीबाट पैसा नजाने भएपछि मलाई बाल भन्न पाइन्छ र ? मलाई निकै अचम्म लागेको छ ।’’

सांसद श्रेष्ठले सरकारको मनोमानीमा सदनको समय र देशको ढुकुटी रित्याइने गरिएको बताउनुभयो ।